२०८३ जेष्ठ २५ गते सोमवार

“मेरा सोभियत सम्झनाहरु” पढी भ्याउँदा

विद्वान व्यक्तित्व इन्जिनियर आदरणीय राम बिन्दु श्रेष्ठ द्वारा लिखित “ मेरा सोभियत सम्झनाहरु“ नामक पुस्तक पढी सिध्याई सो बारेमा एक पाठकको दृष्टिमा लागेका कुरा यहाँहरू समक्ष बाँड्दै छु। लेखक राम बिन्दु श्रेष्ठले आफू जन्मे हुर्केको ठाउँ बिकट पहाडी जिल्ला बाग्लुङको सेरोफेरो,बाल्यकालिन अवस्थामा हुर्कदा, बढ्दा र पढ्दाताका चरण देखि उच्च शिक्षा अध्ययनको सिलसिलामा बाग्लुङ देखि काठमाडौ सम्म र काठमाडौँ देखि छात्रवृत्तिमा छनौट भै सोभियत भूमि रुस सम्म पुगी त्यहाँ रहँदा बस्दा र पढ्दा आफूले भोगेका,अनुभूत गरेका र ब्यहोरेका तमाम हन्डर ठक्कर, सफलताका किस्सालाई समग्रमा “मेरा सोभियत सम्झनाहरु“ संस्मरण मार्फत पाठक समक्ष प्रस्तुत गरेका छन्।पहिले देखिनै नियमित डायरी लेख्ने बानी पारेकोले पनि लेखकलाई यो संस्मरणमा जीवन्त रुपमा प्रस्तुत हुन मद्दत पुगेको छ।आफ्ना निजात्मक जिन्दगीका अनुभूतिहरू अरुलाई सुनाउन र बाँड्न पाउँदा लेखक आफैमा दिल खुस त यसै छन् उनका कुरा ध्यानमग्न भै सुनिरहेका स्रोता तथा पाठकहरू पनि कुनै अलमल र चलमल नगरी निकै उत्सुक र जिज्ञासाका साथ  उनलाई सुन्नमा मजा मानिरहेका हुनेछन् ।विशेषत तत्कालीन सोभियत संघको स्थापना, शासन ब्यवस्था र त्यसको विघटन हुनाका कारणहरू  बुझ्न चाहने इच्छुक पाठकका लागि लेखकको यो पुस्तक आँखी झ्याल र सन्दर्भ सामाग्री हुनेमा कुनै शंका छैन।

    उच्च शिक्षाको पढाईको सिलसिलामा सन १९८५ मा २१ वर्षको कलिलो उमेरमा नेपाल छाडी विदेशी भूमि सोभियत रुसमा ६ ÷ ६ बर्ष सम्म खोजअध्ययन अनुसन्धानमा जुट्नु पर्ने जिज्ञासा र कौतूहल एकातिर र अर्कोतिर घरपरिवार, आफन्त,इष्टमित्र,साथी संगिको अपनत्वबाट लामो समय सम्म बिछोडिनुको पिरलोले लेखकलाई लखेट्छ भावनामा बहकिएको त्यस क्षणलाई उनले संस्मरणमा कैद गरेका छन् ।काठमाडौँ एयरपोर्टबाट दिल्ली हुँदै सोभियत भूमि तर्फ लाग्ने आकाश मार्गको उडान मस्को पुगेको भोलिपल्ट पुनः पट्यारलाग्दो लामो रेल यात्रामा असहजता, ४ दिन पछि थकित र गलित ज्यानमा आफू पढ्ने एरेभानको विश्वविद्यालयमा पुग्दा त्यहाँ अध्ययनरत नेपाली दाजुभाइ दिदीबहिनीहरूले देखाएको आत्मिय व्यवहारले थकित ज्यानमा पैदा भएको स्फूर्ति र ताजगिपन, शुरुको १ वर्ष भाषा सिकाइ तथा अध्ययन वर्षको रुपमा रहने यस समय आफू शिशु कक्षाको विद्यार्थीमा बदलिएको, बिरानो ठाउँमा अपरिचित मान्छेहरू सँग उठबस भाषा अज्ञानताको कारण खुल्न नसक्दाको क्षण , घरपरिवार इष्ट मित्र साथी संगी हुर्किखेलेको ठाउँको याद पटकपटक सताएको झझल्को अनुभूतिलाई पनि लेखकले पुस्तकमा समेटेका छन्।

रुसि भाषा पढाउने शिक्षिका आर्पिक ओमेतोभ्ना खच्यातुर्यान ७० वर्षको उमेरमा पेन्सन पाकि सकेर पनि घरमा बस्नुभन्दा सकृय जीवनलाई निरन्तरता दिन अध्यापन जारी राखेकी र उनी मार्फत नै लेखकले अक्टोबर क्रान्ति देखि लेनिनकाल, स्टालिनकाल,ख्रुशेबकाल, ब्रेझनेभकाल, प्रेस्त्रोइकाको अवस्था,दोस्रो विश्व युद्धमा सोभियत जनताले ब्यहोरेको सास्ती र नाजी आक्रमणकारी विरुद्ध गरेको देश भक्तिपूर्ण प्रतिकार आन्दोलन गाथा, सन १९८७मा लेनिनले सजाय स्वरुप पूर्वी साइबेरियामा ३ वर्षको समय व्यतीत गर्दा साहित्य, कला,दर्शनमा पुर्याएको योगदानको चर्चा, भाषा शिक्षिका आर्पिकको मुखबाट सुने संगै ती बिचारणिय र मननयोग्य कुराहरू मनमा सिमेन्टेड बनेर गढेको प्रसङ्ग ब्यहोरालाइ पनि पुस्तकमा समेटिएको छ।

  त्यसैगरी पुस्तकमा लेखकले रुसमा गाईको मासुलाई मिठो परिकारका रुपमा लिइने र आफूहरूको मेशमा समेत पकवानको रुपमा तयार पारिने भएकोले १ वर्ष सम्म गौमांस नखाएको,भान्सामा गौमांस पाकिरहँदा त्यस क्षण घरको काली बाच्छी र कैली गाईको सम्झनाले सताएको, रुम पार्टनर स्याङ्जाका इन्द्रप्रसाद चापागाईँको शान्त, मिलनसार,स्नेही र धैर्य व्यवहारबाट आफूले धेरै कुरा सिक्न पाएको रोचक अनुभूति पनि बाँडेका छन्।

  त्यसैगरी पुस्तकमा लेखकले सोभियत मुलुकमा पहिलो वर्षका नवागन्तुक विदेशी विद्यार्थीहरूलाई न्यानो कपडा किनिदिने चलन रहेको तर नेपालीहरू पुड्का र होचो गाँठिका हुने हुँदा तेह्र वर्ष मुनिका सोभियत किशोर किशोरीहरूको शरीरमा फिट हुने कपडा नाप जाँच गर्नुपर्ने अवस्था आइलाग्ने रोचक प्रसङ्ग पनि समेटेका छन् ।

 त्यसैगरी पुस्तकमा सोभियत विश्वविद्यालय र इन्स्टिच्युटमा अध्ययनरत विदेशी विद्यार्थीहरूले बिदाको समयलाई सदुपयोग गर्दै युरोपका विभिन्न शहरको यात्रा तय गर्ने र त्यहाँ उत्पादित सस्ता र आकर्षक सामान खरिद गरि रुसमा ल्याइ बिक्रीवितरणको प्रबन्ध गरि त्यसबाट भएको आम्दानीले घुमघाम, मिठो मसिनो खाने, मनोरंजन गर्नुको साथै घर जांदा, आउँदाको टिकटको पैसाको जोहो गर्ने परिपाटीको बारेमा पनि चर्चा गरिएको छ।

 त्यसैगरी पुस्तकमा आगामी ५ वर्ष सम्म अध्ययन गर्ने शहरको  लिस्टमा लेखक लगायतका ५ जना साथीहरूको सोभियत गण राज्यको जर्जिया तिबलिशी परेकोमा तिब्र असन्तुष्टि अरुची निराशा,अन्यौल र द्विविधाले थिचेको, यदि शहर परिवर्तन नगर्ने भए आफूहरूलाई देश फिर्ता गरिदिन विश्वविद्यालयको डिनलाई सम्बोधन गर्दै निवेदन दिएको, यसैक्रममा १ दिन आम हडताल समेत गर्नुपरेको, आन्दोलनकै स्वरुप आफूहरूको मागदाबी पूरा भै इच्छाएको खार्कोभ शहरमै पढन पाउने निर्णयले निराश र हतास मन पÞmेरि मखलेल र गदगद भएको प्रसङ्ग ब्यहोराबारे पनि चर्चा गरिएको छ।

   त्यसैगरी पुस्तकमा नेपाली छात्र संघको सम्मेलनमा प्रतिनिधिका रुपमा लेनिनग्राडमा पुग्दा प्रतिनिधि छनौटमा विवाद उत्पन्न हुंदा सम्मेलनको पहिलो दिन विवाद निपटाराको लागि आफ्नो नाम फिर्ता लिनु परेको अबस्था बताउनुको साथै  सन ३० र ४० को दशकमा नेपालका कम्युनिस्ट र वामपन्थी पार्टीहरुले सोभियत कम्युनिस्ट पार्टी संशोधनबादी, सामाजिक साम्राज्यवादी करार गरि विरोध गर्ने गरेको प्रसङ्ग कोट्याउदै लेखक गम्न पुग्छन् –;उत्पादनका साधनहरु माथी सामूहिक स्वामित्व, निशुल्क शिक्षा, निशुल्क आवास, निशुल्क स्वास्थ्य उपचार, रोजगारको पूर्ण ग्यारेन्टी, सुरक्षाको भरपर्दाे अबस्था, प्रसव तथा सुत्केरी खर्चको प्रबन्धको ब्यवस्था रहँदा रहँदै पनि यदि नेपालका बामपन्थी र कम्युनिस्ट पार्टीहरूले यस जमिनी यथार्थतालाइ संशोधनबादि, साम्राज्यबादी पुँजीवादीबाट आरोपित गर्दछन् भने आखिर समाजवाद भनेको के रहे छ?नेपालका कम्युनिस्ट पार्टीहरूले यो भन्दा कुन त्यस्तो उत्तम र उन्नत समाज ब्यवस्था चाहेका होलान् ?“..

     विद्यार्थी राजनीतिको प्रसङ्गमा लेखक पुनःगम्छ्न ;हिजोको समयमा जे भए पनि विद्यार्थीहरू सम सामयिक बिषयबस्तुमा मुद्दा  केन्द्रित छलफल गर्न रुचाउने,बौद्धिक बिमर्शमा जुट्न आह्वान गर्ने,नीति थिति,रिति र पद्धतिलाई अवलम्बन गर्ने, सैद्धान्तिकि ,बैचारिकि र दार्शनिकिमा स्पष्ट र सुझबुझ भएका,आफैमा अध्ययनशिल जुझारु र आलोचनात्मक चेतका आफ्नो माउ पार्टी नेतृत्वले गलत कामकारबाही गरेमा तत्काल नेतृत्वको गलत रबैया विरुद्ध सच्चिन र सच्याउन आह्वान गर्ने,  नेतृत्व क्षमताका विद्यार्थी नेतृत्व हुने गरेको तर आजकल केबल आफू सम्बद्ध पार्टी र मुख्य नेतृत्वले जतिसुकै गलत क्रियाकलाप गरे पनि चुं नबोल्ने,मुक र निरीह हुने,बिद्यार्थी राजनीति भन्दा ठेक्कापट्टा,बालुवा,डोजर, माफिया र तस्करहरु संग गलत साँठगाँठ, चन्दा अशुली, बिचौलिया धन्धामा लिप्त् हुने र नेतृत्वलाई अनावश्यक दबाब दिने हुल्लड र स्वाँठहरूको  जमातहरू बढ्नु बृहत् समाज निर्माणको स्वास्थ्यको लागि हानिकारक र गम्भीर चिन्ताको विषय हो भन्दै लेखकले  दुखेसो व्यक्त गरेका छन्।

  त्यसैगरी पुस्तकमा मस्को भ्रमणको सिलसिलामा दोस्रो विश्व युद्धमा कोसे ढुंगा साबित भएको “बित भा जा मस्कबु (ब्याटल फर मस्को) फिल्म त्यहाँको सिनेमा हलमा चलिरहेको अवस्थामा सो फिल्ममा सन १९४१ मा जर्मनी हिटलरको नेतृत्वमा आएको नाजी सेनाहरूले सोभियत भूमि कब्जा गर्दै रहेको अवस्थामा तत्कालीन सोभियत कम्युनिस्ट नेता स्टालिनले नाजी आक्रमणकारिहरुको विरुद्धमा सोभियत जनता, रेड आर्मी, आफ्ना सेनापती, नौसेनाका जबानहरु, कमान्डर र गुरिल्लाले साहस, बहादुरी,देशभक्ती र आत्मबलिदानको भावनाले डटि लड्न,नझुक्न,नदब्न र पछि नहट्न गरेको उत्प्रेरक भाषण र उर्दि पछि नाजी सेनालाई एक हप्तामै मस्कोबाट हार चखाउँदै धपाइएको क्षण,मानव इतिहासको त्यो गौरब गाथा,लेनिन पछि सोभियत समाजबाद निर्माणको कठिन र चुनौतीपूर्ण घडिमा स्टालिनले खेलेको नेतृत्वदायी भूमिका र  योगदानको बारेमा कदर गरेको देखाइएको, स्टालिनको  मृत्यु पछि सोभियत कम्युनिस्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभले व्यक्ति पूजाको विरोधको नाममा स्टालिनलाई तानाशाह घोषणा गर्दै उनका सालिक हटाइएको र शब समाधी स्थलबाट झिकिएको सन्दर्भको त्यस कटु तितो यथार्थबारे जान्न बुझ्न र कुत्कुत्याएको उत्सुक रहेको मनले पनि सो फिल्म हेर्न हौस्याएको थियो भन्दै त्यस रोचक अनुभूति लाई पनि लेखकले पुस्तकमा समेटेका छन् ।

  त्यसैगरी यसैगरी पुस्तकमा दोस्रो युद्ध पछि ध्वस्त भएका संरचनाहरु सफा गर्ने क्रममा एक अज्ञात सोभियत सेनाले एउटा भित्तामा “म मर्दैछु तर आत्मसमर्पण गर्दिन,अल बिदा मातृभूमि“भन्दै लेखेको हस्ताक्षरको अबस्था र पूर्वी जर्मनीले फांसिस्ट बिरोधि सुरक्षा पर्खाल र पश्चिम् जर्मनीले अपमानको पर्खालको  रुपमा अर्थ्याएको सन १९६१मा निर्माण भएको १५५ किमि लम्बाई भएको चर्चित बर्लिन पर्खालबारे पनि चर्चा पारिएको छ।

     त्यसैगरी पुस्तकमा रेड स्क्वायर स्थित सोभियत नेता लेनिनको पार्थिब शरीरलाई जतनसाथ राखिएको समाधी स्थल,२५० भन्दा बढी सोभियत युगका दरबार,मन्डप,फोहरा,भोस्टाक रकेट,सोभियत बिमानहरु,स्टालिनको समयमा निर्माण थालिएको ख्म्ल्ह् औद्योगिक,इन्जिनियरिङ,अन्तरीक्ष,आणविक, उर्जा, शिक्षा ,सोभियत संस्कृति, किसान र मजदुर जोडिएको प्रतिष्ठित मूर्ति, सन १९५७मा सम्पन्न बिश्व मेलाको लागि भेरा मुखरिन द्वारा डिजाइन गरिएको मूर्तिकला, मानब सभ्यताको अविश्वसनीय कला र समग्रमा रेड स्क्वायर विश्वमै अद्वितीय सुन्दर वास्तुकला, कौशल र सांस्कृतिक विविधताले भरिएको अनुपम दृष्यहरू दृश्यावलोकन गरेको क्षणलाई पनि लेखकले विशेष महत्वका साथ स्थान दिएका छन् ।

     त्यसै गरि पुस्तकमा एरेभानमा भाषा तयारीको अध्ययनको बर्षअबधिमा रुसि, युगोस्लाभीया,पोल्यान्ड,जापानी ,अमेरिकन,नर्वे, जर्मन, अर्जेन्टिना, फ्रान्स आदि देशका फिल्महरू रुसी भाषामा ड्रबिङ गरि हेर्ने गरिरहँदा भाषिक विकासमा टेवा मिलेको प्राय सम्पूर्ण फिल्म मा दोस्रो विश्व युद्धमा आफ्नो साढे २ करोड नागरिकहरू गुमाउनु परेको, घाइते अपाङ्ग, अनाथहरुको पीडा र  त्यसले पारेको सामाजिक, सांस्कृतिक,आर्थिक र ऐतिहासिक क्षेतीको चित्रण प्रस्तुत गरिएको हुने रसियन फिल्महरू प्राय युद्ध सम्बन्धी हुने गरेको पनि चर्चा गरेका छन् ।

     त्यसैगरी पुस्तकमा त्यहाँको सफा सुग्घर चिटिक्क परेको मेट्रो स्टेशनहरु, मार्बल र गेनाइट छापिएका भुइँ र भित्ताहरु, मेट्रो लाइन यातायात प्रणाली, सोभियत नेता स्टालिनले आफ्नो सोचलाई जीवन व्यवहारमा ल्याउन उत्कृष्ट डिजाइनरहरू र वास्तुकारलाई निम्त्याएको जसको फल स्वरुप सन १९३०को दशकमा सोभियत संघले हासिल गरेको अभूतपूर्व औद्योगिकरणको शीर्ष उपलब्धि मध्य एक रहेको भन्दै मेट्रो स्टेसन र यातायात प्रणाली सुदृढ हुनाको कारण र पृष्ठभूमिबारे  चर्चा गर्ने कोसिस गरिएको छ।

 त्यसैगरी पुस्तकमा इन्स्टिच्युटको तर्फबाट हिजो युवा अवस्थामा अत्यधिक रुचाइएको, प्रेरित र प्रभावित समेत भएको निकोलाइ आस्त्रोभस्किको उपन्यास“अग्निदिक्षा“मा आधारित फिल्म देखाउँदा शुरुमा निकै उत्सुक र जाँगरिलो भएको मन उपन्यासको पात्रहरू मध्य खुदै उपन्यासका लेखक निकोलाइ आस्त्रोभ्स्की र पाभेल कर्चागिनको अद्वितीय ब्यक्तित्व,मानबिय गुणहरु, दृढ इच्छा शक्ति, प्रतिकुल परिस्थितिमा पनि धैर्य र आत्मबलकासाथ बाँच्न सकेको सङ्घर्षपूर्ण जीवन कहानीले मन मस्तिष्कमा ती पात्रहरूको जुन छवि र ओज स्थापित भएको थियो तर फिल्ममा सो अनुसारको चरित्र चित्रण गर्नमा कन्जुस्याइँ गरिएकोले फिल्म समाप्ति पछि खिन्न मन भएको र उपन्यासका ती पात्रहरू निकोलाइ र पावेलको व्यक्तित्व निर्माण, संघर्षपूर्ण र कष्टसाध्य जिन्दगी, विलक्षणता र चरित्र अभिनयको भूमिकाको झल्झली याद आएको अनुभूतिलाई पनि लेखकले पुस्तकमा स्थान दिएका छन्।

     त्यसैगरी पुस्तकमा ईन्स्टिच्युटको तर्फबाट १९८७मा लेनिन जयन्तीको अवसरमा राखिएको कार्यक्रममा

 “लेनिन कहाँ छन्?

लेनिन खेतबारीमा छन्

लेनिन श्रमहरुमा छन्

लेनिन त्यहाँ जहाँ पसिनाहरु छन्

,लेनिन त्यहाँ जहाँ मानव द्वारा मानव शोषणको विरुद्धका संघर्षहरुमा छन्  शिर्षकमा कविता बाचन गरेको र पुरस्कृत समेत भएको,सबै विद्यार्थीहरूको होस्टेल जीवनको दिनचर्या परिवारबाट लामो समय सम्म बिछोडिनुपर्दाको ऐकान्तिकता, निरसपन,साथीहरूको मनोविज्ञान र जीवन आचरणका पक्षहरूबारे पनि लेखकले चर्चा गर्ने कोसिस गरेका छन् ,रोचक अनुभुति बाँडेका छन्।

     त्यसैगरी पुस्तकमा सोभियत कालमा युवाहरू उमेर पुग्ने बित्तिकै अनिवार्य सैन्य सेवामा जानुपर्ने र यसलाई मातृभूमि प्रति र देशभक्तिको दायित्व सम्झी खुशी मनका साथ दुई बर्ष सैन्य सेवा गरे पश्चात् पुनः पढाई चालू राख्ने गरेको, सोभियत परिक्षा प्रणाली नेपालमा जस्तो सबै परीक्षार्थीहरूको लागि एकनासको प्रश्न पत्र नभै जतिजना विद्यार्थी छन् सबैको लागि छुट्टाछुट्टै र अलगअलग रुपमा किताब भरिका पाठहरुको प्रश्नपत्र बनाएर राखिने हुँदा एकले अर्काको उत्तर नक्कल गर्ने सम्भावना शून्य रहने,उत्तर पुस्तिका बोकेर प्रोफेसरको सामुन्ने संबादमा जुट्नु पर्ने विद्यार्थीको मूल्याकंन त्यसैबाट हुने,शिक्षकले तत्काल प्राप्तांक र ग्रेड चढाइदिने हुँदा नेपालमा जस्तो रिजल्टका लागि महिनौँ कुर्न नपर्ने स्थिति र परिपाटीबारेमा पनि चर्चा गरिएको छ।

     त्यसैगरी पुस्तकमा सोभियत संघको स्थापना कालदेखिनै बिद्यार्थीहरुलाइ राष्ट्र निर्माणमा सरिक गराउने परम्परा रहेको र सन १९५९ मा आधिकारिक रुपमै बिद्यार्थीहरुलाइ निर्माण कार्यमा संलग्न गराउन थालिएको, सोभियत विश्वविद्यालयमा जुलाइ र अगस्ट २ महिना गृष्मकालीन छुट्टीमा निर्माणमा संलग्न हुँदा सो समय विद्यार्थीका लागि अतिरिक्त आय आर्जन गर्ने सुनौलो अवसरका रुपमा परिणत हुने त्यसक्रममा आफूहरुको साइटको निर्माण शिविरमा काम गरे बापत पाएको ९० रुबल ज्यालाले जुत्ता र ब्रिफकेस खरिद गरेकोमा ब्रिफकेस आजपर्यन्त  दुरुस्त रहेको प्रसङ्ग बोहोरालाई पनि समेटिएको छ।

त्यसैगरि पुस्तकमा दोस्रो बिश्वयुद्धताका लेनिनग्राडलाई हिटलरको नाजी सैनिकहरूले ८७२ दिन नाकाबन्दी गरि बमवारि  र आक्रमण गर्दा लेनिन ग्राडबासिहरुले दिनको १२५ ग्राम पाउरोटी खाइ आफ्नो शहर रक्षा गरेर सारा बिश्वलाइ त्याग,बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाएको, सो नाकाबन्दीमा ११ वर्षीय बालिकाले शुरु देखिनै डायरी लेखी सो कुरा रुसी भाषाको पुस्तकमा समेटिएको र सो डायरीमा रोग,भोक र शोकले मृत्यु भएका आफन्तहरूका नाम, मिति र सन्दर्भ  सामाग्रीलाई शृङ्खलाबद्ध कोरिएको रोचक  प्रसङ्ग व्यहोराबारे पनि अवगत गराइएको छ।

  यसैगरी पुस्तकमा लेखकले आफू  घुमफिरकै क्रममा विश्व प्रसिद्ध लेखक लियोटोल्सटायको जन्मस्थल यास्ताया पोल्यानामा पुगेको,रुसि भाषाकी शिक्षिका ओलेगा दमीत्रीयाम्ना संग दर्शन साहित्य,कला र  संस्कृतिबारे छलफल चलिरहदा स्टालिनलाइ हेर्ने दृष्टिकोणमा सोभियत संघमा विद्यमान बिकृती ,विसङ्गति र अराजकताको लागि स्टालिन अनुशासन आबश्यक रहेको भन्ने  आफूले राखेको मत प्रति खन्डन गर्दै र मत बझाउँदै शिक्षिकाले दमन र शक्तिको ध्वांस सामाजिक समस्याको समाधान नभई टोल्स्टोयको सरल जीवन र पवित्र उद्देश्यको चर्चा गरेको विषय प्रसङ्ग बोहोरालाई स्थान दिइएको छ।   त्यसैगरी पुस्तकमा रुसमा बिकसित अन्तरीक्ष प्रबिधि, युद्ध प्रबिधि, आणविक र परमाणु प्रबिधि, उर्जा,औद्योगिक,कृषि,खेलकुद, शिक्षा क्षेत्रहरूमा विश्वमै सर्वोच्च स्थान र उत्कृष्टता हासिल  गरेको तर सामान्य जनजिवनमा पार्ने उच्च गुण स्तरका उपभोग्य उपकरण र सामान उत्पादनको मामिलामा कम र अनदेखा गरेको, आफ्ना सबल पक्ष प्रति नजर अन्दाज र बाहिर देशका सबै सामान आकर्षक र राम्रा हुन्छन् भन्ने भ्रमको स्थापना र विकासको असन्तुलन नीति पनि सोभियत विघटन हुनाको कारण बन्न पुगेको धारणा व्यक्त गरेका छन् ।

    त्यसैगरी पुस्तकमा लेखकले आफू इन्जिनियरिङको विद्यार्थी भएकोले रुसमा दर्शनशास्त्रको विषय अनिवार्य पढ्नु पर्दा शुरु शुरुमा अमिल्दो र झिंझट जस्तो लागेकोमा बुझ्दै जाँदा दर्शनशास्त्र बिषय त स्वयं आफूलाई बुझ्न, दुनियाँलाई बुझ्न,जीवन जगतका गहिरा र फराकिला फाँटलाई नियाल्न, चियाउन कला तथा विज्ञान रहेको, मानसिक सकृयताको लागि आबश्यक खुराक रहेको गहिरो बोध गरेको कुरा समेत पाठक समेत बांडेका छन्।

  त्यसैगरी पुस्तकमा सोभियत संघको बसाइबाट आफूले धेरै कुरा सिक्ने मौका पाइएको,जीवन जगतलाई हेर्ने बिश्व दृष्टिकोणमा सही समझ राख्न, आफू र दुनियाँलाई बुझ्ने मामिलामा फराकिलो सोचको विकास भएको, इन्जिनियरिङको विद्यार्थी भै समय व्यवस्थापनको चुनौती भए पनि इतिहास, दर्शन,अर्थशास्त्र र जल्दाबल्दा राजनीतिक तथा सामाजिक व्यवस्थाहरूको सापेक्षिक अध्ययनले ज्ञानको क्षेत्र बिराट हुन पाएको र जसका कारण आफूले जिम्मेवारी पाएका सामाजिक व्यवस्थापनका क्षेत्रका कार्यहरूमा कुशलता र सफलतापूर्वक कार्य सम्पादन गर्न सकेको,सोभियत विश्व विद्यालयमा सयौ देशका विद्यार्थीहरू सँगको संगत, उठबस ,अन्तरकृयामा सहभागी हुँदा भिन्न संस्कृति,भाषा रहनसहन,मनोबिज्ञान संग साक्षात्कार भै बिश्व मानव सभ्यतालाई जाँचपडता गर्ने र नियाल्नमा हेक्का राख्ने क्षमताको वृद्धिको सुनौलो अवसर पाएको, पुँजीवादी र समाजवादी अर्थ राजनीतिका आयाम, ब्यबस्था र प्रणाली बारे सूक्ष्मरूपमा जान्न बुझ्न पाएको मार्क्सवादी दर्शन र त्यसको सारतत्व, सोभियत प्रयोगको इतिहासको साक्षी हुने मौका पाएको र समग्रमा आफ्नो ब्यक्तित्व बिकासमा सोभियत भूमि प्रति ऋणि र कृतज्ञता जाहेर गर्नुका साथै विदेशी विद्यार्थीहरूलाई आफ्नो भूमिमा आफ्नै भाइ छोराछोरी सम्झी बडो स्नेही,सहयोगी,सरल र सहज भावमा आफ्नो पेशा प्रति प्रतिबद्ध र पूर्ण समर्पणका साथ शिक्षित ,दिक्षित तुल्याउने भाषा शिक्षक शिक्षिका, प्रोफेसरहरुको सद्गुणी बर व्यबहार, सहपाठीहरु,कलेज र होस्टेल  प्रशासनका सदस्यहरूलाई समेत लेखकले विनम्र भावका साथ सम्झन पुगेका छन् ।संस्कारी चरित्र देखाएका छन् ।

    त्यसैगरी पुस्तकमा लेखकले इन्जिनियरिङको ६ बर्षे कोर्स सिध्याइ नेपाल फर्केको २८बर्ष पछि आफ्नो स्वप्निल संसार रुसमा सपरिवार सहित पुग्दा हिजो आफू त्यहाँ अध्ययनरत रहदाको अबस्था भन्दा भिन्दै परिवेश पाएको,नेपालमा छंदा लेनिन र स्टालिनका शालिकहरु ढालिएको खबरले दुखी हुने गरेका लेखक हिजो रुसमा रहदा यत्रतत्र देखिने लेनिनका शालिकहरु आज कहिकतै देख्दा पनि दुर्लभ जस्तो लाग्ने,हिजो रुसको सहरमा महिला,बालबालिका,अशक्त, वृद्ध अवस्थाका ब्यक्तिहरूलाई विशेष प्राथमिकता सम्मान र आदर गरेको देखेको आँखाले आज शुरुमै सडक पेटीमा गर्भवती महिलाले प्राण रक्षाको लागी माग्न बसेको दारुण दृश्य देख्नुपरेको, हिजो निर्भय, निस्फिक्री र सुरक्षित महसुस साथ हिड्ने रुसी शहर पेटिहरु आज पकेटमार र ठगहरूबाट जोगिएर, बचेर र सम्हालिएर हिड्नु पर्ने अवस्था सिर्जिएकोमा लेखक संबेदनसिल र भावुक हुन पुग्छन्।

  त्यसैगरी पुस्तकमा ट्राभल एजेन्सी मार्फतको रुस भ्रमण रहेकोले भ्रमण अबधिभर मस्को गाइडको ब्यबस्था भएकोमा सो गाइडले लेनिनको समाधि स्थल जाने भन्ने नेपाली टोलीको रुचि र इच्छा प्रति अनिच्छुक र अनादर गर्दै लेनिनलाई जर्मन द्वारा परिचालित दलाल र एजेन्ट भनी अर्थ्याएको, यस्तो बिचार राख्नेहरुको जमात रुसमा उल्लेख्य रहेको, सोभियत भूमिमा पढेर आएको पिँढीलाई यस भाष्यले सांच्चै आश्चर्यमा पार्न सक्ने भन्दै त्यस रोचक अनुभुतिलाई समेत लेखकले पुस्तकमा  समेटेका छन्।

  त्यसैगरि पुस्तकमा सन १९१७ देखि १९४५ का विभिन्न कालखण्डमा सोभियत भूमिमा त्यहाँका जनताले बगाएको पसिना,मिहिनेत,हिटलरको नेतृत्वका फांसिष्ट नाजी सैनिकहरुको आततायी बमवारी आक्रमणका बिरुद्ध सोभियत नेता स्टालिनको नेतृत्वमा देशभक्तिपूर्ण आन्दोलन,सौर्य,बिरता,बलिदानि,रगत र पसिनाले सिंचित एकीकृत,एकमना बलियो र सुदृढ सोभियत गणराज्य जहाँ प्रत्येक नागरिक भोलिको लागि निश्चिन्त भएर जन्मने मुलुक कसरी अनिश्चियको भुमरीमा तुवांलियो?विघटन हुनाको गुह्य कारण के के हुन? /

सोभियतकालका पछिल्ला १९७० र १९८० का दशकहरुमा देखापरेका केही सैद्धान्तिक बैचारिक ,आर्थिक स्खलनहरुको बारेमा लेखकले यसरी औल्याएका छन् जस्तैः 

१–परम्परागत समाजबादी अबधारणा अनुसार उत्पादनका स्रोत र साधन माथी सामुहिक स्वामित्वलाइ समाजबादको आर्थिक आधार मानिएता पनि समयक्रममा सोभियत राज्यको सम्पत्ति माथी जनताको नियन्त्रण दिनानुदिन कमजोर बन्दै गएको

२–बिज्ञान र अन्तरीक्षमा श्रेष्ठता हांसिल गरे पनि कालान्तरमा उत्पादनहरु बिश्व बजारको प्रतिस्पर्धामा उत्रिने गरि परिमार्जन हुन नसक्नु।

३–प्रतिरक्षा प्रबिधितर्फ बिश्व महाशक्तिमा परिणत देशमा नयाँ सोंच सहित प्रत्यक्ष उपभोग्य बस्तुहरुको उत्पादनमा नबिनतम मोडेलहरुको बिकास हुन नसक्नु।

४–अक्टोबर क्रान्ति,नयाँ ब्यबस्थाको प्रतिरक्षा,नयाँ आर्थिक क्रान्ति,देश ब्यापी बिद्धुतिकरण,कृषि क्रान्ति औद्योगिकरण,दोस्रो बिश्वयुद्द पछिको पुनर्निर्माण र अन्तरीक्ष सम्म्को यात्राले गर्दा थपिएकोमा त्यसले निरन्तरता नपाउनु।

५–सामुहिक स्वामित्वमा अपनत्व भाव पैदा गर्न नसक्दा मान्छेको निजात्मक चाह,जिन्दगी,स्वत्वको अर्थ र मनोबिज्ञानलाई बुझ्न कन्जुस्याइँ गर्नु।

६–समाजवादमा मान्छेलाई उत्प्रेरित गर्ने संयन्त्र कसरी चुस्त दुरुस्त राख्ने भन्ने कुरा ठूलो चुनौतीको बिषय

७–सामाजिक सन्निहित अंतर्विरोधको सहि परिचालन र समयानुकूल परिमार्जनको रिक्तता

८––हतियारको दौडमा ठूलो खर्च,असन्तुलित बजार,जातिय द्वन्द्व र अन्य समस्याका कारण सन १९००को उत्तरार्ध सम्म आर्थिक र राजनीतिक संकट चुलिदा सन १९८८– १९९१ सम्म केन्द्र र गणतन्त्र संघ बिच संबैधानिक द्वन्द्वहरुको परिणाम स्वरुप सोभियत संघ विघटनको चरणमा पुगेको हुन सक्ने लेखकको बुझाइ रहेको छ।

   त्यसैगरी पुस्तकमा सोभियत संघ विघटनको चरणमा पुगेपछि त्यहाँ झ्यांगिएको अराजकता,अब्यबस्था,अमानवीयता,अस्तब्यस्तता,असुविधा,असुरक्षा,अशान्त स्थिति,मुद्रास्फीति इत्यादिले गर्दा जनताको दैनिकिमा परेको अबस्था र कषटकर जीवनका विभिन्न आयामलाइ पनि लेखकले संस्मरण नियात्रामा समेट्ने प्रयास गरेका छन्।

   त्यसैगरी पुस्तकमा लेखकले नियन्त्रित अर्थ ब्यबस्थापनबाट गुज्रिरहेको सोभियत समाज बिगार्न बिदेशी बिद्यार्थीहरुको पनि धेरथोर भूमिका हुन सक्ने,बिदाको समयलाई सदुपयोग गर्दै आफू लगाएतका बिदेशी बिद्यार्थीहरु युरोपियन मुलुकहरुमा पुगि सस्तो र बिलासिताका सामानहरु रुसमा ल्याइ पर्दर्शन तथा बिक्रीवितरण गरि त्यहाँका स्वाभिमानी,आत्मनिर्भर सम्पन्न सोभियत जनताहरुमा बिदेशी चिजबस्तु र सामान प्रति हुरुक्क हुने मोह जगाइ दिनमा कहिंन कहिं आफूहरुको समेत भूमिका रहन गएको हुन सक्ने भन्दै  पछुताउ तथा समिक्षामा डुबेका छन्।

 साथै पुस्तकमा लेखकले दोस्रो बिश्वयुद्धमा सोभियत संघमा १७१० शहर,७० हजार भन्दा बढी गाउँ,करिब ३२ हजार औद्योगिक प्रतिष्ठान,ध्वस्त भएका ९८ हजार सामुहिक फार्म,१८७६ राज्य फार्म र २८९० मेसिन तथा ट्याक्टर स्टेशनहरु नष्ट भएका र साढे २ करोड भन्दा बढी मानवीय क्षति भएको त्यस अवस्थामा पनि दुरदर्शि योजना,इस्पातिलो नेतृत्व,अदम्य साहस,अथक मिहिनेत र सामुहिक प्रयासले छिटोभन्दा त्यो मुलुकको पुनर्निर्माण गरिएको र पुनर्निर्माणले अन्तरीक्ष सम्मको यात्रा तय गरेको,योजनाबद्द बिकासको अबधारणा अनुरुपनै सोभियत संघले बिश्वमा सबैभन्दा पहिले पंचबर्षिय योजना शुरु गरि यसको लक्ष्य हांसिल गर्न द्रुतका साथ औद्योगिकरण गरि सन १९३०को मध्यमा जर्मनी ग्रेट ब्रिटेन र फ्रान्सलाई उछिन्दै सोभियत युनियनले युरोपमा शिर्ष र बिश्वमा दोस्रो स्थान हांसिल गर्न सकेको,सोभियत सत्तालेनै साधारण मानिअहरुलाइ शिक्षा र उच्च संस्कृतिको लागि बाटो खोलिदिएको,,सशुल्क बिदा,८ घण्टे काम,निशुल्क आवास,निशुल्क औषधि उपचार,निशुल्क शिक्षा र सवैलाइ रोजगारीको ब्यबस्था,बिश्वमा सर्बप्रथम प्रसव र सुत्केरी बिदाको प्रबन्ध जस्ता सकारात्मक कदम र उपलब्धिबारे पनि लेखकले खुलेर प्रशंसा गरेका छन्।

  त्यसैगरी पुस्तकमा पछिल्लो समयमा मुख्यत सन १९८५ मा  मिखाइल गोर्भाभोभ सत्तामा आए पछि खुल्ला बजार अर्थतन्त्रलाइ भित्रयाए पछिको अबस्थामा त्यहाँको जनताको दैनिकी,सामाजिक सुरक्षा,शिक्षा,स्वास्थ्य,रोजगार,चालचलन,आचार बिचार,संस्कार ,संस्कृतिमा देखिएका बदलाव,असुरक्षितता,भय र अनिश्चिचयको जिन्दगीका अनेक पाटाहरुलाई लेखकले भुइँतहमा पुगि उधिन्ने प्रयास गरेका छन्।

  त्यसैगरी पुस्तकमा हिजो कुनैबेला रुसको भूमिमा विशेष अर्थ र महत्व बोकेका र त्यसले बिश्व राजनीतिक आन्दोलनमा टेवा पुर्याइ झक्झकाएका,जागरणको सन्देश बोकेका अक्टोबर क्रान्ति,मे दिबस,अन्तर्राष्ट्रिय नारी दिबस,बिजय दिवस,श्रमिक दिबसलाई विशेष चाडका रुपमा निकै धुमधाम साथ मनाउने गरिएकोमा आज मनाउन अनकनाउने र आलटाल गरिने प्रबृत्ति बढ्दै गएको,हिजो आफ्नो देशको बिकास,समृद्धि,सुशासन,स्थिरताका लागि त्यो देशका नायक र अभिभावक लेनिन र स्टालिनको उच्च सम्मान र श्रद्धा प्रकट गरि मृत्यु पश्चात् पनि सडक गल्लि र चोकहरुमा शालिक र प्रतिमा ठड्याइ श्रद्धा स्वरुप शिर झुकाएका,लेनिनको समाधिस्थल सामु घन्टौं लाइन लागि सम्मान जाहेर गरेका,बिदेशी पर्यटक भित्र्याइ नेतृत्वको नेतृत्व कौशलता,दुर दृष्टि चेत र अभिभावकिय भूमिकाको गाथा गाउन,इतिहासको सहि मूल्याकंन गर्न हौसिने त्यहाँको नेतृत्व र समाजले आज कसरी उनीहरुको भूमिकालाइ कम आंक्दै र अवमूल्यन गर्दै श्रद्धा पूर्वक बनाइएका शालिक र प्रतिमाहरु ढाली इतिहास प्रती निर्मम,कठोर,आग्रही अपमान र अनादरमा उत्रने कृतघ्न हर्कत गरेको छ भन्दै लेखक संबेदनसिल र भावुक बन्छन्

  त्यसैगरी पुस्तकमा लेखकले परिवर्तन संसारको नियम हो,यो ब्रह्माण्डमा सबैकुरा परिवर्तनशिल छ,मान्छेहरु आफू संग जे छ त्यसमा सन्तुष्ट नहुने प्राणी हो,अग्रगमनका लागि यो आबश्यक होला,लेनिन र लेनिनवाद संग सहमत हुनु नहुनु आ–आफ्नो राजनीतिक आस्थाको कुरा होला तर लेनिन र उनको देशले बिश्व इतिहासको परिवर्तन गरेको यथार्थतालाइ नकार्न मिल्दैन,लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति महान परिवर्तनकारी घटना भएको,बिचार र वाद प्रति बिमती जनाउने नाममा इतिहासलाई अस्विकार गर्ने कदमहरु अशोभनिय भएको,सोभियत मुलुकहरूमा प्रजातन्त्रको आगमन संगै हिजो हिटलरको नाजिबादी फांसिबादीहरु संग एकमत भै लडेकाहरु आज एक अर्का विरुद्ध ज्यानि दुश्मन करार गर्दै लड्नु ज्यादै दुःखको कुरा हो भन्दै लेखकले आपत्ति प्रकट गर्दै थप भन्छन् –कार्ल माक्र्स र लेनिनका ग्रन्थहरु मानव इतिहासका अमूल्य सृजनाहरु हुन् ।बुद्धका दर्शनहरु हाम्रो युगका सम्पदा हुन।गान्धीका आदर्शहरु सभ्यताका निधिहरु हुन।तीन माथी राजनीति गर्नुहुदैन।तिनले प्रतिबादन गरेका बिचारधाराहरु बिश्व सभ्यताका सम्पत्ति हुने बिचार प्रकट गरेका छन् ।र अन्त्यमा

   आजको चरम भौतिकी र ब्यस्त दुनियाँमा जतिसुकै जीवन ब्यबहारिक,ज्ञानबर्द्दक र बौद्धिक बिमर्शका बिषय सामाग्रीहरुनै किन नहोस् प्रस्तुतकर्ता वा वक्ताको कुरा सुन्न,गम्भीर स्रोता बन्न धैर्य,बिबेकी र सचेत मान्छे पाउनै मुश्किल परिरहेको सन्दर्भमा लेखकले आफ्ना निजात्मक अनुभव,भोगाइ र मनका गुम्फनहरु स्रोता तथा पाठकहरुलाइ सुनाइरहदा स्रोता तथा पाठकहरु वक्ता अथार्त प्रस्तुतकर्ताको बोली सुन्नमा कुनै अनकनाइ,झिंझट,बोर र हाइ कढाइ होईन निकै जांगरिलो भै वक्ताका कुरा सुन्नमा झनै उत्सुक,रुचि र जिज्ञासाका साथ अन्तिम समय सम्म उपस्थित हुन मन गर्छन् ।यसरी आफ्नो बोली र प्रस्तुतिबाट पाठकलाइ प्रभावित पार्न सक्नु र लठ्याइ राख्न सक्नुनै लेखकको लेखकीय खुबी रहेको छ।  जम्मामा पुस्तक पठनिय र सङ्ग्रहनिय छ।आउंदा दिनहरूमा लेखकको सिर्जनशिल मस्तिष्क मन्थनबाट रचनात्मक स्वभावको सुन्दर बच्चा जन्मन सकोस् जसलाई हामी सबैले माया तथा सद्भाव प्रकट गर्न सकौ।

लेखक लुम्बिनी प्रदेश प्रही कार्यालयमा कार्यत प्रहरी निरीक्षक रामबहादुर जिसी हुनुहुनछ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया