स्वीकृत ५० बेड, संचालन ९५

नाम अनुसार दुईसय बेडको हुनुपर्छ : मेसु डा.शर्मा

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ५० बेडको भएपनि ९५ बेडमा संचालन भइरहेको छ । बिरामीको चापका कारण अस्पतालको निजी स्रोतबाट ९५ बेडमा संचालन भइरहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।  अंचल अस्पतालबाट वृद्धि भएर राप्ती प्रादेशिक अस्पतालमा स्तर उन्नति भएपनि नाम अनुसार दरवन्दी र थप बेडको स्वीकृत नहुँदा सोचे अनुसार उपचारमा प्रगति हुन सकेको छैन् । यद्यपी तत्कालिन राप्ती अंचल अस्पताल हुँदा कायम भएको दरवन्दी र बेडको संख्या झण्डै दुई बर्षसम्म पनि उस्तै छ । विशिष्ट सेवा दिने उद्देश्यले २०७५ पुष २६ गते अंचल अस्पतालाई प्रादेशिक अस्पतालका रुपमा स्तर वृद्धि गरिएको थियो ।

दुईसय बेड हुनुपर्छ :डा.शर्मा
‘आएका बिरामीलाई ठाउँ छैन भन्नु भएन । उपचार गर्नु प¥यो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले भने –‘अस्पतालको आफ्नै स्रोत र साधनले भ्याएसम्म उपचार सेवा दिइरहेका छौ ।’  थोरै जनशक्तिबाट धेरैको उपचार गर्दा अपेक्षाकृत रुपमा सेवामा कुनैन कुनै ठाउँमा समस्या पर्न सक्ने भन्दै डा. शर्माले यसका लागि अस्पताललाई कम्तिमा दुईसय बेड र सोही अनुसारको दरवन्दी हुनुपर्ने बताए ।

अहिलेको बिरामीको चाप अनुसार भौतिक पूर्वाधार, जनशक्ति, आधुनिक उपकरण, बेडको वृद्धि लगाएतका महत्वपूर्ण विषयमा जोडदिनुपर्ने अस्पतालले बताएको छ । अस्पतालमा ढाडको बाह्यक सबै प्रकारको सामान्यदेखि जटिल प्रकृतिको अप्रेशन गर्न सक्ने जनशक्ति रहेको छ ।
‘आईसीयु थियो त्यसलाई अहिले कोरोना अस्पतालमा सुचारु गरेका छौ सिटी स्क्यान मेसिन पनि दशै र तिहारको बिचमै सुरु गर्ने तयारीमा छौ । अस्पतालको भौतिका संरचना पनि अब निर्माणको तयारीमा छ,’डा. शर्माले भने –‘डाक्टरहरु बस्ने क्वाटर बनिसेको छ ।

अब दरवन्दी र बेडको संख्या बढाउनु प¥यो । जिल्ला अस्पताल जस्तो बनाउनु भएन ।’ अप्रयाप्त जनशक्ति भएपनि बिशिष्ट सेवा दिइरहेको डा. शर्माले दाबी गरे ।

उपचारमा समस्या छैन् : अध्यक्ष न्यौपाने
पुरानै दरवन्दी अनुसार जनशक्तिको कोटा पुरा नभएपनि उपचारमा कुनै समस्या नभएको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए । ‘स्वभाविकैले बिरामीको चाप पर्दा थोरै जनशक्तिले काम गर्दा असहज त हुन्छ नै,’ अध्यक्ष न्यौपानेले भने– ‘हाम्रा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवामुखी भावनाका कारण हामीले डब्लुएचओको मापदण्ड भन्दा बढी बिरामीलाई सेवा दिने गरेका छौ ।’

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया