तुलसीपुर ३० जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको सामाजिक सेवा एकाइबाट झण्डै ८ हजार बढीले निःशुल्क रुपमा उपचार सेवा लिएका छन् । एक बर्षको अवधिमा जेष्ठ नागरिक, अति विपन्न, असहाय, अपाङ्गता भएका ७ हजार ८ सय ५१ जनाले निःशुल्क उपचार सेवा लिएको सामाजिक सेवा एकाइ प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो ।
जसअनुसार जेष्ठ नागरिक ३३३५, अति गरिब ४४७, अपाङ्ग १३२, लैङ्गिक हिंसा पिडित ७, महिला स्वास्थ्य स्वयमसेविका २९, थुनुवा ११, असहाय ३५, मृगौला पिडित २३, दम जन्य रोगका बिरामी ३५७२, द्धन्द्ध पिडित ४, प्राकृतिक प्रकोप १ जनाले उपचार सेवा लिएको एकाइले जनाएको छ ।
लक्षित समूहले आकस्मिक कक्षबाट ५ हजार, बहिरङ्ग सेवाबाट २५०० र अन्तरङ्ग सेवाबाट १०००० सम्मको औषधि उपचार र सेवा निशुल्क पाउने व्यवस्था रहेको छ । त्यसैगरी दमजन्य बिरामीको हकमा भने ५० हजार रुपैयाँ सम्मको उपचार सेवा पाउने व्यवस्था रहेको एकाइ प्रमुख पौडेलले बताउनुभयो । निःशुल्क उपचार सेवा लिनका लक्षित समूहले सम्बन्धित वडा र चिकित्सकको सिफारिस लिनुपर्ने हुन्छ । कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यले तुलसीपुुरमा २०७८ जेठ २८ गतेदेखि यो सेवा सुरु गरिएको हो । दमजन्य रोगको हकमा ५० हजार रुपैयाँ सम्म निःशुल्क उपचार सेवा हुन्छ भने बेबारिसको हकमा भने पुरै निःशुल्क उपचार गर्ने व्यवस्था रहेको छ ।
यी हुन निशुल्क उपचार पाउने लक्षित समूह
अस्पतालमा उपचार पाउनेहरु भने सरकारले तोकेको मापदण्डमा अनिवार्य पर्नुपर्ने छ । त्यसका लागि गरिब, असाहय, अपाङगता भएका व्यक्ति, लैङिगक हिंसा पीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य सवयम्सेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढी पहिरो र आगलागीबाट पिडित, शहिद परिवार, कूपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपउन्मुख, आदीबासी जनजाति हुनुपर्ने छ ।
उपचार गर्न आउँनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्ने छ । परिचय पत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । यसका लागि यस आर्थिक बर्षमा निशुल्क उपचारका लागि १० लाख बजेट विनियोजन भएको छ ।





