निता चौधरी तुलसीपुर, ८ भदौ । दाङको तुलसीपुर, घोराही, लमही लगायतका बजारका लाखे नाचको रोनकता छ । तुलसीपुर बजारमा मात्रै दैनिक रुपमा ३/४ वटा समुहको लाखे नाच देख्ने गरेको तुलसीपुर ५ का स्थानिय शुशीला चौधरीले बताउनु भयो । तुलसीपुर १८ विजौरीका युवाहरु पनि यसै गरी नै लाखे नाच नाच्ने गर्छन् । तुलसीपुर उपमहानगरपालिका ७ नयाँबस्तीका हिरासिंह नेपालीले लाखे नाच नाच्न थालेको २० वर्ष भन्दा वढी भएको बताउनु भयो । उहाँले लाखे नाचमा नाच्ने भन्दा पनि बाजा बजाउने गर्नुहुन्छ । नाच्न पनि आउँछ तर उहाँ धेरैजसो बाजा बजाउँन रुचाउँनुहुन्छ । उहाँले विशेष गरी ढोलक बजाउँनुहुन्छ । ढोलक अन्य चाडपर्व विवाह, पुजापाठमा बजाउन नमिल्ने र लाखे नाचमा मात्रै बजाउन मिल्ने मान्यता रहेको उहाँले बताउनु भयो ।
जन्माष्टमीमा कंशलाई मार्छन् । लाखे भनेको कंश अर्थात राक्षसको प्रतीक हो । गठे पर्वदेखि जन्माष्टमी सम्म नाचिन्छ । यो पर्वको वीचमा जतिदिन पर्छ त्यति दिन नाचिन्छ र जन्माष्टमीको भोलीपल्ट विर्सजन (लाखे मार्ने) गरिने परम्परा छ । तर जन्माष्टमीपछि नाच्छु भनेर पनि नाच्न नमिल्ने धार्मिक मुल्यमान्यता रहेको पाइन्छ । नेवार समुदायको परम्परागत संस्कृति भएपनि अन्य समुदायमा पनि प्रचलित रहेको र नेवार वाहेक अन्य समुदायले पनि संरक्षणका लागि नाच्ने भएकाले यसलाई गर्व गर्ने नेवारहरुको राष्ट्रिय संगठन केन्द्रिय समितिका उपाध्यक्ष नरेशराज भण्डारीले बताउनु भयो ।
‘नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच लोप हुन नदिनका लागि अन्य समुदायमा पनि नाचिन्छ । जुन धेरै राम्रो पक्ष हो । एक समुदायले अर्को समुदायको चाडपर्व मनाउनु र गैर समुदायको नाचगानलाई संरक्षण गर्नु नागरिकको दायित्व र कर्तव्य पनि हो,’ उहाँले भन्नुभयो । ‘आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको छ । आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ । यस्ता कुराको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक छ । नागरिकस्तरबाट पनि संरक्षण तथा विकासमा भूमिका खेल्नुपर्ने अवस्था पनि छ । सभ्य समाज निर्माणको लागि एक जातिले अर्को जातिको संस्कार संस्कृतिलाई सम्मान गर्न आवश्यक छ ।’
कतिपय संस्कृत पुस्तान्तरणसँगै लोप हुँदै गएको अवस्था रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो । संस्कृतिलाई बचाउँदै अर्को पुस्तासम्म पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको राजभण्डारीको भनाई छ । तुलसीपुर ३ को राणागाउँ, ११ को वेलटाकुरा, १३ को ढकना लगायतका विभिन्न स्थानमा जन्माष्टमीमा लाखे नाचको जात्रा लगाइन्छ ।। mmmmmmmmmmmmm

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।