तुलसीपुर, ७ साउन । दाङमा पछिल्लो समय व्यवसायिक रुपमा गड्यौँला पाल्ने किसानहरुको संख्या बढ्दै गएको छ । बर्षातको समयमा रासायनिक मलको अभाव हुने र गड्याँैलाबाट उत्पादन हुने भर्मी कम्पोष्ट मल छिटो उत्पादन हुने भएकाले यो पेशाप्रति आकर्षित हुने कृषकहरुको संख्या बढिरहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलका अनुसार सुरुमा एकदुई जना किसानहरुले गड्यौला पाल्दै आएको भएपनि अहिले जिल्लामा सातआठ जनाले पाल्दै आएका छन् ।
तुलसीपुर ३ को भट्टे, घोराहीको वडा नंबर ३ लक्ष्मीपुर र ८ नंबर वडामा ,लमहीको सत्बरिया, दंगीशरणको रावतगाउँ र बंगलाचुलीको मुलाबारीमा गड्यौला पालेका छन् ।
सुरुमा घोराहीको वडा नंबर ८ मा रमेश वलीले पाल्नु भएको र विस्तारै अहिले यो संख्या बढ्दै गएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।
गड्यौलाबाट उत्पादित मलको प्रयोगले माटोको गुणस्तर राम्रो हुने भएकाले किसानहरु यसप्रति आकर्षित हुँदै गएका हुन् । यो मल प्रयोग गरेर उत्पादन गरिएका खाद्य वस्तुमा पनि हानिकारक विषादी प्रयोग नभएको र खानका लागि स्वस्थकर रहेकाले व्यावसायिक रुपमा गड्यौला पालक कृषकहरु बढिरहेका छन् ।
गड्यौला पाल्ने किसानहरुलाई कृषि ज्ञान केन्द्र दाङले अनुदान समेत दिदै आएको उहाँले बताउनुभयोे । गड्यौला पालक किसानकै लागि भनेर अनुदान नभएको तर किसानका लागि भनेर छेट्याइएको अनुदान गड्यौला पाल्ने किसानहरुलाई दिने गरेको बताउनु भयो ।
गतवर्षमा तुलसीपुरको भट्टेमा रहेको वली कृषि फमलाई भर्मी कम्पोष्ट मल उत्पालनका लागि टनेल निर्माणमा लागि अनुदान सहयोग गरेको उहाँको भनाई छ । मल बजारीकरणका लागि पनि कृषि ज्ञान केन्द्र दाङले सहयोग गरिरहेको पौडेलले बताउनु भयो ।।
दाङमा व्यवसायिक गड्यौँला पाल्ने किसानको संख्या बढ्दै
प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया