तुलसीपुर, २८ श्रावन । दाङको तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ६० वर्षिय डिल्ली बहादुर केसीले कुरिल्लो खेतीबाट मनग्य आम्दानी गर्दै हुनुहुन्छ । ४० वटा बोटबाट सुरु भएको कुरिल्लो खेती अहिले एक विगाह ५ कट्ठा क्षेत्रफलमा गर्दै आउनु भएको छ । उहाँले दैनिक २५ देखि ३० किलोसम्म कुरिलो बेचेर दैनिक रुपमा ८ हजार आम्दानी गर्नुहुन्छ । २३ वर्षसम्म सरकारी जागिरे जीवन विताएका केसी ४८ वर्षको उमेरमा उमेर हदभन्दा पहिले नै अवकास लिएर कुखुरा व्यवसाय र कृषि तर्फ कुरिल्लो खेतीमै फाइदा देखेर यसमै रमाउनु भएको छ । अमेरिकाबाट ल्याएर जर्सिसुपर जातको कुरिल्लोबाट उत्पादन लिइरहेको उहाँले बताउनु भयो । सुरुसुरुमा घरमा खानका लागि थोरै मात्रामा रोपेको कुरिल्लो विस्तारै क्षेत्रफल बढाएर अहिले व्यवसायिक रुपमा नै १२ लाख लगानीमा जग्गा भाडामा लिएर खेती गर्नु भएको छ । उहाँले नियमित रुपमा ३ जनालाई रोजगारी दिनु भएको छ भने कामको अवस्था हेरेर समयसमयमा अन्य श्रमिकलाई पनि रोजगारी दिने गरेको बताउनु भयो । पहिलेपहिले कुरिल्लोको बजार त्यति नभएतापनि पछिल्लो समय कुरिल्लोको माग राम्रै रहेको उहाँको भनाइ छ । सुरुमा आफन्तीबाट प्रेरित भएर यस खेतीमा लग्नु भएका केसीलाई पछिल्लो समय सामाजिक सञ्जालले नै खेती गर्न सिकाइरहेको छ । यता वन डिभिजन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले कुरिल्लोको महत्व र फाइदाबारे आम नागरिकलाई जानकारी नभएकाले पनि यसप्रति आकर्षण हुन नसकेको बताउनु भयो । विगतका वर्षहरुमा केही सामुदायिक वनका उपभोक्ताहरुले कुरिल्लोको खेती गरेको भएपनि बजारीकरणमा समस्या देखिएपछि उपभोक्ताहरुले पछिल्लो समय यसको खेती नगरेको बताउनु भयो । अहिले जिल्लामा व्यवसायिक रुपमा कुरिल्लो खेती गर्ने कृषकहरु आफ्नो सम्पर्कमा नरहेको उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङको हावापानी कुरिल्लो खेतीका लागि उपयुक्त रहेको छ । जिल्लामा यसको व्यवसायिक रुपमा धेरै क्षेत्रमा खेती गर्ने किसान नरहेको तर थोरैथोरै क्षेत्रमा खेती गर्ने किसानहरु भने रहेको उहाँले बताउनु भयो । दुई प्रकारका कुरिल्लोको खेती हुने भएकाले जिल्लाको हावापानी र माटोमा दुवैले राम्रै उत्पादन दिने भएपनि यसप्रति कृषकको आर्कषण बढ्न सकेको छैन ।।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।