तुलसीपुर, २२ कात्तिक । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लाण्ट तथा रिफिलिङ संचालनमा आएको छ । डेढ करोड लगानीमा अक्सिजन प्लाण्टको निर्माण कार्य सम्पन्न भएपछि संचालनमा आएको हो । अक्सिजन प्लाण्ट संचालनमा आएसंगै अक्सिज उत्पादनको कार्य पनि सुरु भएको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिनुभयो ।
हिजोआज अस्पतालमा दैनिक ७५ वटा सिलिण्डर उत्पादन हुँदै आएको छ । अक्सिजन उत्पादन सुरु भएपछि तत्कालका लागि अस्पतालाई आवश्यक पर्ने अक्सिजन प्रायाप्त भएको अस्पतालले जनाएको छ । कोभिडलाई लक्षित गरेर अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि अब अस्पतालका लागि आवश्य पर्ने अक्सिजनका लागि आर्थिक व्ययभार पनि कम भएको छ ।
अक्सिजन उत्पादन भएपछि अस्पतालमा मासिक करिब ३ लाख रुपैयाँको व्ययभार कम भएको मेसु डा. सिंहले बताउनुभयो । यस अघि अस्पतालमा आवश्यक पर्ने करिब १० वटा अक्सिजन सिलिण्डर बाहिरबाट खरिद गरेर काम चलाउनु पर्ने बाध्यता थियो । अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड महामारीको समयमा पनि बिरामीहरुको सहजै उपचार गर्नसकिने अस्पतालले बताएको छ ।
विगतको आँकडालाई हेर्दा तुलसीपुरमा क्षेत्रमा दैनिक साढे तीनसय अक्सिजन सिलिण्डर आवश्यक पर्छ । यद्यपी यसले महामारीको समया धेरै सहयोग पुग्ने अस्पतालले बताएको छ । २०७८ जेठ जेठ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सहित १२ वटा अस्पतालका लागि १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो ।
अक्सिज अभावमा कोरोना संक्रमित बिरामीको धमाधम मृत्यु हुन थालेपछि कोभिड –१९ को रोकथाम, उपचार तथा नियन्त्रण गर्न सबै उपाय अबलम्बन गर्ने नीति अनुरुप देशका अधिकांस अस्पतालमा अक्सिजन प्लाण्ट, पाइप लाइन, एचडियु जडानका लागि अर्थ मन्त्रालयले बजेटको सूनिश्चितता गरेको थियो । यसैबिच अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षेमताको अर्को अक्सिजन प्लाण्टको निर्माण कार्य पनि सुरु भएको छ । क्यानाडा सरकारको सहयोगमा तथा नेपाल रेडक्रस दाङको समन्वयमा उक्त अक्सिजन प्लाण्टको निर्माण कार्य सुरु भएको हो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।