थम्मन निर्दोषी बस्नेत

मेरो आधुनिकता 

नया युगको थालानी हुनु भनेको पुराना बिचारहरुमा परिवर्तन भएर नया बिचारहरुको प्रयोग हुनु हो। पुरानो बिचारहरुको समाप्ति सङ्गै हाम्रा आनिबानी, रहनसहन, रितिरिवाज, धर्म संस्कृति र परम्पराहरु बदल्नुलाई आधुनिकता मानेको जस्तो लाग्दछ। भाषा र भेषको मौलिकतालाई भुलेर सभ्यताको तराजुमा राख्नुलाई पनि आधुनिकता माने जस्तो लाग्द्छ। यदि यो बुझाईलाई सत्य मान्ने हो भने हरेक युगको समाप्ति सङ्गै सुरु भएका प्रत्येक युगहरु आफैमा आधुनिक युग हुन भन्दा अतिशयोक्ती नहोला। हाम्रा पुर्बजहरुले गरेको अनुभव, उनीहरुले थालनी गरेका सम्पूर्ण परम्पराहरु सबै उनीहरुको समयका लागि आधुनिक युगको प्रयोग र थालनी भएको मान्न सकिन्छ। मेरो बुझाइमा एउटा निश्चित समयको दौरान सम्म पनि ती चाल चलन अनि परम्पराहरु एकै नासले चलिरहदैनन।

Advertisement

आभाषै नहुने ढङ्गले त्यहा फरक पन आइरहेको हुन्छ। जब हामीले प्राचीन सभ्यतामा परिवर्तन आएको महशुस गर्द्छौ तब सम्म पुस्तान्तरको झिल्काले पकडिसकेको हुन्छ। अनि पछिल्लो पुस्ताले परिवर्तित परम्पराहरुको स्वागत र सम्मान गर्दै थोरै थोरै मात्रामा भए पनि आफुलाई सोहि अनुरुप परिमार्जन गरेर नया युगको थालनी हुनमा योगदान गरिरहेको देख्न सकिन्छ। पृथ्वीले अस्तित्व ग्रहण गरे पश्च्यात मानव अस्तित्वको बिषयमा बिज्ञान र धर्मले आ-आफ्नै तर्क दिदै आएका छन।

Advertisement

जसले जसरी अर्थ्याए पनि पृथ्वीलाई अहिलेको स्वरुपमा आउन करिबकरिब चार दशमलव पाच चार विलियन बर्ष र मानिसलाई अहिलेको स्वरुप र अवस्थामा आइपुग्न झण्डै सहत्तरी लाख बर्ष लागेको तथ्यमा कसैले शंका गर्न सक्दैन। एक कोषिय जीवबाट विकास भएर जटिल मानव स्वरुपमा पाइला टेकी बिज्ञानलाई आफ्नो मुठ्ठीमा पार्ने मानिसको इतिहासमा कति उतारचढाव आए भनेर हिसाब गर्न सम्भव नहोला। ठ्याक्कै तिथिमिती थाहा नभए पनि मोटामोटी नेपालमा बि. स. १९७० बाट फोन, २०४१ देखि टि भि र २०५४/५५ तिरबाट मोबाइल फोनको सुरुवात हुनुलाई आधुनिक जिवनशैलीका उपहारहरु मान्न सकिन्छ।

Advertisement

एक पछि अर्को गर्दै बिद्युतिए सामाग्रीहरुको आविस्कार हुनुले मानिसहरूको चेतना वृद्धिमा अहम् भुमिका खेलेको वर्तमान अवस्थाले प्रष्ट पार्द्छ। साथै आजभोलि गाउँ देखि शहरसम्म देखा पर्ने अनियंत्रित ढङ्गले भित्राइएका बिदेशी संस्कृतिहरुको दवदवाले मानिसहरूको आधुनिक जिवन शैलि प्रतिको मोहको झल्को दिलाउछ। परिवर्तन के लाई भन्ने ? आधुनिकतालाई कसरी परिभाषित गर्ने ? प्राचीन सभ्यता र आधुनिक सभ्यतालाई कुन तराजुले मापन गर्ने ? यसका पनि आफ्नै मापदण्डहरु हुन सक्द्छ्न। तथापि आधुनिकता बस्तुपरक हुन्छ कि आवश्यकतापरक हुन्छ भन्ने गहन सवाल बन्न आउदछ। तर सर्वमान्य कुरा के होला भने तत्कालीन बस्तु स्तिथिले सृजित अवस्थालाई सम्बोधन गर्दै निम्ताउने परिवर्तन नै आधुनिकताको परिभाषा भित्र अट्दछ होला। यसरी परिवर्तनलाई आधुनिकताको मुख्य कडिको रुपमा अथ्र्याउन सकिन्छ जस्तो लाग्दछ। समयको बदलाब सङ्ग सङ्गै बिज्ञानको बिकासले बिस्तारै बिस्तारै बदलेका अनि विविध कला संस्कृति एवं परम्पराहरुको अभ्यासमा देखा परेका स-साना परिमार्जनहरुले मौलिकतामा कता कता आयातित आधुनिकताको हल्का हल्का लेपन भएको पाईन्छ।

घोत्लिएर सोच्ने हो भने परिवर्तन र बिकास फरक फरक अबस्था हुन। बिकास ठोस योजना र कार्यले स्वरुप, आकार, प्रकार धारण गर्ने अवस्था हो भने सोहि बिकासले धारण गरेको स्वरुप र आकृतिले प्रदान गर्ने दृष्टि नै परिवर्तन हो भन्ने मेरो बुझाइ छ। बिकास र परिवर्तन दुबै समयको माग अनुरुप आ-आफ्नो गतिमा अघि बढिरहेका आधुनिकताका बाहन हुन। सामान्यतया बिकासले परिवर्तन ल्याउनुलाई दुबै प्रकृतिको उपज ठान्नु पर्द्छ।

यसर्थ पृथ्वीमा हरेक पक्षको बिकास र परिवर्तन आवश्यक र वाञ्छनीय हुन्छ। यसरी हरेक युगमा देखा पर्ने आंशिक वा आमूल परिवर्तनहरुलाई आधुनिक युगको रुपमा बुझ्न सकिन्छ। परिवर्तन हुनु आफैमा उत्तम तथा अपरिहार्य अवस्था हो। मलाई हिजोका दिनहरुको तुलनामा आज अलिक बढी नै परिवर्तन आएको त होइन भन्ने लाग्द्छ। हिजो हाम्रा पुर्बजहरुले जुन ढंगले आफ्ना दिनचर्याहरु बिताउनु भएको थियो त्यो दिनहरुलाई आजका दिनहरु सङ्ग दाजेर हेर्दा मलाई असहज र पट्ट्यारिलो लाग्दछ। हाम्रा पुर्बजहरु बस्ने घरहरु, घर अगाडिका खुल्ला आगनहरु, घरको वरपरका बाग बगैंचाहरु, घरमा पालिएका पशु चौपायाहरु, बिषादिरहित फलफुल तरकारी सबै अहिले किम्बदन्तीमा उल्लेख गरिएका काल्पनिक कथा जस्तो लाग्दछ। हिजोका दिनहरुमा आवास क्षेत्रमा वास्तुशास्त्र अनुसार कुञ्जहरु बनाउने गरिन्थ्यो भने आज भोलि स-साना जग्गाका टुक्राटाक्री किनेर बनाईएका घरहरुको वास्तु आबश्यक्ता अनुसार मिलाएर जोहो गरिएको हुन्छ। गाई, भैंसी,बाख्रा,भेडा, घोडा, हाती कुकुर, बिराला पाल्ने पुर्खाका सन्तानहरुले आजभोलि विभिन्न प्रजातिका कुकुरहरु मात्र पालेर आफुलाई उत्तर आधुनिक ब्यक्ति सम्झिरहेका हुन्छ्न।

आफ्नो खेत बारीको पाटाबाट तथा बाग बगैंचाबाट बिषादिरहित तरकारी फलफुल टिपेर खाने हाम्रा पुर्बजका सन्ततिहरु बिषादि युक्त बासी, सडे, गलेका तरकारी अनि फलफुल खादा आफुलाई शहरिया र आधुनिक ब्यक्ति ठानेर खोक्रो गर्व गर्द्छन। यदि आधुनिकता यहि हो भने हाम्रो अस्तित्व कतातिर जादैछ होला ? भावी सन्ततिलाई कुन इतिहास उपहार दिदैछौ होला? अनि उनिहरुलाई कस्तो संस्कार, शिक्षा र सीप दिएर जीवन यापनको मार्ग देखाइरहेका छौ? यो हाम्रो लागि चिन्तनको बिषय हो जस्तो लाग्दछ। मेरो मनमा उब्जिएका यी कुराहरुलाई सरसर्ती नियाल्ने हो भने आधुनिकताको नाममा धेरै पक्षहरू साघुरिदै गएको कुरा हामी कसैले पनि नकार्न सक्दैनौं। आज मानिसहरुका आगनहरु साघुरिएका छन। उनिहरु बस्ने घर एवं कोठाहरु साघुरिएका छ्न। उनीहरुका नाता सम्बन्धहरु साघुरिएका छ्न। उनिहरुका पहिरन साघुरिएका छ्न। उनिहरुका बिचारहरु साघुरिएका छ्न। अझ भन्दा उनिहरु भित्रको मानवता नै साघुरिएका छ्न। सबै भन्दा बढी त उनीहरुका इमानदारिता साघुरिएका छ्न। यसरी सम्पुर्ण पक्षहरु साघुरिएका छन कि ती घरहरुमा आफ्ना जननी अटाएका छैनन।

आफ्ना सन्तानहरु अटाएका छैनन। नाता गोता इस्ट मित्रहरु अटाएका छैनन। एक अर्का प्रतीका बिश्वासहरु अटाएका छैनन। मानिसहरुको बिचमा तिरस्कार र तिक्तताको बाहुल्यता बढी मानिस मानिस बिचको दुरी दिन प्रतिदिन बढ्दै गैरहेको अवस्था छ।

पहिलाको समयको तुलनामा अहिले सामाजिक भेटघाटहरु निकै बढेको पाइन्छ तरआजकलका ती भेटघाटहरु मलाई यान्त्रिक भेटघाट जस्तो लाग्दछ। त्यस्ता भेटघाटहरुमा हुने प्राय जमघटहरु मानिसले आफुलाई अरु मानिसहरु भन्दा पृथक, सभ्य, सु – संस्कृत, आधुनिक अनि अब्बल छु भनी साबित गर्न खोजिरहेको जस्तो भान हुन्छ। के यसो गर्नुलाई दिनानुदिन बढ्दै गएको प्रविधिको बिकासले टेवा पुर्याएकै हो त ? यसो सोच्दा हो जस्तो पनि लाग्दछ।

आजको मानिसले धेरै बिषय बस्तु सङ्ग सम्बन्धित सुचनाहरु भर्खरै बिकास भएका प्रविधिहरु बाट नै प्राप्त गरेका हुन्छ्न र सोही अनुरुप आफुलाई र आफ्ना परम्पराहरुलाई परिवर्तन र परिमार्जित गर्दै लगेका हुन्छन। यसरी हेर्दा हामीले बुझेको प्रविधिको भाषामा साघुरिएको बिश्व परिवेश अनि साघुरिएका मन, वचन र सम्बन्धहरुले बढेका एक आपसमा देखा परेका धुर्विकरणले आधुनिकता कुतकुताउदै बत्तीको प्रकाशले छालिएका पुतलीको जीवन बनेको आजको जीवन शैली। विश्व अटाएको तत्कालीन प्रविधिमा मानवता किन अटाएन? नाता सम्बन्ध अटाएको प्रविधिमा इमान्दारिता किन अटाएन? जिवनमा आइ परेका विशेष तिथि मितिहरुसङ्ग जोडिएका घटना परिघटानाहरु अटाएको प्रविधिमा बिश्वास किन अटाएन? अभिमान अटाउने प्रविधिमा एक अर्का प्रतीको सम्मान किन अटाएन? अनि बिछोडको कथा अटाउने प्रविधिमा मिलनको कथा किन समेटिएन। मेरा यस्ता जिज्ञासाहरु कसैका निमित्त मुल्यहिन हुन सक्दछ्न तथापी कसैलाई यी प्रश्नहरु मननिए हुन पनि सक्दछ्न जस्तो लाग्द्छ। यसर्थ हामी यति धेरै साघुरिएका छौ कि एउटा श्रीमान श्रीमतीलाई एक अर्का सङ्ग प्रत्यक्ष कुरा गर्ने समय छैन।

एउटा बुवा आमालाई आफ्नो सन्तति सङ्ग एकछिन साथै बसेर आफ्ना सुख दुख बाड्ने समय छैन। एउटा सन्तानलाई आफ्नो मनका भावनाहरु अभिभावक सङ्ग साट्ने समय छैन। उनिहरुले एउटै सोफामा बस्दा एउटै कोठामा बस्दा पनि सामाजिक सन्जालको जञ्जालमा अल्झिएर भावनाले भरिएका सुमधुर आवाजहरु कुन्ठित गरी एक अर्का प्रती बेवास्ता गर्नु नै प्रविधिले साघुरो बनाएको यो ब्रह्माण्डमा म आफुलाई आधुनिक ब्यक्ति ठान्नु पर्दा म भित्रको भावना, अनुभुती समबेदनाहरु रुखो भएर आफ्नो उर्वरता खरानी भएकोमा ग्लानीले अचेल मुर्झाएको छु।

आज मलाई आफू आधुनिक ब्यक्ति भएकोमा गौरव महसुस भएको छैन। यसको ठिक बिपरित मलाई हिनता बोध भएको छ।त्यसैले आज म मेरा पुर्बजहरुको इमानदारिता खोजिरहेको छु। म आफ्नो पुर्खाहरुमा मौलाएको मानवता खोजिरहेको छु। म मेरा पुर्बजहरुको समयका घर आगनहरु,बाग बगैंचाहरु एक एक गरि खोजिएरहेको छु। मलाई आफ्नो रितिदै गएको अस्तित्वमा किमार्थ घमण्ड छैन।

खोक्रो आधुनिकता यसरी मौलाएकोमा मेरा नयनहरु दृश्यपान गर्न हिचकिचाइ रहेका छन। अब खोक्रो आडम्बरले फुलेको आधुनिकतामा बिछोडिएको एक जना मानव पनि म यस धर्तीमा कल्पना गर्न सक्दिन। यस्तो बदलावलाई म किन्चित आधुनिकता मान्न तयार छैन। चाहे तपाई मलाई यथा स्तिथिवादी भन्नुस वा पश्चगामी भन्नुस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *