तुलसीपुर मेट्रो अस्पतालको उद्घाटन, अन्य बिरामीको पनि उपचार गरिने

तुलसीपुर, ११ असोज । तुलसीपुर मेट्रो अस्पतालमा बहिरंग(ओपिडी) सेवा सुरु भएको छ । गत बैशाख २७ गतेदेखि संचालनमा आएको अक्सिजन सहितको ५० बेडको कोरोना अस्पतालमा कोभिडका बिरामीको संख्या सून्यमा झरेपछि सोमबारदेखि कोरोना संक्रमितका बिरामी बाह्यकका अन्य सेवा सुचारु गरिएको हो । ओपिडी सेवाको तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै सकसपूर्ण अवस्थामा स्थापना भएको अस्पतालाई थप सुविधा सम्पन्न गराउने गरी तुलसीपुर उपमहानगरपालिकाले प्रकृया अघि बढाएको बताउनुभयो । तुलसीपुरलाई हेल्थसिटीको रुपमा विकास गर्ने बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि उपचारका सेवा र विशषज्ञ सेवामा पनि विस्तार गरिने बताउनुभयो ।
नेपालमै पहिलोपटक तुलसीपुर उपमहानगरपालिकाले ५० बेडको अस्पताल संचालनमा ल्याएर कोरोना संक्रमित बिरामीको उपचारगरी नागरिकको ज्यान बचाएको भन्दै नगर प्रमुख पाण्डेले सहयोगीदाता सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, एमालेका नगर इन्चार्ज केशव सापकोटा, नेकपा माओवादी नगर कमीटी अध्यक्ष खुशीराम चौधरीले कोरोना महामारीको समयमा स्थापना भएको अस्पतालले नगरबासीलाई उपचारमा सहजता ल्याएको प्रति प्रशंसा व्यक्त गर्दै तुलसीपुरको गौरबका रुपमा रहेको तुलसीपुर मेट्रो अस्पताललाई आधुनिक तथा सुविधा सम्पन्न गराउनकालागि पार्टीको तर्फबाट पहल गर्ने बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछाने, उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने, जग्गादाता अभिसेक प्रताप शाह, मेट्रो अस्पताका प्रमुख डा.प्रकाश साहु, प्रादेशिक चिकित्सालय बिजौरीका निमित्त प्रमुख डा. महेश खनाल, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका सदस्य जानका रेग्मी, पत्रकार यज्ञ बुढा, लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविर संचालन
यसैबिच उद्घाटन कार्यक्रमको अवसर पारेर अस्पतालमा निशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरिएको थियो । स्वास्थ्य शिबिरमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा युवासमेत गरेर ३ सय १२ जनाले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालले चेकजाँच, एक्सरे, ल्याब र औषधी निशुल्क प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया