तुलसीपुर, ११ असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुरमा युवा सङ्गठन नेपाल पश्चिम दाङ जिल्ला समितिले ताला लगाएको छ । लघुवित्तले महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी निकट युवा सङ्गठन नेपाल पश्चिम दाङले जनाएको छ । लघुवित्त तुलसीपुरको तल्लो फिल्म हल नजिकै रहेको छ ।
ताला बन्दी पछि युवा संगठन नेपाल पश्चिम दाङद्वारा लघुवित्त वित्तीय संस्थालाई कारवाही किन भनी जारी गरिएको पत्रमा विशेष गरेर ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गर्ने गरेकाले , विविध कारणले ऋण लिएका महिलाहरूले ऋण चुक्ता गर्न नसकेमा उक्त समुहमा रहेका अन्य महिलाहरूले उसको ऋण चुक्ता गरिदिनुपर्ने , उनीहरूको मासिक बचत समेत फिर्ता नदिने गरेकाले , ऋण चुक्ता गर्न नसकेका महिलाहरूलाई तनाव दिदै विभिन्न गाली गालीगलौज गर्ने ,अपशब्द प्रयोग गर्ने , उनीहरूको घरमा ताला लगाउने घरबारविहीन बनाउने , डिप्रेसनदेखि आत्महत्यासम्म गर्न बाध्य बनाउने गरेकाले र सेवा शुल्क अधिकतम असुल गर्ने तथा अत्याधिक ब्याज असुल गर्ने गरेकाले लघुवित्त संस्थामा तालाबन्दी गर्नुपरेको सङ्गठनले जारी गरेको पत्रमार्फत स्पष्ट पारेको छ ।
यस्तै सङ्गठनले ग्रामीण लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गर्नुका साथै संस्थाको बोर्ड समेत फोडेको छ । तालाबन्दी गर्ने कार्यक्रममा युवा संगठन नेपालका नेताकार्यकर्ता तथा आम पीडित महिलाको सहभागिता रहेको सङ्गठनले जनाएको छ ।यता सङ्गठनका राप्ती ब्युरो इन्चार्ज जीवनी सीले लघुवित्त महिलाहरूमाथि आर्थिक रुपमा चरम शोषण गर्नेदेखि लिएर आत्महत्यासम्म बाध्य पार्ने खालका गतिविधि दिनानुदिन बढिरहेका बेला सांकेतिक रूपले कारवाही गरिएको बताउनुभयो ।
पहिलो चरणमा सांकेतिक कारवाही मात्र भएको बताउँदै ठगी धन्दामा लागेका लघुवित्त लगायतका वित्तीय संस्थाहरू नसच्चिए सबै लघुवित्त माथि निर्मम संघर्ष गरिने समेत चेतावनी दिनुभयो । सङ्गठनमा लघुवित्तबाट पीडित सयौँको सङ्गठनमा उजुरी परेको बताउँदै जीवनीले अबको आन्दोलन पीडितको पक्षमा हुने बताउनुभयो । सङ्गठनले आइतबार दिउँसो ताला लघुवित्तमा लगाएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।