२०८३ जेष्ठ २५ गते सोमवार

वैशाख ३० नजिकिदै छ, देशभर चुनावी माहोल चर्किएको छ । विभिन्न राजनितिक दलका तर्फबाट विभिन्न पदमा उमेद्वारी दिएका उमेदवारहरुलाई घरघरमा पुगी आफ्ना मतदातालाई भेट्न, विभिन्न ठाउँमा हुने चुनावी सभामा आफ्ना एजेण्डा, योजनाहरु सुनाउन भ्याइ नभ्याइ छ । त्यसैगरी मतदाताहरुलाई पनि छिन छिनमा आफ्नो घर आँगन आइपुग्ने विभिन्न राजनितिक दलका उमेद्वारहरुका घोषणा पत्र, प्रतिबद्धता पत्र, अपिलहरु समात्न, नमस्कार लिन भ्याइ नभ्याइ छ । निर्वाचनको मिति नजिकिए संगै बजारहरु सुनसान हुँदैछन् भने गाउँहरु गुञ्जायमान हुँदैछन् । बालक देखि बृद्ध सम्मले एकदमै चासाको रुपमा यो निर्वाचनलाई लिएका छन् । एकातर्फ ५ दलिय गठबन्धन एक ठाउँबाट चुनावी मैदानमा उत्रिएको छ भने अर्को तर्फ नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

यसैबिचमा पनि मतदाताहरुका विभिन्न किसिमका बिचारहरु बाहिर आइरहेका छन्, स्थानिय तहको निर्वाचन भनेको स्थानिय स्तरमा भिजेको , सबै समस्याहरु संग जुधेको, जन जनसंग घुलमिल गर्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्छ, अहिलेको समय भनेको पार्टी हेर्ने समय होइन यसमा त व्यक्ति हेर्ने हो । त्यसैगरी केहि मतदाताहरु भने आफ्नो लामो समय देखि लगानी यहि पार्टि मै छ भन्दै आफ्नो पार्टिको उमेद्वारलाई जिताउन लागी परेको देख्न सकिन्छ ।
राजनितिक दलहरुले उमेद्वारको नाम सिफारिस गर्नुभन्दा पहिले देखिनै ध्यानाकर्षण गराउदै आइरहेका महिला अधिकारकर्मिहरुको आवाजलाई वेवास्ता गर्दै ठुला भनिएका राजनितिक दलहरुले नै यस पटकको निर्वाचनमा महिलाहरुलाई अर्थपुर्ण सहभागिता गराउन कञ्जुस्याइ गरेका छन् । दाङका मुख्य पालिकाहरु घोराही, तुलसीपुर र लमहीमा नै पाँच दलिय गठबन्धनले प्रमुख र उपप्रमुख दुबै पदमा नै पुरुष उमेद्वारहरुलाई अघि सारेको छ ।
उसो त नेकपा एमालेले पनि कुनै पनि पालिकामा प्रमुख पदमा महिला उमेद्वारहरु छैनन् । खालि नै हुनुभन्दा थोरै भए पनि छ भनेर चित्त बुझाउनुपर्ने अवस्था भने छ । यस पटक दाङका दश पालिकामा प्रमुख र उपप्रमुख पदमा विभिन्न राजनितिक दलका ५७ जना महिलाले प्रतिष्पर्धा गर्ने भएका छन् । जसमध्ये ८ जनाले प्रमुख र ४९ जनाले उपप्रमुख पदका लागि उमेद्वारी दिएर चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
सम्बन्धित पक्षका समस्या, भोगाई, इच्छा, आकांक्षा, सम्बन्धित पक्षले नै बुझ्न र त्यस माथी न्याय गर्न सक्छ । यो हामी सबैलाई थाहा छ र महशुस पनि गरिनै रहेका छौं भन्दै महिला अधिकारकर्मि पनि यस पटकको निर्वाचनमा धेरै जसो राजनितिक दलहरुले महिलाहरुलाई अवसर नदिएको गुनासो गर्दै यस विषयमा गम्भिर रुपमा ध्यानाकर्षण गराइरहेका समाचारहरु पनि बाहिर आइरहेका छन् ।

आन्दोलन, ध्यानाकर्षण र दबाब दिनका लागि जुनसुकै राजनितिक दलप्रति आस्था राख्ने भएपनि महिलाहरु एक ठाउँमा उभिएर लागिपरेको विगत देखिको अवस्थालाई अब चरितार्थ गर्नका लागि निर्वाचनको बेलामा पनि सम्पुर्ण महिला मतदाताहरु पनि एक भएर आफ्नो पालिका र वडामा उमेद्वार भएका सक्षम, विकासप्रेमी, इमान्दार, समाज बुझेका , प्रविधि जानेका महिलाहरुलाई आफ्नो मत दिएर विजयी बनाउनुपर्ने आजको आवश्यकता हो ।

एक पटकको निर्वाचनमा हामी महिला मतदाताहरुले सक्षम महिला उमेदवारलाई विजयी बनायौं भने मात्र हाम्रा समस्याहरुको सुनुवाई हुन सक्छ । अन्य मुलुकमा महिलाहरुले राष्ट्र नै हाँक्ने अवस्था आइसक्दा पनि हामी उमेद्वारी सिफारिसका लागि दबाब सृजना गर्नुपर्ने अवस्था मै छौं ।

विभिन्न क्षेत्रमा नेतृत्व सम्हालेका महिलाहरुले इमान्दारपुर्वक आफ्नो पदलाई न्याय गरेको र नगन्य मात्रामा मात्र उनीहरु असफल भएका उदाहरणहरु हामी माझ छन् । अहिलेको अवस्थामा हामी महिलाहरुले कुनै पनि राजनितिक दलको भन्दा पनि काम गर्न सक्ने महिला उमेद्वारलाई एकजुट भएर विजयी बनाउन सक्यौं भने मात्र आगामी दिनमा हाम्रा मुद्दाहरुको सुुनुवाई र समाधानमा सहजता आउन सक्छ ।

राज्यका निर्णायक तह तथा सार्वजनिक नीति निर्माण तहमा महिलाको सहभागिता बढाएमा उनीहरुको व्यक्तित्व विकास हुनुका साथै नेतृत्व सीप विकास हुन्छ, आत्मसम्मान र आत्मविश्वास बढ्छ । जसका लागी राज्यका हरेका क्षेत्रमा महिलाहरुको सहभागीता संख्यात्मक नभई अर्थपुर्ण बनाउनका लागी सक्षम महिला उमेद्वारलाई विजयी बनाउनु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया