
तुलसीपुर २७ असोज /तुलसीपुर क्षेत्रका आयुर्वेद चिकित्सकहरुले सिफारिस गरेको निरोगिताको प्रमाण–पत्रलाई यातायात व्यवस्था कार्यालय तुलसीपुरले मान्यता नदिएर अधिकार खोसेको गुनासो गरेका छन् । कार्यालय स्थापना भएदेखि नै आफुहरुले दिएको निरोगिताको प्रमाणपत्रले काम गरेपनि हाल आएर आयुर्वेद चिकित्सकले दिएको प्रमाण–पत्रलाई यातायात व्यवस्था कार्यालयले मान्यता नदिएर अन्याय गरेको आयुर्वेद चिकित्सक डा. मुरली मनोहर रौनियारले बताए ।
सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाण–पत्र यातायात व्यवस्था कार्यालयमा दिएमा मात्र चालक अनुमति–पत्र (लाईसेन्स) प्राप्त गर्ने तथा नविकरण गर्न पाउने कानुनी व्यवस्था छ । ‘हामी पनि सरकारद्धारा मान्यता प्राप्त डाक्टर हौ । कि हामीहरुलाई तिमिहरु मान्यता प्राप्त होईनौ भन्नुप¥यो,’ डा. रौनियारले भने –‘ के हामी डाक्टर भएर पनि अब पसलमा निरोगिताको प्रमाण–पत्र पाइन्छ भनेर लेखेको ठाउँमा गएर अल्लारे केटाले दिएको प्रमाण–पत्र लगेर जाने ?’
३४ बर्ष चिकित्सा क्षेत्रमा काम गरेको बताउँदै सिफारिस गरेर पैसा कमाउनु भन्दा पनि अधिकार र प्रतिष्ठाको लडाई भएको डा. रौनियारले बताए । ‘यतायात व्यवस्था ऐनमा नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकले निरोगिताको प्रमाणपत्र दिन पाउने छ भनेर लेखेको छ ,’ हामी पनि सरकाबाट मान्यता प्राप्त चिकित्सक हम,’ आयुर्वेद डा. सन्तोष खनालले भने –‘ हामीलाई पनि काउन्सीलले निरोगिलाई निरोगिताको प्रमाण–पत्र प्रेषण गर्न मिल्ने भनेर दिएको छ ।’
चिकित्सक भएर रोगीलाई रोगी र निरोगीलाई निरोगी नै भन्न नपाईने कानुनी व्यवस्था नेपालमा अहिलेसम्मभएको दाबी गर्दै चिकित्सकहरुले यो दाङको मात्रै भन्दा पनि नेपालभरीकै बिएमएस डाक्टरहरुको समस्या भएको बताएका छन् । यस क्षेत्रका आयुर्वेद चिकित्सकहरुले यातायात व्यवस्था कार्यालय तुलसीपुर मार्फत यातायात व्यवस्था विभाग, नेपाल आयुर्वेद चिकित्सा परिषद र नेपाल आयुर्वेद चिकित्सक संघमा ज्ञापन–पत्र बुझाएर यसको जानकारी गराउने तयारी गरेको छ ।
के भन्छ यातायात कार्यालय ?
कार्यालयका प्रमुख रबिन्द्र केसी
यता यातायात व्यवस्था कार्यालय तुलसीपुरले यातायात व्यवस्थापनको कार्यविधिलाई टेकेर अघि बढेको बताएको छ । विगतमा कार्यालय कसरी चलेको थियो त्यो आफुलाई थाहा नभएको बताउँदै कार्यालयका प्रमुख रबिन्द्र केसीले कार्यविधि अनुसार नै अघि बढेको जानकारी दिनुभयो ।
‘यातायात व्यवस्थापन कार्यविधि २०७४ को निरोगिताको प्रमाण–पत्रको व्यवस्थामा नेपाल मेडिकल काउन्सीलमा आवद्ध भएका चिकित्सकले मात्रै दिनसक्ने व्यवस्था छ ,’ कार्यालय प्रमुख केसीले भने –‘अनि कसरी सकिन्छ नेपाल आयुर्वेद मेडिकल काउन्सीलमा आवद्ध भएका चिकित्सकले दिएको पत्रलाइ मान्न ?’
चिकित्सकहरुले निवेदन दिएमा विभागमा पहल गर्ने केसीले बताए । यातायात ऐनको अनुसूचि १८ को ढाँचामा सरकारद्धारा मान्यता प्राप्त चिकित्सक भने पनि सिफारिसमा नेपाल मेडिकल काउन्सीलको नम्बर र चिकित्सको नाम उल्लेख गरेर निरोगिताको प्रमाण–पत्रको सिफारिस गर्न सक्ने व्यवस्था भएपछि विवाद देखिएको हो ।