तुलसीपुर ९ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सवलाई रोक्न निर्देशन दिनुभएको छ । मेला लाग्न करिब ६ दिन बाँकी रहँदा रेग्मीले यस्तो निर्देशन दिनुभएको हो । यूथ्स अफ क्लब तुलसीपुरले मंसिर १५ गतेदेखि २६ गतेसम्म महोत्सव सञ्चालनका लागि प्रचार प्रसारलाई तिव्र पारेको छ । तुलसीपुर उद्योगबाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाको पत्रलाई कोट गर्दै जिल्ला प्रशासन कार्यालय दाङले लेखेको पत्रमा मेला महोत्सव तत्काल रोक्न भनिएको छ ।
मंसिर ९ गतेको पत्र संख्या ०७९/०८० तथा चलानी नम्बर २६४६ को पत्र मार्फत रेग्मीेले मेला रोक्न निर्देशन दिनुभएको हो । व्यापारीहरुको छाता संगठन तुलसीपुर उद्योगबाणिज्य संघ र चेम्बर अफ कमर्सले चर्को विरोध गरेपछि जिल्ला प्रशासनले रोक्न आदेश दिएको हो । तुलसीपुर उद्योग बाणिज्य संघले गैर व्यापारीले व्यापारिक महोत्सव लगाउन नहुने भन्दै चर्को विरोध गरिरहेको छ । व्यापारीको अहितमा हुने मेलालाई कुनैपनि हालतमा लगाउन नदिने बताउँदै वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पूर्ण रुपमा रोक्ने बताउनुभयो ।
महोत्सव कुनैपनि हालतमा रोक्दैनौ : महोत्सव आयोजक यता महोत्सव मूल आयोजक संस्था यूथ्स अफ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरेले मेला कुनै पनि हालतमा लगाउने बताउनुभयो । महोत्सवको करिब ८० प्रतिशत काम पुरा भएको बताउँदै आफुहरु पछि नहट्ने बताउनुभयो ।
तुलसीपुर बजार कसैको एलौटी नभएको बताउँदै आधुनिक पुस्तकालय निर्माणका लागि संचालन गर्न लागेको मेला लगाएर छोड्ने बताउनुभयो । तुलसीपुरका ५, ६ नम्बर वडा र तुलसीपुर उपमहानगरपालिका र सिडीयो कार्यालयबाट समेत अनुमति लिएको बताउँदै राजश्व समेत एकलाख रुपैया तिरेकाले कसैले पनि रोक्न नसक्ने बताउनुभयो । तुलसीपर उपमहानगरपालिक–६ नम्बर वडाले साउन १ गते र ५ नम्बर वडाबाट कार्तिक १५ गते अनुमति पत्र लिएको अध्यक्ष लहरेले बताउनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।