तुलसीपुर, २२ भदौ । दाङको तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले समाजलाई सचेत गराउन धर्मको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले आयोजना गरेको तिज विशेष शुभकामना आदान–प्रदान तथा साप्ताहिक सत्सँग कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले यस्तो बताउनुभएको हो । दिन प्रतिदिन विकृतितर्फ धकेलिदै गएको समाजलाई धर्मको भावबाट मात्रै सचेत गराउन सकिने भन्दै मेयर खड्काले समाजमा भएको अन्धकारलाई मेटाई ज्ञानको माध्यमबाट उज्यालो प्रकाश छर्ने काम नेपाल मानव धर्म सेवा समितिले गरिरहेको बताउनुभयो । जनमानसको कल्यानका लागि आएका सन्त महात्माहरुलाई सबैले साथ दिई वैदिक सनातन हिन्दु धर्मको संरक्षणमा लाग्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । साथै उहाँले नेपाल मानव धर्म सेवा समितिको भवन निर्माणका लागी स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
सो अवसरमा नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी क्षेत्र प्रभारी महात्मा चाँदना बाईजीले अहिले समाजमा बढिरहेको विकृति विसंगतिको मुख्य कारक मानव आफै रहेको बताउनुभएको छ । पछिल्लो समय बढ्दो प्रविधिसँगै मानिसहरु विद्वान भएपनि अध्यात्मिक बन्न नसक्दा अझै समस्या बढिरहेको उहाँले बताउनुभयो । यस्तै प्रचारिका महात्मा चन्द्रकान्ता बाईजीले सरल र सहज जिवन व्यथित गर्न मानिसलाई भौतिकको साथमा आध्यात्मिक ज्ञानको आवश्यक्ता अनिवार्य रहेको बताउनुभएको छ । यस्तै विभिन्न चाडपर्वहरुले मानव–मानवबिच सद्भावना र प्रेम बढाउने काम गर्ने भएकाले धर्म, संस्कृति जर्गेना गर्दै पुस्ताणतरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्शका नि–वर्तमान अध्यक्ष टोप बहादुर घर्तीले समाज देखावटी र लहलहैको पछि लागिरहेकाले सत्य र राम्रो कामप्रति चासो नदिने क्रम बढेको बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष लिला प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपन्द्र बस्नेतले गर्नुभएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।