तुलसीपुर,५ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहते खोला स्थित बिर बहादुर बुढा मगरले विगत चार बर्षदेखि बंगुर पालन गर्दै आउनुभएको छ । सल्यानको कपुरकोट गाउँपालिका ९ रीम घर भई हाल गहते खोला स्थित जग्गा भाडा लिएर बंगुर पालन गर्दै आएको उहाँको भनाई छ । सुरुमा करिब १२ लाख लगानिमा बंगुर फर्म संञ्चालन गर्नुभएका मगरले हाल अहिले ४० वटा बंगुर पाल्नु भएको छ ।
नेपालमा धेरै युवा पैसा कमाउनका लागि विदेश जाने गरेको भएपनि आफु स्वदेशमै केहि गर्ने सोचका साथ सल्यानबाट तुलसीपुर झरेको बताउनुभयो । उहाँले भन्नुभयो,विहानै ४ बजे उठ्छु,र तुलसीपुर बसपार्क सम्म पुगेर बंगुरका लागि दाना खरिद गरेर ल्याउने गरेको छु । कहिले अटो–रिक्सामा त कहिले रिक्सामा बोकेर दाना ल्याउने गरेको बताउनुभयो । तर हिजो आज भने उहाँ पहिलेको जस्तो जागर नचलेको बताउनुभयो ।
बंगुर पालनमा चुनौति:
बंगुर पालन ब्यवसायमा अहिले आम्दानी भन्दा ठुलो चुनौति देखा परेको बताउनुभयो । सुरुमा बंगुर पालन गर्दा ब्यवसायिक रुपमा दुई, तीन जनाले मात्र पाल्दै आएका थिए । अहिले भने ब्यावसायिक बंगुर पालन फर्म सञ्चालन गर्नेको संख्या धेरै भएको बताउनुभयो । पहिले फर्म कम हुँदा माग बढी हुन्थ्यो र माग अनुसार व्यवसाय पनि राम्रै चल्यो, मगरले भन्नुभयो अब त माग भए पनि अहिले फर्महरुको संख्या धेरै भए , प्रतिस्पर्धाको जमाना छ । प्रतिस्पर्धा गर्न सक्नुपर्छ, पहिलेको जस्तो सजिलो छैन, अव अल्लि गाह्रै छ तर उन्नत जातका बंगुरहरु पाल्न सकियो भने त अहिले पनि फाइदा नै छ, उहाँले भन्नुभयो ।
उहाँका अनुसार बंगुरले बच्चा उत्पादन राम्रै गरेको भएपनि बेच्न समस्या छ । समयमा उत्पादन भएका बंगुरका पाठा विक्रि नहुँदा खोरेत रोगले समातेर यो वर्ष झण्डै अढाई लाख नोक्सान भयो, वास्तविक ब्यवसायिलाई राज्यले नचिन्दा विभिन्न समस्या भोग्नु परेको पिडा उहाँसँग छ । ब्यवसाय गर्दै जाँदा राज्यबाट सहुलिएत ऋण पाउँने आशा बोक्नु भएका उहाँले अहिलेसम्म नपाएको गुनासो गर्नुभयो । एकातिर समयमा उत्पादन भएका बंगुरका पाठा नबिकेर चिन्ता छ भने अर्को तिर राज्यबाट सहुलिएत ऋण पाईन्छ, भन्ने कुरा सुनेका बुढा मगरले अहिलेसम्म आफूले केही नपाउँदा बंगुर पालन व्यवसायप्रति निरास बन्नुभएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।