तुलसीपुर, २९ बैशाख । दाङको तुलसीपुरमा नीति, योजना, कार्यक्रम र बजेटका सवालमा महिलाहरूका लागि नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । वडा र पालिकामा निर्माण गरिने निती तथा कार्यक्रम, योजना र बजेटका सवालमा वडा अध्यक्षहरूको दबदबा भइरहेका खबर आइरहदा महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो । तालिम अवधिभर स्थानीय सरकार सञ्चालन ऐन २०७४, अधिकार, काम कर्तव्य लगायतका विषयमा जानकारी पाएपछि महिला सभागीहरु उत्साहित भएका छन् । तालिममा सहभागि, तुलसीपुर उपमहानगरपालिका –१९की वडा सदस्य रेवती विक र वडा नं ७ की वडा सदस्य डिला विश्वकर्माले विगतमा आफूहरूले अघि सारेका योजनालाई पन्छाउने काम गरेको स्मरण गर्दै तालिमले पैरवी गर्ने क्षमताको विकास गरेको बताउनु भएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका– ८ का वडा अध्यक्ष तथा सुशासन समितिका संयोजक धर्मराज वलीले महिला सदस्यले प्रस्तावका रुपमा ल्याउने योजनालाई छलफलका माध्यमबाट कार्यान्वयनमा लैजान तयार भएको बताउँदै झगडा भन्दा पनि छलफलका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतले महिलाहरूले उठाउने हरेक सवालहरूमा सञ्चारको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।
३ दिन सम्म सञ्चालन भएको कार्यक्रममा १९ वटा वडा र विभिन्न समूहका समेत गरेर २२ जनाको सहभागिता रहेको थियो । साझेदारी विकास मञ्चको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली आयोजक संस्था साझेदारी विकास मञ्चका अध्यक्ष खेमराज विश्वकर्मा रहनु भएको थियो । कार्यक्रमको सहजीकरण नारायण लामिछाने गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।