तुलसीपुर १२ चैत्र । रक्षामन्त्री श्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गर्नु भएको छ । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उहाँले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिनु भएको हो । जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।कार्यक्रमको दौरान प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नव नियुक्त रक्षा मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नु हुँदै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नुभयो ।
उहाँले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमानै पुरा गर्न नेपाली सेना सदैव कटिबध्द रहेको बताउँदै उक्त जिम्मेवारीहरू पुरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै बताउनुभयो । साथै, संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति÷रणनीति अख्तियार गर्न आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा रक्षामन्त्रीले नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारीहरू सदैव उच्च दक्षता एवम् व्यावसायिकताका साथ सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनु भयो






