दैलेख, २४ कात्तिक । प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्दै सुर्खेतमा प्रदर्शन भएको छ । सुर्खेत–दैलेख सडकखण्डको बीरेन्द्रनगर नगरपालिका–१४ रातानाग्लामा हिजो बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते छन् । प्रहरीले जाँचमा लापरबाही गरेका कारण दुर्घटना भएको भन्दै मृतक र घाइतेका आफन्तहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले जाँचमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गनुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार गनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन् ।
क्षमताभन्दा दोब्बर यात्रु बोकेको कारण गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबीर विश्वकर्माले बताउनुभएको छ । सुर्खेत–दैलेख सडकको ६५ किलोमीटर दूरीमा ठालुडाँडा, चुप्रा, माथिल्लो डुंगेश्वर, घोडाबास, रानीमत्ता र छेडा समेत हरेक १० किलोमीटरमा छ ठाउँमा प्रहरी इकाईहरु भएर जाँचमा चासो नदिएको कारण दुर्घटना भएको भन्दै पीडित परिवार र आमसर्वसाधारणले प्रहरी–प्रशासनको आलोचना गरेका छन् ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।