२०८३ मङ्सिर १० गते बिहिवार

मालपोत कार्यालय तुलसीपुरमा छैन जग्गाधनी प्रमाण पुर्जा !

तुलसीपुर, १२ वैशाख । दाङ तुलसीपुरमा रहेको मालपोत कार्यालय तुलसीपुरमा जग्गाधनी प्रमाण पुर्जा सकिएको छ । गएको फागुन महिनाको अन्तिमतिर पुर्जा सकिएको मालपोत कार्यालय तुलसीपुरका निमित्त प्रमुख खिमराज शर्माले जानकारी दिनुभयो ।  जग्गाधनी प्रमाण पुर्जा सकिएको लामो समयसम्म भूमि व्यवस्था तथा अभिलेख विभागले पुर्जा नपठाएपछि जग्गा किनेर पास गर्नेहरूले जग्गाधनी प्रमाण पुर्जा पाउन सकेका छैनन् । विभागमा पटक पटक जानकारी गराएपनि कुनै सुनुवाइ नभएको निमित्त प्रमुख शर्माले बताउनुभयो ।

स्रेस्ता पुर्जा सकिएपछि  कार्यालयले मालपोत कार्यालय सल्यानबाट २ सय ५० , मालपोत कार्यालय लमहीबाट २ सय ५० र मालपोत कार्यालय घोराहीबाट एक सय समेत गरेर ५ सय थान पुर्जा लिएर काम चलाएको कार्यालयले बताएको छ । जग्गा किनेका करिब २ हजार पाँच सय जनाले स्रेस्ता पुर्जा (लाल पुर्जा ) पाउन सकेका छैनन् । कार्यालयमा दैनिक ५० भन्दा बढिले दैनिक जग्गा किनबेच गर्छन् ।

 २४ लाख रुपैयाँमा ८ कठ्ठा जग्गा किन्नु भएका तुलसीपुर उपमहानगरपालिका–३ निवासी वीरजंग वलीलाई हिजोआज रातमा निन्द्रा लाग्न छाडेको छ । जग्गा किनेको एक महिनासम्म जग्गाधनी प्रमाण पुर्जा नपाएपछि घरमा परिवारहरूले लालपुर्जा बिनाको जग्गा किनेको भन्दै गाली गर्न थालेको वलीले गुनासो गर्नुभयो । जग्गाधनी पुर्जा लिनका लागि वली एक महिनादेखि मालपोत कार्यालयमा धाउँदै आउनु भएको छ ।

यता निमित्त प्रमुख शर्माले पुर्जा सकिएपनि जग्गा किनबेचको काम भने नरोकिएको बताउनु भएको छ ।  बैकमा जग्गा धितो राख्नेलाई सेतो प्रमाण पुर्जा दिएर काम चलाउने गरेको बताउँदै शर्माले एक हप्ताभित्र आउने जानकारी पाएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।