२०८३ जेष्ठ ६ गते बुधवार

सहकारी मूल्य, मान्यता, सिद्धान्त र व्यवहार 

सबैका लागि एक र एकका लागि सबै सहकारीको मूल मर्म हो । सहकारीको मुख्य अर्थ सहकार्य गर्नु हो । त्यसैले सामूहिकता, सहकारीको मूल विशेषता हो । सहकारिता, सहकार्य, र सहकारी एउटा सामूहिक अभियान  या आन्दोलन हो । विश्वस्तरमा सहकारी अभियान सुरुवात भएको झण्डै दुई सय वर्ष पुरा हुन थालेको छ । भने नेपालमा सहकारी अभियानको सुरुवात भएको पनि सात दशक पुरा हुन थालेको छ । यस अवधिमा सहकारी अभियानले थुप्रै हन्डर, ठक्कर खाँदै गर्दा पनि केही महत्वपूर्ण उपलब्धीहरू प्राप्त भएको छ । आज नेपालमा मात्र होइन विश्वभरि नै सहकारी  आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय उद्देश्य प्राप्ति गर्न एउटा महत्वपूर्ण खम्बाको रुपमा स्थापित भएको छ । रोबर्ट ओवनलाई सहकारीका जन्मदाता मानिन्छ । सन १९४४ मा वेलायतको रोचङेलमा सुरु भएको  सहकारी संस्थाको अभियान हाल आएर विश्वव्यापी बनेको छ । नेपालमा बखान सिं गुरुङलाई सहकारीका पिता मानिन्छ । विक्रम सम्वत् २०१३ सालमा चितवन जिल्लामा पहिलोपटक स्थापना भएको बखानपुर सहकारी संस्था दर्ताको अभियानले आज आएर नेपाल भरि व्यापकता पाएको छ । हाल आएर नेपालभरिमा करिब पैतिस हजार भन्दा बढी सहकारी संस्थामा ६३ लाख भन्दा बढी सदस्यहरू आवद्ध भएका छन् भने नेपालको कुल ग्राहस्त उत्पादनमा सहकारी क्षेत्रको उल्लेख्य मात्रामा योगदान रहेको छ ।
नेपालको आर्थिक, समाजिक, सांस्कृतिक, वातावरणीय तथा राजनीतिक जागरणमा सहकारी आन्दोलनको महत्वपूर्ण योगदान रहि आएको छ । यति हुँदाहुँदै पनि नेपालको सहकारी अभियान, समस्या र चुनौति मुक्त हुन सकेको छैन ।  नेपालको संविधानले राज्य, निजी र सहकारी गरि तीन सम्बे अर्थ नीतिलाई अंगीकार गरेको छ । सहकारी आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रुपमा संवैधानिक व्यवस्थाले नै स्थापित भएको छ । सहकारी अभियानलाई नेपालको संविधानले नै संवैधानिक सुरक्षा प्रदान गरेको छ । नेपाललाई समाजवाद उन्मुख राष्ट्रका रुपमा विकास गर्ने संविधानको प्रस्तावनाबाट नै नेपालमा सहकारी आदोलन र महत्वलाई झल्काउँछ । नेपालका तीनै तहका सकार संघ, प्रदेश र स्थानीय तहले सहकारी अभियानलाई महत्वका साथ अगाडि बढाएको पाइन्छ । स्थानीय स्तरदेखि विश्व स्तरसम्म सहकारीको विशेष महत्व र सम्बन्ध रहेको छ । त्यो भए केहि सहकारी संस्थाहरूमा किन समस्याहरू आए भन्ने मूल प्रश्न छ । हाल सहकारी क्षेत्रमा देखिएका मूल समस्या भनेको सहकारीको सहकारी स्थापना, सञ्चालन, नियमन र प्रभावकारी अनुगमणसंग सम्बन्धित रहेका छन् । केहि सहकारी संस्थाहरूमा देखिएका समस्याहरू भनेको सुशासन र सहकारी सिद्धान्तको परिपालनासंग सम्बन्धीत  रहेका छन् । यो नै सहकारीको क्षेत्रको प्रथामिक समस्या हो जस्तो लाग्दछ भने हाल नेपाली अर्थतन्त्रमा देखिएको मन्दि र शिथिलताले पनि नेपालको सहकारी अभियानलाई प्रभावित पारेको छ ।
सहकारीको सिद्धान्त, शिक्षा र मर्म नै नबुझीकन सहकारी संस्थाको सदस्य बन्ने र सहकारी संस्था स्थापना गर्नु नै हाल सहकारी क्षेत्रमा देखिएको आधारभूत समस्या हो । त्यसैले कुनै पनि सहकारी संस्था स्थापना गर्न, सहकारी संस्थाको सदस्य बन्दा सहकारी सिद्धान्त, मूल्य, मान्यता, उद्देश्य, लक्ष्य र कार्यक्रम बझ्न जरुरी छ ।
लहडका भरमा सहकारी संस्था स्थापना गर्ने वा सहकारी संस्थामा सदस्य बन्ने कतिपय सहकारी संस्थामा देखिएको समस्याको प्रथामिक कारण हो भने सहकारी संस्थाहरू र सहकारी संस्थाका सदस्यहरूले सहकारीका सर्वव्यापी सिद्धान्त, मूल्य मान्यता, लक्ष, उद्देश्य र कार्यक्रम अनुसार व्यवहार नगर्दा झनै ठूला विकराल समस्याहरू सहकारी क्षेत्रमा देखिन थालेका छन् ।
हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको मुख्य दवाई भनेको सहकारी सिद्धान्त अनुसारको व्यवहार सहकारी संस्थाहरु र सहकारीका सदस्यहरूले गर्नु हो । सहकारी सिद्धान्त अनुसारको व्यवहार नै हाल सहकारी क्षोत्रमा देखिएका समस्या समाधानको अर्गानिक उपचार हो । त्यसैले सहकारीका यी आधारभूत विश्वव्यापी  सिद्धान्तका बारेमा बुझौ र सहकारी अभियानमा व्यवहारमै लागु गरौ । यो नै सहकारी क्षेत्रमा देखा परेको हालका समस्याहरु समाधान गर्ने आधारभूत तहमा समाधानको उपाय हो । सहकारीलाई माध्यम बनाएर ठगि धन्दा गर्ने गिरोहलाई प्रचलित कानुनी दण्ड भित्र ल्याउनु यही राज्यको अनिवार्य भूमिका हुनुपर्दछ ।
सहकारीका शेयर सदस्यहरुले आधारभूत रुपमा नैै सहकारी भनेको के हो ? भन्ने कुरा राम्रोसँग  बुझ्नु जरुरी छ । सहकारी भनेको शेयर सदस्हरुको सयुंक्त स्वमित्वमा र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफना साझा आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय आवश्यकता एवम् चाहना पुरा गर्न स्वैच्छिक रुपमा एकजुट भै संगठीत हुने व्यक्तिहरुको स्वभक्त संगठन हो । त्यसैले सहकारी संस्थालाई सहकारी शेयर सदस्यहरुको साझा संगठन भनिन्छ । साझापन  सामूहिकता, स्वैच्छिकता, स्वायत्तता सहकारीको मूल मर्म हो । सहकारी संस्थाका केहि मूल्य मान्यताहरू रहेका छन् । स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र एक्यवद्धता सहकारी संस्थाका आधारभुत भूल्यहरु हुन् भने इमान, खुलापन, समाजिक उत्तरदायित्व र अर्काको ख्याल नैतिक मूल्यहरु हुन् । त्यसैले सहकारी संस्थाहरु भित्र गडबडी हुन नदिनका लागि हरेक सहकारी संस्थाहरूले र सहकारी शेयर सदस्यहरुले यी आधारभूत र नैतिक मूल्यहरुलाई आत्मासाथ गर्न जरुरी छ ।
यी मूल्यहरुका साथै सहकारीका केहि मान्यताहरु रहेका छन् । सहकारीले परिपालना गर्नुपर्ने आधारभूत मान्यताहरु यस प्रकार रहेकाछन् ।
१) नाफामा सहभागिता नहुने : अर्काको श्रम वा अर्काले तिरेको अतिरिक्त मूल्यमा नाफा वा लाभ नलिने ।
२) गैर सदस्यहरुसंग कारोबार नगर्ने : सहकारी सदस्यहरुले व्यवसायीक सेवा र कारोबार सहकारी सदस्यहरुमा मात्र सिमित गर्नुपर्दछ । गैर सदस्यहरुसंग बचत उठाउने र ऋण परिचालन गर्ने गर्नु हुँदैन ।
३) गैर सदस्यहरुलाई सेवा दिने : सहकारी शेयर सदस्यहरुको आर्थिक फाइदासंग असम्बन्धित सेवाहरु अर्थात गैर व्यवसायिक सेवा गरैर सदस्यहरुलाई पनि दिनुपर्दछ ।
४) उपकारको भर नपर्ने: सहकारी शेयर सदस्यले अरुले कल्याण गरिदिउन भनेर आस गर्न हुँदैन । शेयर सदस्य स्वयम आफै आत्मनिर्भर  र स्वाबलम्बी बन्नुपर्दछ ।
५) सकारात्मक कार्य गर्ने : सहकारी शेयर सदस्यहरुले लैङ्गीक तथा अन्य कुनै पनि आधारमा भेदभाव नगरि समान सहभागिताको आदर्शमा कार्य गर्नुपर्दछ । समुदायमा सामुहिक सिमान्तकरणमा परेका सदस्यहरुको हितमा सकारात्मक पहल र कार्य गर्नुपर्दछ ।  यी सहकारीका मान्यताहरुलाई आत्मासाथ गरि कार्य गरेमा हाल सहकारी क्षेत्रमा देखिएका आधारभूत समस्यहरु समाधान गर्न केहि हदसम्ममा मद्धत पुग्दछ ।  सहकारी संस्थाहरुले  र सहकारी सदस्यहरुले सहकारी सदस्यको दिगोपना, विकास र प्रभावकारीताका लागि यी मूल्य र मान्यता संगै सहकारीका साथ अन्तराष्ट्रिय सिद्धान्तहरुलाई अनिवार्य रुपमा परिपालना गर्नुपर्दछ ।
सहकारीका सात अन्तराष्ट्रिय सिद्धान्तहरु यस प्रकार रहेका छन् ।
१) खुल्ला तथा स्वैच्छिक सदस्यता : सहकारी संस्थाहरुले शेयर सदस्य बन्नका लागि खुल्ला  र स्वैच्छिक गर्नुपर्दछ । कसैलाई पनि जात, लिङ्ग, धर्म, वर्ग वा राजनीतिक आस्थाका आधारमा सहकारी शेयर सदस्य बन्नबाट बञ्चित  गर्नु हुँदैन । महिला, सिमान्तकृत, गरिब, विपन्नलाई शेयर सदस्य बन्नका लागि सहकारी संस्थाहरुले उत्प्रेरित र सशक्तीकरण गर्नुपर्दछ । शेयर सदस्य खुल्ला र स्वैच्छिक  गर्नुपर्दछ ।
२) प्रजातान्त्रिक नियन्त्रण : सहकारी सदस्को शासन, पद्धती, कार्य संचालन, नीति निर्माण र कार्यन्वयनमा सहकारी शेयर सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण हुनुपर्दछ । सहकारी संस्थाको साधारण सभा, बैठक, निर्वाचनमा पुँजिका आधारमा नभई शेयर सदस्यहरुलाई समान सहभागिताको अवसर रहनुपर्दछ । हरेक सहकारी संस्थाहरु प्रजातान्त्रिक विधि र प्रकृयाबाट संचालन हुनुपर्दछ ।
३) सदस्यको आर्थिक सहभागिता: कुनै पनि सहकारीका शेयर सदस्यहरु सहकारी संस्थामा आर्थिक रुपमा सहमगिता हुनुपर्दछ । सहकारी सदस्यले तोकिए बमोजिम न्युनतम आर्थिक लगानि गरि सहकारी संस्थाको शेयर सदस्य बन्नुपर्दछ भने संस्थाको नियम अनुसार नियमित रुपमा आर्थिक सहभागिता जनाउन र सो अनुसारको लाभ प्रप्त गर्नुपर्दछ ।  

४) स्वायत्तता र स्तन्त्रता : हरेक सहकारीका लागि स्वायत्तता र स्वतन्त्रता एउटा महत्वपूर्ण सिद्धान्त हो । स्वायत्तता र स्वतन्त्रता सहकारी संस्थाको मूल प्राण हो ।  सहकारीका शेयर सदस्यले बनाएको नीति, नियमबाट संचालन गर्ने कुरा नै यसको मर्म हो । सहकारीका अन्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र देशिय कानुन बमोजिम सहकारी संस्थाहरुले स्वाभक्त र स्वतन्त्र ढङ्गले कार्य संचालन गर्नुपर्दछ ।
५) सहकारी शिक्षा : सहकारी शेयर सदस्यहरुले निरन्तर रुपमा सहकारी शिक्षा, तालिम र सूचना नियमति रुपमा लिनुपर्दछ । सहकारी शिक्षा विना सहकारी संस्थामा संगठित  नभएकै राम्रो हो । सहकारी संस्थाहरुले नियमित रुपमा शेयर सदस्यहरुलाई सहकारी शिक्ष, तालिम र सूचना प्रवाह गर्नुपर्दछ भने शेयर सदस्यले अनिवार्य रुपमा सहभागिता जनाउनुपर्दछ
६) सहकारीहरु बीच सहकार्य : सहकारी संस्थारुका बीचमा आ–आफना शेयर सदस्यहरुलाई सेवा दिन सहकारी संस्थाहरुका बीचमा सहकार्य गर्नुपर्दछ । सहकारी संघ, महासंघ र संचालकबाट सहकारीका चुनौति समाधान गर्न सामुहिक पहल गर्नुपर्दछ भने सहकारीको सामूहिक प्रयासबाट वृहत्तर र आत्मनिर्भर अर्थतन्त्र विकासमा सहकारीहरु बीच सहकार्य अनिवार्य छ । यस तर्फ सबै सहकारीले ध्यान दिएर कार्य गर्नुपर्दछ ।
७) सामुदायिक चासो : हरेक सहकारी संस्थाहरुले आफुले कार्य गर्ने अंगका समुदायको चासोलाई सम्बोधन गरि दिगो विकासका कार्य गर्नुपर्दछ । समुदायको आर्थिक सामाजिक, सांस्कृतिक र वातावरणीय समस्या समाधानमा सहकारी संस्था र सहकारी शेयर सदस्यहरुले सामुहिक प्रयत्न गर्नुपर्दछ ।  विश्व व्यापी रुपमा मात्र हैन स्थानीय स्तरमा देखिएका आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय समस्या समाधानमा सहकारी संस्थाहरुले ध्यान दिनुपर्दछ ।
सहकारी संस्थाको दिगोपनका लागि सहकारी संस्था र सहकारी सदस्यहरुले सहकारीका आधारभूत र नैतिक मूल्य, मान्यताका साथै सहकारीका सात अन्तराष्ट्रिय सिद्धान्तहरु व्यवहारिक रुपमा कायान्वयन गर्नुपर्दछ । मूल्यमान्यता र सिद्धान्त बिहिन कार्य र व्यवहारले सहकारी अभियानमा समस्याहरु सृजना भएका छन् । त्यसैले शेयर सदस्य, सरकार र सहकारी संस्थाहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्तका परिपालनमा कार्य गर्नुपर्दछ । सहकारी सिद्धान्तको कार्यान्वयनले नै सहकारी अभियानमा देखिएका समस्याहरुको दिगो रुपमा समाधान गर्न मद्धत गर्दछ । त्यसैले सहकारी संस्थाहरुमा समस्या आउन नदिन र सहकारीको दिगोपनका लागि सहकारीका मूल्य,मान्यता र सिद्धान्तको अनिवार्य रुपमा कार्यान्वयन गरौ  ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया