तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाद्धारा गठित कार्यदलले अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विवादित कार्यसमितिलाई दैनिक कामकाजमा प्रतिवन्ध लगाएको छ । कार्यदलले संस्थाको आर्थिक रकम व्यक्तिगत प्रयोजनका लागि चलाउने अध्यक्ष चन्द्रकान्त खरेल, सचिव दशरथ वली र कोषाध्यक्ष केशबहादुर वलीलाई प्रशासनिक र दैनिक कामकाजमा प्रतिवन्ध लगाएको कार्यदलका संयोजक मानबहादुर रावतले जानकारी दिनुभयो । कार्यदलले प्रतिवेदन तयार पारेर नबुझाउँदासम्म दैनिक कामकाजमा प्रतिवन्ध लगाउनुका साथै कुनै वक्तव्यबाजी र मिडियाबाजी समेत नगर्न निर्देशन दिएको संयोजक रावतले बताउनुभयो ।
कार्यदलले तत्कालका लागि संस्थाका उपाध्यक्ष केशव सापकोटालाई प्रशासनिक कामकाज चलाउनका लागि जिम्मेवारी दिएको छ । आजदेखि छानबिनको काम सुरु गरेको कार्यदलले खोपानीमा ५ दिन देखि लागेको ताला खोलिएको छ भने आर्थिक सम्बन्धि सबै खातापाता प्रहरीको रोहवरमा मुचुल्का बनाएर नियन्त्रणमा लिइएको छ । कार्यदलले हिसाब किताब छानबिन गर्नुका साथै सर्वदलिय सर्वक्षीय छलफलबाट आएको रायसुझाबलाई समेत प्रतिवेदनमा समेट्ने भएको छ । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा तुलसीपुर उपमहानगरले आगामी कदम अघि बढाउने संयोजक रावतले बताउनुभयो ।
के भन्छन् उपभोक्ता ?
यता असार ६ गतेदेखि आन्दोलनरत उपभोक्ताहरुले सहमतिका आधारमा ताला खोल्न दिएको बताएका छन् । आर्थिक अपचलन गर्ने समितिका पदाधिकारीलाई तत्कालका लागि निलम्बन गर्ने र हिसाब किताब छानबिन गर्ने सहमतिमा ताला खोलेको आन्दोनको अगुवाई गरिरहनु भएका उपभोक्ता संगित बस्यालले जानकारी दिनुभयो । ताला खोलिएसंगै आजदेखि संस्थाको दैनिक कामकाज सुरु भएको छ ।
धारा जडान र खानेपानी महशुल वापत उपभोक्ताबाट संस्थामा जम्मा भएको रकम मध्यबाट अध्यक्ष खरेलले २ लाख ३५ हजार, कोषाध्यक्ष केशब बहादुर वलीले १५ लाख ५८हजार र दशरथ वलीले २ लाख ५६ हजार रुपैयाँ व्यक्तिगत प्रयोजनका लागि चलाएको भन्दै उपभोक्ताहरुले त्यसको विरोधमा गएको असार ६ गते ताला लगाएका थिए ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।