” जिसी सर! तपाईंको निधारमा पनि टीका र जमरा? ” प्राय टेलिफोन, म्यासेज र म्यासेन्जरमा संस्कार् र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ। पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दशैँ, तिहार, तिज, माघे संक्रान्ति ,चैते दशैँ , कुल पुजा, देवाली अर्थात गोत्यार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरुमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल , आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पुजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र, भाइभतिजा ,साथीसङ्गीहरूका बिच बिचार आदानप्रदान , सुखदुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रुपमा यी चाडपर्वहरूको महत्व रहेको छ।
जहाँ हिजो ,अर्थात बालापनका सुखदुःख, हुर्किबढेका क्षणहरू देखि आज अर्थात वर्तमानमा भोगी आएका कथा, व्यथा ,अनुभव किस्सा र भोलि कसरी जिउने सम्मका भलाकुसारी हुने गर्दछ्न। यी चाडपर्वहरू हिन्दु धर्मावलम्बीहरूले मात्र नभै अन्य धर्ममा विश्वास राख्नेहरुले समेत मनाउन थालेका छन् । अर्थात बाहुन , क्षत्री , ठकुरीले मात्र नभै मगर, गुरुङ ,राई ,लिम्बू ,भोटे , तामाङ ,यादव ,महतो ,त्रिपाठी अन्य जाती तथा जनजातिहरूले पनि आत्मसात गर्दै मनाउने गर्दछ्न। त्यस्तै कुनै ईश्वरीय शक्ति , रहस्यवादमा विश्वास नराख्ने हामी जस्ता द्वन्द्वात्मक भौतिकवादीहरू समेत मनाउने गर्दछौँ , गरिन्छ ।
उपरोक्त चाडपर्वहरू मनाउने गर्दा केही कट्टर धर्माधिकारी , पण्डा पुरोहित र तिनका पक्षपोषक बाहेक आम सर्वसाधारणहरूले त्यसका ती दार्शनिक मूल्य मान्यता जस्तै राम , रावण, काली, सरस्वती ,महाकाली , शिव र पार्वतीका महात्म्य र मिथकहरू खोतल्न आवश्यक ठान्दैनन । उनीहरूले त केबल एकबारको जुनिमा आजको व्यस्त दैनिकीलाई चिर्दै वर्ष दिनमा एकपटक मात्र आउने र जुर्ने चाडपर्वलाई सहिरुपमा सदुपयोग गर्न र समय दिन/ निकाल्न चाहन्छन्। त्यो महत्वपूर्ण अवसरलाई खेर फाल्न नदिई उत्साहका साथ रमाइलो वातावरणमा भरपुर प्रयोग गर्न चाहन्छ्न।
तसर्थ यी चाडपर्वहरू आम जनताको सामाजिक सद्भाव , भाइचारालाई एकरूपता ल्याउन, टुटेफुटेका मनहरूलाई जोड्न र मिलाउन ,उनिहरुका निजी जिन्दगीका रङ्ग रइस संग पनि नितान्त जोडिएका छ्न। फेरि पनि भनुँ आफूलाई धर्मका कट्टर हिमायती ठान्ने आस्तिकले बाहेक आम सर्वसाधारणहरूले धार्मिक भन्दा पनि आर्थिक ,सामाजिक ,मनोवैज्ञानिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित रहि नितान्त आपसी भाइचारा , पारिवारिक सद्भाव ,पुनर्मिलन र भेटघाट गर्ने मंच र एक अवसरको रुपमा यी चाडपर्वहरूलाई मनाउने गर्दछन्। चाडबाडको सामाजिक र सांस्कृतिक महत्वबारे प्रस्ट्याउँदै चिन्तक तथा गम्भीर अध्ययता आदरणीय मित्र रोशन दहाल जी भन्नुहुन्छ द्वन्द्वात्मक भौतिकवादीहरूले चाड पर्व मनाउँने हुँदैन भन्ने हैन ।
चाडपर्वहरूले मानिसहरूबीच सामाजिक सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ । माक्सवाद आफैँमा एउटा वैज्ञानिक समाजशास्त्र पनि हो । सामान्यतः समाजशास्त्रले समाज कस्तो हुनुपर्छ वा समाजले अब कुन बाटो लिनुपर्छ भन्ने आशय थोपर्दैन । यसले त केवल समाजको व्याख्या मात्र गर्दछ भनी परिभाषित गरिएको छ । तर माक्सवाद यस्तो समाजशास्त्र हो जसले समाजलाई दिशा निर्दिष्ट समेत गर्दछ । यस अर्थमा माक्सवाद जड विज्ञान नभएर जनतासँग, समाजसँग घुलमिल हुँदै समाजलाई परिवर्तन गर्ने विज्ञान हो ।
जनताको एउटा विशाल तप्काले अपनाएको पर्वलाई पूर्णतः इन्कार गर्नुपर्छ भन्ने चिन्तन राख्नु जनतासँग अलगथलग बसेर मनचिन्ते बन्नु हो। मार्क्सवादीहरू सन्यासी र साधु हैनन् जसलाई दुनियाँको परवाह छैन र आफू निर्वाण प्राप्त गर्न भनी जङ्गलमा तपस्या गर्न जान्छन्। त्यस्तै मार्क्सवादीहरूले सामाजिक रीतिथितिको विरुद्धमा नै उभिनुपर्छ भन्ने चिन्तन राख्नु पनि गलत मान्यता हो । मार्क्सवादीहरूले त जनताले अपनाउँदै आएका चलनलाई प्रगतिशील ढंगले नयाँ प्रचलनका साथ मनाउँन प्रेरित गर्नुपर्छ। समाजमा चलिआएका चलनहरू प्रति मानिसको यति धेरै आस्था हुन्छ कि त्यसलाई पूर्णतः अस्वीकार गर्नेहरू त्यो समाजबाट बहिष्कृत हुन्छन। मार्क्सवादद भनेको हिन्दु धर्मले क्रिश्चियन धर्म वा अरु धर्म परिवर्तन गरे जस्तो हैन। मार्क्सवाद हुनु भनेको भौतिकवादी हुनु हो। तर भौतिकवादसँगै द्वन्द्वात्मक पनि हुनु हो ।
माक्सवादलाई जडसूत्र मान्नेहरूले मात्र समाजसँग घुलमिल हुने कुरालाई अस्वीकार गर्छ ।समाजमा केही चलन वा पर्वहरु यस्ता छन् जसले अन्य समुदायलाई नीच ठान्ने वा हेप्ने गरि स्थापित गरिएका छन् ।त्यस्ता पर्वहरू बिल्कुल हटाउनुपर्छ । जस्तै व्रतबन्ध प्रथा, छोइछिटो प्रथा, महिनावारी बार्ने प्रथा, पुरुषका लागि व्रत लिने, गरुड पुराणबाट निर्देशित मृत्यु संस्कारका चलन इत्यादिलाई निर्ममतापूर्वक विरोध गर्नुपर्छ। तर दशैँ, तिहार जस्ता पर्वहरूलाई रूपान्तरण गरि मनाउँन सकिन्छ। पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेपछि तीजलाई प्रगतिशील ढंग मनाउँन थालियो । त्यस्तै तिहारमा देउसी, भैलो सबैभन्दा बढी कम्युनिस्टहरूले नै खेल्छन्। किन ?किनकि मार्क्सवादीहरूले समाजसँग एकता संघर्ष र एकताको नियमबाट चल्नुपर्छ भन्ने सोचाईका आधारमा सामाजिक चलन र पर्वलाई रूपान्तरण गरेर मनाइएको हो ।
यसरी जनताको जीवन संस्कृतिसँग प्रत्यक्ष जोडिएका , भिजेका र गाँसिएका यी चाडपर्वहरूको महत्वलाई कम आकि , नजाँची ,नबुझी कथित बहिष्कार ,निन्दा र आलोचना गर्नुको कुनै तुक छैन ।साहित्यकार तथा राजनीतिज्ञ प्रदिप ज्ञवालीको सांस्कृतिक रूपान्तरण एक विमर्श पुस्तकमा उल्लेख भएझैँ चाडपर्वहरूको सामाजिक रूपान्तरण जरुरी छ तर यस्तो रूपान्तरण न ध्वंसात्मक विधिबाट न यिनिहरुको अन्धविरोध गरेर र जनताबाट टाढा रहेर हुन्छ न संस्कृतिलाई पालना गर्ने नाममा यथास्थितिलाई जस्ताको तस्तै ग्रहण गरेर गर्न सकिन्छ। यी चाडपर्व ,यिनका सामाजिक आयाम र जनताको सम्बन्धबाट कटेर तपाईंले यिनलाई रूपान्तरण गर्न सक्नुहुन्न ।कुनै दिवङ्गत नेता विशेषको देवत्वकरण गर्ने तर जनताको जीवन संग भिजेका चाडबाडबाट भने टाढा रहने कुरा पाखण्ड मात्रै हुन्छ ।
कुनै पदमा चुनिँदा अबिर टीकामा डुब्ने या माला भित्र पुरिने कुरालाई सहज ठान्ने तर बाआमा , मान्यजन या दिदीबहिनीले शुभकामना सहित लगाइदिने टीकालाइ चाहिँ रुढी ,सामन्ती संस्कृतिको प्रतीक भन्दै बहिष्कार गर्ने कुरा द्वैध चरित्र द्वैध चरित्रले समाजमा नयाँ मूल्यहरूको विकास गर्न सकिदैन ।हो यी चाडपर्वहरू मनाउँदा त्यसमा रहेका रुढी ,अन्धविश्वास ,जडता,बोझिल र अवैज्ञानिक पक्षहरूलाई हटाउने पहल गर्नुपर्छ। त्यसमा रहेका सामाजिकता, व्यवहारिक ,सकारात्मक र वैज्ञानिक पक्षहरूलाई आत्मसात र अवलम्बन गर्न कुनै हिच्किचाहट मान्न जरुरी छैन। जनताबाट अलगथलग रहि गरिने निन्दा, आलोचना ,भत्सर्ना र बहिष्कारको नाराको खासै अर्थ छैन .. आगे सहमत / असहमत यहाँहरूकै मर्जी ..
०८० कार्तिक ०९ गते तुल्सिपुर दाङ , लेखक लुम्बनी प्रदेश प्रहरी कार्यालमा कार्यरत प्रहरी निरीक्षक राम बहादुर जिसी हुनुहुन्छ ।






