पूर्वगृहमन्त्री खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा वैशाख २७ गते पक्राउ परेर हिरासतमा रहेका भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई आइतवार थप चार दिनका हिरासतमा राख्न काठमाण्डू जिल्ला अदालतले अनुमति दिएको छ । शनिवारदेखि लागु हुनेगरी सबैको हकमा चार दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डूका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताउनुभयो ।

सहन्यायाधिवक्ता न्यौपानेले आइतवार थप ११ जनाविरुद्ध प्रक्राउ पूर्जी जारी गरिएको समेत बताउनुभयो । खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे समेत अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । ठगी र सङ्गठित अपराध अन्तर्गतको मुद्दामा हेरिरहेका बताउँदै काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले अन्य कुनै मुद्दा शीर्षकहरू आकर्षित हुन्छ भने त्यो पनि बताउनुभयो । यस प्रकरणसँग सम्बन्धित एउटा अडिओमा देउवा पत्नी तथा सांसद आरजु राणालाई पनि रकम दिएको भन्ने सुनिन्छ ।।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया