२०८३ जेष्ठ २५ गते सोमवार

संंघिय व्यवस्था सहितको संविधानले जब स्थानीय सरकारको कल्पना गर्याे र केही निश्चित अधिकारको ग्यारेण्टी गर्याे । त्यतिबेला पक्कै पनि यो बुझिएकै बिषय थियो कि प्रत्येक भुगोलका आफ्नै विशेषता छन् । आफ्नै समस्या, चुनौती र आफ्नै अवसर छन् । यी कुराहरु एक अर्कामा मेल नखान सक्छन् । जस्तो कि कतै बाँदरको समस्या छ त कतै छाडा चौपायाको ।
अवसर पनि सोही बमोजिमले फरक हुन्छन् । आज काठमाण्डौको जस्तो समस्या रोल्पाको पालिकामा छैन र रोल्पाको जस्तो काठमाण्डौमा । कुरा यही होईन..? मानिलिऊँ आज काठमाण्डौमा वालेनको सडक खुल्ला बनाउन र पार्किङ व्यस्थापन गर्न अवैध भनिएका संरचना हटाउने अभियानले काठमाण्डौंले ठूलै राहत पाउला ।
यती मात्र कुरा पार्किङ व्यवस्थापनको उचित समाधान हो ? म यसो मान्दिन तर यत्ति चाहिँ अवस्य मान्छु कि कानुन मिचेर दादागिरी देखाउनेहरुलाई ठूलै सवक हो, यस मानेमा मेरो समर्थन छ ।
आउनुस् वालेनको कामको प्रशंसा नै गरौं तर उनको कामको प्रशंसा गर्दै गर्दा हामीले हिजो संघर्ष गरेर जसले आज यो काम गर्ने अवसर जुटायो त्यही दलिय व्यवस्था र तीनै दलप्रति धारे हात पार्दैछौं । के यो उचित हो ? अब दलिय व्यवस्थाको औचित्य नै समाप्त भएको हो..? अब स्वतन्त्रले नै सबै समाज हाँक्न सक्छन्..? यस्तो होईन, बरु यथार्थ के हो भन्दा कतिपय दलभित्रका राजनीतिक पात्रहरु विकृत मानसिकताले भरिएका छन् र उनीहरु जनभावना विपरित आफ्नो निहित स्वार्थमा आफ्नो दललाई प्रयोग गर्दैछन् ।

यस्ता केही खराब पात्रका कारणले राजनीतिप्रति आम मान्छेलाई घृणा जाग्ने स्थिति सृजना भएको हो । हो यस्ता दललाई समयमै चिनेर पाखा लगाउँदै संविधानको मर्म बमोजिम जनताको सुख चाहने, देशलाई सम्वृद्ध बनाउन संकल्प गर्ने, राष्ट्रियता जोगाउन हरबखत दरिलो अडान लिन सक्ने दल छान्न पर्ने अहिलेको आवश्यकता हो ।

हामी यसो पनि भन्दैछौं कि काठमाण्डौं कै मेयर सबै भन्दा अब्बल अरु सब निकम्मा । उनले उनको ठाउँको समस्या हल गर्ने प्रयास गर्दैछन् ठिक छ तर मोफसलका अरु पालिकाले पनि आआफ्नै समस्या आआफ्नै तरिकाले हल गरिराछन् यसको खोई त प्रचार वा प्रशंसा.? वालेनलाई काठमाण्डौमा अहिलेको समयमा शिक्षामा त्यति जोड दिनु पर्ने परिस्थिति छैन तर हाम्रो तिर यसको टड्कारो समस्या थियो र छ । अरु धेरै समस्याहरु पनि छन । तुलसीपुरले बहु प्राविधिक शिक्षालयको स्थापना गर्याे आज पनि त्यसमा गुणस्तरियता ल्याउन कामहरु भईरहेका छन् । खोई यसको प्रशंसा..? यहाँ त अँझ कता कता विरोध पो सुनिन्छ ।

के हाम्रो ध्यान भत्काकोले मात्र तान्न सक्छ..? निर्माणले उति सारो तान्न सक्दैन..? यही भनौं..? वा सामाजिक संजालको ट्रेन्डिङले हाम्रा अच्छा अच्छा बुद्धिमानहरुको पनि विश्लेषण क्षमतामा ह्रास आउन थालेछ भनौं..? तुलसीपुरले यस अघि नै अवैध संरचना हटाउने अभियान चलाको हो खोई यसको प्रशंसा वा समर्थन..? सार्वजनिक जमिन अतिक्रमण रोक्ने जवरजस्त अभियान चलेका हुन् खोई देखेको..? अँझै निरन्तरता पाउनेछन् । के मोफसलका कार्य चर्चामा रहन नसक्ने नै हुन्न ? मोफसलले हाम्रो धयान उति सारो तान्न सक्दैन, यो सत्य नै हो त..?

माधव वली तुलसीपुर उपमहानगरपालिका – १८ का वडा अध्यक्ष हुनुहुन्छ । 

 

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया