तुलसीपुर २२ असाेज । रेडियो सुन्दै आनन्द लाग्ने शब्द, सायद अन्तरात्मा देखिको नै अभिरुचि भएर होला, मलाई एकदमै मन पर्ने सञ्चार माध्यम मध्ये को एक हो रेडियो । कुनै बेला रेडियो प्रतिको क्रेज निकै लोभलाग्दो थियो । नेटवर्कले काम नगर्ने ठाउँमा लामो लामो तारको प्रयोग गरेर पनि रेडियो सुनिन्थ्यो । गोठालो जाँदा पनि रेडियो सेट नै बोकेर सुनिन्थ्यो । जब एफ स्टेशनहरु सञ्चालनमा थिएनन् । त्यति बेला रेडियो नेपाल बज्ने गर्थ्यो ।
जब हातमा घडी नहुँदाको समय रेडियोको टाइम चेक नै हाम्रो समयको भर पर्दो माध्यम थियो । मेरो रेडियो प्रतिको रुचि बढ्नुमा मेरो बाबाको प्रेरणा छ । घरमा नियमित रूपमा बाबाले रेडियो सुन्ने भएकाले पनि बच्चा हुँदा देखि नै रेडियो प्रतिको चासो बढ्न थाल्यो पछि नयाँ नयाँ एफएम स्टेशनहरू पनि सञ्चालन भए । त्यो बेलामा रेडियो बाट प्रसारण हुने निकै रमाइला कार्यक्रमहरु, सुन्दा बडो आनन्द लाग्ने । उ बेला मोबाइल थिएन, साथी नै रेडियो थियो । कुनै कार्यक्रममा त हुलाकबाट चिठी पनि पठाउनु पर्थ्यो ,र पठाइयो पनि र आफ्नो चिठीको प्रसारणको पालो कुरेर सुनिन्थ्यो ।
जति बुझ्दै जान थालियो त्यति नै रेडियोबाट प्रसारित विभिन्न खालका कार्यक्रमबाट पनि आफूले धेरै ज्ञानगुनका कुराहरू जान्ने, बुझ्ने र सिक्ने अवसर मिल्दै गयो । त्यसै क्रममा सुरुका दिनहरूमा त आफूलाई रेडियो मा बोल्ने इच्छा त जागेन तर रेडियोमा बोल्ने मान्छे चाहिँ कस्ता हुँदो रहेछन् भनेर हेर्ने कौतुहलता चाहिँ धेरै हुन्थ्यो । र मलाई लाग्थ्यो कि रेडियोमा बोल्ने मान्छे सबै भन्दा धेरै जानकार भएका र विज्ञ हुन्छन् ।
सुन्नेमा मात्रै रुचि राख्ने म बिस्तारै उनै कार्यक्रमहरूमा पनि फोन लगाउन थाले, कार्यक्रममा सहभागी हुन थाले । मलाई याद छ अझै पनि पहिलो पटक रेडियोको कार्यक्रममा प्रत्यक्ष फोन लगाएर सहभागी हुँदा म निकै डराएको थिए । बिस्तारै रेडियो कार्यक्रमहरूमा सहभागी हुँदै जाँदा रेडियोबाट आफूले कार्यक्रम सञ्चालन गर्नु पर्ने खालका पनि कार्यक्रमहरू पनि प्रसारण हुन थाले र उक्त कार्यक्रममा विजेता हुने व्यक्ति रेडियोको स्टुडियोबाट नै प्रत्यक्ष कार्यक्रम सञ्चालन गरेर अवसर पाउने पनि सिस्टम पनि थियो र त्यसैको आशैआसमा रेडियोसम्म नै पुग्ने इच्छा उत्पन्न हुन थाल्यो । यो सबै मेरो अनुभव मेरो जन्म थलो रोल्पामा रहँदा रोल्पामा रहेका रेडियोहरू प्रतिको मोह हो ।
जब म दाङमा रहेको रेडियो प्रकृति एफ.एम.९३.४ मेगाहर्ज सँग २०७४ चैत्र १३ गते जोडिने मौका पाएँ,आफूलाई धेरै नै भाग्यमानी भएको महसुस गरे । मेरो चाहना र रुचि भनेको रेडियोबाट समाचारमा बोल्ने थियो तर, मैले गर्नु पर्यो विज्ञापन शाखा अन्तर्गतको मार्केटिङको काम, जुन मलाई थाहा नै थिएन कि रेडियो भित्र यो छुट्टै शाखाको रुपमा हुन्छ भनेर, तर पनि उक्त काम गर्न म तयार भए जबकि एक महिना भोलेन्टियर (निशुल्क) को रुपमा । किन भने आफूले काम सुरुबाट नै सिक्नु पर्ने थियो र यो सबै मेरो रेडियो प्रतिको तीब्र इच्छाका कारण ।
जब बिस्तारै समय बित्दै जान थाले, मार्केटिङको काम दिनभर बजारमा विज्ञापन खोज्न हिँड्नुपर्ने,बजारमा मेरो नयाँ अनुहार, त्यसै पनि अझै चुनौती, बिहान १० बजे बजार निस्किए दिनमा नास्ता खानै बिर्सने, बेलुका अँध्यारो भएको पतै नपाउने सम्मको अवस्था आउन थाले । यो सबै कोही विज्ञापन दाताले विज्ञापन दिनुहुन्छ कि भन्ने आशामा, किनभने म मेरो लक्ष्यमा पुग्नु थियो ।
कतिपय अवस्थामा राम्रो गर्दै गर्दा पनि अग्रजहरूबाट गाली खानु पर्ने, अलिकति प्रगति गर्दै गर्दा सहकर्मीबाटै नराम्रो व्यवहार खेप्नु पर्ने, बजारमा जाँदा मगन्तेको जस्तो व्यवहार सहनुपर्ने यावत चुनौति बावजुत निरन्तर लागियो । यो मेरा लागि सिकाइ पनि थियो । कारोबार नहुने पसल, उद्योगमा व्यापार छैन कसरी बजाउने हाे सकिदैन भन्ने र जहाँ राम्राे कारोबार भइरहेको छ त्यहाँ मेरो पसलमा यही भ्याइनभ्याइ छ । ग्राहकहरू आइरहनु भएको छ । प्रचार गर्नुपर्दैन भन्ने जवाफ । अक्सर व्यापारीको मिडिया प्लान नहुँदा र हामीले पनि मिडियाको बारेमा बझाउन नसक्दाको अवस्था हाे याे । सञ्चार माध्यममा विज्ञापन दिदा उहाँहरूको व्यवसायीक प्रवर्द्धनका हुने र सञ्चार माध्यम पनि आर्थिक रुपले सबलीकरण हुने भएकाले दुवैका लागि हितकर छ । तर हामीमा त्याे जागरण छैन् । हामी पसल चलाेस नचलोस् हामी २ /३ लाखको डेकुरेसन बनाउन तयार छाै तर आफ्नै पसलको, सामानको गुणस्तरको लागि नागरिकको कान कानमा पुर्याउनका लागि प्रचार गर्न हामी नाक खुम्च्याउँछौँ । अनि कारोबार भएन भन्छौ । उक्खान छ नि बाेल्नेकाे पिठाे बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन ।
मेरो आफ्नो बुझाइमा निकै सम्मानित क्षेत्रको रुपमा बुझेको सञ्चार माध्यमको मुख्य अङ्ग रेडियो, जसमा कार्यरत व्यक्तिलाई बाहिरबाट हेर्ने व्यक्तिको नराम्रो दृष्टिकोण, जो उसको मनोभावना र व्यवहारबाट बुझ्न सकिन्छ । तिता मिठा अनुभवसँगै धेरै सङ्घर्षका बावजुत पनि आजसम्म आइपुग्दा झण्डै ५ वर्ष पुग्न लागेको पनि पत्तो पाइएन । अनुभव धेरै छन् ,कथा बन्न सक्छ र पनि यस क्षेत्रमा दशकौँ समय बिताइसक्नु भएका अग्रज व्यक्तित्व पनि हुनुहुन्छ । मेरो यो छोटो समयको अनुभवले पनि मिडिया क्षेत्रलाई केही बुझ्ने अवसर पाएकी छु र अझै सिक्ने क्रममा नै छु ।
यथार्थ नबुझी अर्काको चरित्र माथि औंला उठाउन माहिर हाम्रो समाजका प्रश्नै प्रश्नले घोच्ने गर्छ । त्यसमा पनि अझ विशेष गरेर महिला माथिको प्रश्न ।
१. मिडिया क्षेत्रमा काम गर्ने व्यक्तिको तलब नै हुँदैन किन काम गरेको ? के हुन्छ र ? कति पैसा वा तलब खाने भन्ने कुरा क्षमताले पनि निर्धारण गर्छ । योग्यता, क्षमता, सीप र अलिकति मेहनत गरे नहुने केही पनि छैन फेरी । तर दिनभरी बसेर पैसा पनि हुँदैन । उत्पादन गरेन न खाने हाे । खेतमा बारीमा उत्पादन गर्न सकिएन भने के खाने ?
२. रेडियोमा काम गर्ने मान्छे त गतिलो हुँदैन रे ? मतलब उसको चरित्र माथिको नराम्रो प्रश्न, त्यो सबै व्यक्तिको व्यक्तिगत विचारमा भर पर्ने कुरा भयो र सबै व्यक्ति एउटै पनि हुँदैनन् ।
३. अनि त्यति मात्रै नभएर त्यही क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट पनि हेर्ने दृष्टिमा नकारात्मक किनभने जो व्यक्तिको नराम्रो बानी छ, त्यो व्यक्तिमा मा त जहिले पनि अरूलाई हेर्ने नजर त्यस्तै हुनु त स्वभाविकै हो । त्यसैले जसले जे भने पनि, जस्तो सोचे पनि मेरो नजरमा जहिले पनि यो क्षेत्र सम्मानित क्षेत्र हो र म गर्व गर्छु मेरो पेशालाई र म खुशी पनि छु ।
पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोग, गाउँगाउँमा इन्टरनेटको सुविधा र स साना बालबालिका देखि वृद्धवृद्धाको हातहातमा समेत स्मार्ट मोबाइल फोन को सुविधा हुनुले धेरैको बुझाइमा अहिले रेडियो कसले सुन्छ र ? भन्ने शब्द सुन्न पाइन्छ । आफूले नै रेडियो नसुने पछि अरूले रेडियो सुन्छ होला त ? भनेर प्रतिप्रश्न गर्नु स्वभाविक पनि हाे । अहिलेका बालबालिका त झन् रेडियो भनेको के हो भन्ने नै थाहा नहुने अवस्था छ । तर मेरो विचारमा रेडियो जस्तो भरपर्दो र विश्वासिलो सञ्चार माध्यम अरु हुनै सक्दैन । बढ्दो प्रविधिसँगै रेडियोलाई सुन्नेबाट देख्ने सम्ममा परिवर्तन गर्दै गर्दा रेडियोको सेट नै बोक्ने श्रोता कम हुनुहुन्छ होला तर, मोबाइलको विभिन्न एपको माध्यबाटै भए पनि रेडियो सुन्ने श्रोताको कमी भने भएको जस्तो लाग्दैन । त्यसैले कुनै दिन बालक देखि बूढापाकासम्म व्यक्तिका लागि रेडियो सबै भन्दा नजिकको साथी बन्न सक्छ ।
विशेष गरी म सञ्चार जगतको यात्रामा रमाइ रहँदा बिस्तारै सानासाना कामबाट सुरुवात भएको मेरो सिकाइमा अझ निखारता ल्याउने प्रयास मै छु । धेरै कुरा सिक्नु छ । देखेर, सुनेर र भोगेर धेरै कुराहरू सिक्ने प्रयास मै छु । विशेष गरी यो मेरो रेडियो यात्रामा गल्तीमा सुधारका बाटाहरू देखाइदिने र राम्रो काममा थप हौसला दिने अग्रज व्यक्तित्व, अभिभावकको एक रूप रेडियोका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, सधैं हर काममा साथ सहयोग दिने सहकर्मी साथी, मेरो भावना इच्छा चाहनालाई बुझेर साथ दिने परिवार लगायत सिंगो रेडियो प्रकृति र रेडियो व्यवस्थापनका सम्पूर्ण टिमहरू प्रति धेरै आभारी छु र कृतज्ञता व्यक्त गर्दछु । मेरो रेडियोको यात्रा ५ वर्ष पुग्नै लाग्दा असोज २२ गतेका दिन बाट १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रेडियो प्रकृतिलाई धेरै धेरै शुभकामना र हामी सबैलाई बधाई ।
सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाऔँ
सञ्चार क्षेत्रको पेशालाई सँधै सम्मान गरौँ।
धन्यवाद !






