तुलसीपुर, ३ असार । बजेट नहालेको भन्दै आलोचना खेपिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले टरिगाउँ एयरपोर्ट बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले क्यानसँग समन्वय नगरेर प्रदेश सरकारले बजेट हाल्न नमिल्ने भएकाले टरिगाउँ एयरपोर्टमा बजेट नपरेको बताउनुभो । तर एयरपोर्टको कामका लागि क्यानसँग समन्वय गरेर सम्झौता प्रकृया अघि बढेको दाबी गर्नुभयो ।
‘यहाँ धेरै मान्छेहरूले एयरपोर्टमा बजेट हालेन । त्यो हालेन भनेर फेसबुकमा लेखिरहेका छन् । एयरपोर्टका विषयमा कसरी जाने भन्ने कुरा उनीहरूलाई थाह छैन । थाह नभएपछि फेसबुकमा लेखिरहन्छन् । यो भयो त्यो भयो भनेर । मैले बचन दिइसकेको छु । एयरपोर्ट बन्छ । ढुक्क हुनुस् ।’ मुख्यमन्त्री चौधरीले भन्नुभयो ।
अहिलेको बजेटमा सबैभन्दा प्राथामिकता युवा रोजगार र लोकल रक्सीको ब्रान्डिङ दिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री युवा रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई तालिम गरेको १५ दिनभित्रै काम गर्छौ भन्ने गरि वडाले प्रस्ताव लिएर आएमा वडा वडामा पैसा दिने बताउनुभयो । त्यसैगरी थारू, मगर लगायतका आदिवासी जनजातिहरूले घरमा बनाउँदै आएको अनदी र मौवाको रक्सीलाई ब्रान्डिङ गरेर करिब ३ लाख जनालाई रोजगारी दिने मुख्यमन्त्री चौधरीले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव अमर भण्डारीले गर्नुभएको थियो भने स्वागत पत्रकार गाेपाल शर्मा भट्टराइले गर्नु भएकाे थियाे ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।