फेरि बढ्दै कोरोना संक्रमण,अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन

काठमान्डौ, ३ साउन । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ । पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये आधाभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । यसबाहेक भारतीय सीमानाकाबाट आउनेमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार एकै दिन ४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षणक्रममा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ ।

सरकारी अधिकारीका अनुसार भारतमा बढी संक्रामक मानिएको ओमिक्रोन सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हाल नेपालमा ‘बीए.२’ भेरिएन्ट विशेष गरी फैलिरहेको छ । नेपालमा वटामा ‘बीए.५’, ‘बीए.२’ र ‘बीए.१’ सब भेरिएन्ट देखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया