दाङ, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउन दाङ जिल्लाका लागि सात जना केन्द्रीय प्रतिनिधि खटाएको छ।पार्टीले केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी प्रदान गर्ने निर्णय अनुसार दाङमा तीन सांसदसहित सात जनालाई जिम्मेवारी दिएको जनाएको छ।
रास्वपाले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा खटाइएका प्रतिनिधिमा पार्टीका केन्द्रीय सहमहामन्त्री तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद विपिन कुमार आचार्य, क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदी, समानुपातिक सांसद खिमा विक, केन्द्रीय सदस्य अनन्तराज घिमिरे, संघीय नेतृत्व मञ्चका एकराज चौधरी तथा केन्द्रीय विभागका हरि प्रसाद रिजाल र गणेश पौडेल रहेका छन्।पार्टी संगठन विस्तार, स्थानीय तहका भेला तथा आगामी अधिवेशनलाई व्यवस्थित ढंगले सञ्चालन गर्न जिल्लागत जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।





