अनुगमन टोलीद्धारा तुलसीपुरका दुई स्टोरबाट सामान जफत

तुलसीपुर, ३ असोज । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेको अघुवाई तथा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको समन्वयमा शुक्रवार तुलसीपुर बजारका विभिन्न उद्योग तथा पसलमा अनुगमन गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक योगेन्द्र कुमार पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले तुलसीपुर सल्यानरोड स्थित रुवी स्टोर र विजय स्टोरमा पनि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा रुवी स्टोरले धेरै विक्रि गरी थोरै आम्दानी देखाएको भन्दै १५ दिन भित्र सुधार गर्न निर्देशन दिईएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले जानकारी दिएकी छिन् । साथै उक्त स्टोरले नियम विपरित जाईफल विक्रि गरेको भन्दै एक प्याकेट जफत गरिएको छ । उनका अनुसार विजय स्टोरमा म्याद नाघेका खानेतेल फेला परेको छ । म्याद नाघेका ५ सय लिटर तेल बरामद गरिएको बताईएको छ ।

यस्तैगरी तुलसीपुर ५ स्थित रिजाल बन्धु तेल उद्योगमा खानीतेलमा चेकजाँच गर्दा नापतौल र गुणस्तर कम भएको पाईएको छ । चिरञ्जिवि रिजालले सन्चालन गरेको उद्योगको नवीकरण नभएको समेत पाईएको छ । उद्योगमा कमी कमजोरी फेला पारेपछि अनुगमन टोलीले आगामी दिनमा सुधार गर्न सुझाव समेत दिएको छ भने उत्पादन बस्तुमा परिमाण र गुणस्तर कम भएकाले उद्योगलाई दुई लाख जरिवाना समेत गरिएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका संयोजक पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया