तुलसीपुर २१ पुष । दाङमा तरकारी खेतीमा विषादीको प्रयोग बढिरहेको पाइएको छ । विशेषगरी व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूले विषादीको प्रयोग बढी मात्रामा गर्ने गरेको पाइएको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०।०८१ को तथ्याँक अनुसार दाङमा वार्षिक रूपमा ६ हजार २ सय ३२ लिटर झोल र १५ हजार ५ सय ४० किलो धुलो विषादीकोे आयात भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जुन विषादीलाई किटनाशक, रोगनाशक, झारनाशक र मुसानाशक विषादी भनेर चार प्रकारमा विभाजन गरी प्रयोग भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी विषादीहरू झोल र धुलोमा गरी दुई प्रकारका हुन्छन् । किटनाशक विषादी झोलमा ६ हजार २ सय ३२ लिटर, ७ सय ८१ किलोग्राम धुलोमा, रोगनाशक विषादी ४ हजार ७ सय १७ लिटर, ६ हजार १ सय २२ धुलोमा, झारनाशक ८ सय ८४ लिटर झोलमा, ७ सय १२ किलोग्राम धुलोमा र मुसानाशक विषादी १ हजार ९ सय ६५ किलोग्राम धुलोमा वार्षिक रूपमा आयात भइरहेको छ । आयातको तथ्यांकले नै तरकारीमा विषादीको प्रयोग अत्यधिक भइरहेको पुष्टि हुने उहाँले बताउनुभयो । तरकारीहरूमा विषादी छरेको १५ देखि २१ दिनपछि मात्रै खान योग्य भएपनि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरूले विषादी छरेको दुई÷तीन दिनमा नै टिपेर बेच्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
टमाटर, भिन्डी, बोडी काउली जस्ता बेमौसमी तरकारीमा छरेको विषादीले धेरै नै मानव स्वास्थ्यमा असर पुग्ने गरेको उहाँको भनाइ छ । तरकारी तथा खाद्य बालीहरूमा देखिने रोग नियन्त्रण गर्न र उब्जनी धेरै हुने उद्देश्यले विषादीको प्रयोग भइरहेको छ । किसानले पूर्व सावधानीहरू अपनाउन सकेमा खर्च पनि कम हुने र विषादीरहित तरकारी पनि खान पाइने उहाँले बताउनुभयो । उहाँका अनुसार विषादी छर्नुभन्दा गाउँघरमा पाइने निम, बोकाइनोलगायत जडिबुटीजन्य रूखविरूवाका पातको झोल बनाएर छर्ने गर्नाले पनि किराहरूलाई मार्न सकिन्छ । अल्छी नमानेर कृषि प्रााविधिकहरूसँग सल्लाह लिएर आफैले मेहनत गरेमा पैसाको पनि बचत हुने र मानव स्वास्थ्यलाई पनि असर नगर्ने लामिछानेले बताउनुभयो ।
यस्तै हरियो बेमौसमी तरकारी मात्रै नभएर धान, गहँु, मकै, तोरी लगायतका खाद्यबालीमा पनि विषादीको प्रयोग भइरहेको छ । तर तरकारीको तुलनामा खाद्यबालीमा प्रयोग गरिएको विषादीले केही कम मात्रामा मानव स्वास्थ्यमा असर पुग्ने गरेको अर्थविज्ञ लामिछानेले जानकारी दिनुभयो । किसानमा विषादी प्रयोग नगरे लगानी जोखिममा पर्छ भन्ने डरले प्रतिस्पर्धी र नाफा कमाउन विषादी प्रयोग गरेको पाइन्छ । केही किसान भने बजारमा बिक्रीका लागि उत्पादन गरिने तरकारी र कृषि उपजमा विषादी प्रयोग गर्ने र आफूले खानका लागि भने विषादीरहित खेती गर्ने गरेको देखिएको पनि लामिछानेले बताउनुभयो ।
यसैबीच केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ को प्रतिवेदन अनुसार ४१ लाख ३० हजार किसान परिवारमध्ये ५ लाख ८० हजारले तरकारी तथा कृषि उपजमा विषादी प्रयोग गरिरहेका छन् । तीमध्ये ३ लाख ५१ हजार किसानले गम्भीर प्रकृतिका विषादीहरू प्रयोग गरिरहेको भेटिएको छ । ६९ हजार परिवारले नेपालमा प्रतिबन्ध लगाइएका र आयात गर्न नपाइने अत्यन्तै हानिकारक विषादी प्रयोग गरिरहेका छन् । ती विषादी हामीले दिनहुँ प्रयोग गर्ने तरकारी र प्रमुख खाद्यबालीमा प्रयोग भइरहेको गणनाका क्रममा खुलेको हो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।