योजना, लक्ष्य र गन्तव्य

 तुलसीपुर १३ जेठ २०७७

जिवनका उद्देश्यहरुलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने सोच राख्नु अधिकाङ्स मानिसहरूको रोजाइ हो ।  यसो हुदा पनि हाम्रा जिवनरुपी यात्राहरुमा अकल्पनीय र अप्रत्याशित उतारचढाव आउनु योजनामा समेट्न नसकिएका पाटाहरुमा पर्द्छन । जसरी हलुका बेगमा बहने हावाले पनि शान्त तलाउको पानीमा हलचल पैदा गरेर त्यस पानीमा पर्ने दृष्टिहरुलाई हल्लाई दिएर पानीको स्थिर छायामा दृष्टि केन्द्रित गर्न अप्ठ्यारो परिस्थिति श्रीजना गरिदिन्छ ।

त्यसैगरी एक्कासि आइपर्ने असहजताले पनि यात्राको बाटो नै मोडिदिने रहेछ्न । छोटो होउस वा लामो, अल्पकालीन होउस वा दीर्घकालीन योजना, लक्ष्य र गन्तव्य ब्यक्ति, घर, संघ संस्था, कार्यालय अनि राज्य सबैले परिवेश अनुकुल बनाएका हुन्छ्न । तर जिवनमा अकस्मात आइपर्ने कैयन प्रतिकुलताहरुको आकलन गर्न नीति, नियम, ज्ञान, बिज्ञान देखि ज्योतिष बिज्ञान सम्म चुक्ने रहेछन ।

गत डिसेम्बर पहिले सिङ्गो बिश्वलाई थररर हल्लाईरहेको नोबल कोरोना भाइरसको कहि कतै बहस नहुनु यसको प्रमाण हो जस्तो लाग्द्छ । यहि दृष्टान्तले हामीले पनि अनगिन्ती अन्धाधुन्ध जिवनका यात्राहरु पुरा गरिसकेको तथ्य बोल्द्छ । यद्यपि हाम्रा यात्राहरुले आज सम्म लक्ष्य विपरीत गन्तव्यमा पुर्याएनन, तब त हामीले तय गरेका यात्राहरुलाई पछाडी फर्केर नियाल्ने जमर्को समेत गरेनौ।


गन्तव्यहिन यात्रामा पाइलाहरु अघि बढाउने क्रममा ठोस योजना बिना यात्रामा होमिएका तर सफलताको कथा बोकेका केहि जिवनीहरु अक्सर सुन्ने अवसरहरु सबैलाई मिलेको हुनुपर्द्छ । जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने परापुर्वकाल देखि सुनिदै आएको कथन हो । त्यसैले मानिसहरुको लक्ष्य पनि अटल र दृढ भयो भने सफलताको राजमार्गमा संकेत चिन्हहरु यथेष्ट देख्न सकिन्छ ।


यात्राको सुरुमा गन्तव्य नदेखे पनि, लक्ष्य निर्माण गर्न नसके पनि, योजनाको खाका कोर्न नसके पनि चुनौतीले जुटाएका अवसरमा हाम फल्दा पनि कहिलेकाही गन्तव्य आफै देखिदोरहेछ । लक्ष्यले दृढता पाउदोरहेछ । योजनाले आकार पनि लिदोरहेछ । मेरो जस्तै गन्तव्यहिन यात्री बनेर खाका बिनाको योजना र दृढता बिनाको लक्ष्य पछ्याउँदै आजको स्थान सम्म आइपुगेका अनगिन्ती अलिखित, स्वरहिन कथाहरु बिलिन हुदैछ्न ।

चुनौतीहरुले लखेट्दै उत्तानो लडाएको बेला सारथी बनेर उठाउने मेरो पेशालाई छुट्टाउन नहुने सफलताको कथा त कसरी भन्नू र ? तर पनि कहिँ कतै यस्ता कथाहरूलाई लिपिबद्ध गर्यो भने कुनै कालखण्डमा पुगेर मार्मिक र कथनिय कथा बन्न नसक्ला भन्न सकिदैन ।धर्तीमा आँखा खोले पछि अनि शरीरमा प्राण वायु भरे पछि जिन्दगीको यात्रा पूरा गर्न हातखुट्टाहरु नचलाउने कुनै पनि जिवित जिवनलाई हर तवरले भौतिक रुपमा समाजले पूरा वा सिङ्गो जिन्दगीको परिभाषाभित्र समावेश गर्न सक्दैन ।

भाषा नमिल्नु, भेष नमिल्नु, बिचार नमिल्नु, कद नमिल्नु, वर्ण नमिल्नु, आकार नमिल्नु एउटा पाटो हो भने मानिस हुनुको गुण नै नमिल्नु हासको बथानमा बकुलो बन्नु जस्तै हो । मानिसहरुको भौतिक आवरण, सोच, बिचार, अनि जीवन र जगत प्रतिको दृष्टिकोण नमिल्नुलाई हामी सबैले सामान्य ढंगले स्वीकार गर्नुपर्द्छ । असङ्ख्य भिन्नताहरुका बावजुद पनि बिश्वमा अस्तित्व जमाई राखेका हरेक प्राणीहरुमा साझा रुपले मिल्ने के होला भनेर मैले सोच्ने धृष्टता गर्दा मेरो दिमाग हल्लियो ।

आत्माको अन्तरकुनाबाट हृदयलाई साक्षी राखेर बिचारहरुका सागरमा डुबुल्की लगाउदा पो थाहा भयो मानिसहरुका प्रशस्त गुणहरु मिल्दारहेछ्न। जस्तै दुखी हुनु, खुसी हुनु, माया गर्नु, घृणा गर्नु, लोभ गर्नु, डराउनु, निडर हुनु आदि इत्यादि। हाम्रा यी जम्मै गुणहरुको बिकास कहिले र कहाँबाट सुरु हुन्छ भनेर अध्ययन गर्दै जादा जिवनको निश्चित चरणमा पुग्दा शिशुले आफुलाई पहिचान गर्न सक्द्छ भन्ने थाहा पाए । जब देखि शिशुले आफुलाई चिन्न सुरु गर्द्छ अनि बिस्तारै यी सबै गुणहरुले आफ्नो स्वरुप र आकार ग्रहण गर्दारहेछ्न ।


हाम्रा यी गुणहरुका आ–आफ्नै बिशेषताहरु छन तथापि डर अर्थात् भय जुन दुई अक्षरले बनेको छ, यसले हाम्रा अन्य गुणहरुलाई खिर्लिप्पै निल्दोरहेछ । डरलाई गहिराइमा पुगेर बुझ्ने हो भने यो हाम्रो जिन्दगी सुरु हुनु अगावैबाट जरा टेकेर आउदोरहेछ । परिस्थिति फरक होला, कारण फरक होला, समय फरक होला तर डर कहिल्यै फरक हुदोरहेनछ। केबल डरको रुप मात्र फरक हुदोरहेछ। मेरो जिवनको यात्राले सिकाएको पाठ डर नभएको प्राणी सम्भव हुदोरहेनछ। डर बिनाको प्राणी यदि भेट्टियो भने उसले आफ्नो अस्तित्व पहिल्यै गुमाई सकेको हुदोरहेछ ।


ठ्याक्कै समय त यकिनका साथ मलाई सम्झिन कठिन भयो। मेरो ख्यालमा २०६४÷६५ साल तिरको कुरा हुनु पर्द्छ । ट्युसन कक्षा विद्यार्थीहरुको भिडले खचाखच भरिएको थियो। एस.एल. सी. दिने ती विद्यार्थीहरु निक्कै चासो दिएर मैले पढाएको सुनिरहेका थिए। नोबेल पुरस्कार विजेता बङ्गाली कवि रबिन्द्रनाथ टेगोरको “होयर द माईन्ड इज विथ आउट फियर “कविता पढाउदै थिए ।

त्येसै क्रममा उनीहरुलाई मैले कस(कसलाई डर लाग्दैन भनी सोधेको थिए। अधिकाङ्स विद्यार्थीहरुले उनिहरुलाई केहिको पनि डर लाग्दैन भन्ने उत्तर दिएका थिए । प्रश्न उत्तर गर्दै बिच, बिचमा हसाउदै म उनिहरुलाई बडो रोचक शैलीमा पढाउदै थिए। मैले उनीहरुको एकाग्रतालाई सुक्ष्म तरिकाले नियालिरहेको पनि थिए। ठिक त्येसैबेला एक्कसी म अत्यधिक जोडले चिच्याए। अघि डर लाग्दैन भन्ने धेरै विद्यार्थीहरुको हंसले ठाउँ छोड्यो। डर लाग्छ भन्नेहरुको त झन के कुरा भयो र।

यो र यो भन्दा अघि मैले प्रयोग गरेका यस्ता थुप्रै घटनाहरुबाट मैले दुनियाँमा नडराउने प्राणी नै हुदैन भन्ने निर्क्योल निकालेको छु। त्यो डरले छोपेको सन्नाटालाई मत्थर गर्न मैले अघि पछि सुनाउदा हासोको ज्वालामुखी फुटाउने चुट्किलाहरुको झरी पार्दा पनि उनीहरुको आखामा डरको भाव प्रष्टै देखिरहेको थिए ।

डर एउटा अनौठो मानवीय गुण हुदोरहेछ, भलै यस्को प्रकृति र परिवेश फरक हुने गर्द्छ। कति आमा बुवाहरुलाई हामी गर्भमा बस्छौ कि भन्ने डर भयो होला। कति आमाहरूलाई हामी गर्भमा बसिसके पछि मासै नपुगी झर्छौ कि भन्ने डर भयो होला। मिति पुगेर धर्तीमा आउदा पनि आफ्नो अस्तित्व गुमाउछौ कि भन्ने डरले सताइरह्यो होला। अनेक दुख, कष्ट अनि अभावहरु झेल्दै माया, स्नेह अनि जतनले हुर्काई बढाएको जिन्दगीलाई डरै डरले गर्भ देखि नै सम्पन्न र सु(सज्जित बनाइदिएको हुदोरहेछ। सायद यसैकारणले होला डररहित मानवको परिकल्पना गर्न मुस्किल पर्ने।

तमाम प्रकारका डरहरुलाई भुलेर खुला आकाशमा स्वच्छन्द बहिरहेको प्राण वायु भयरहित मस्तिष्कले निसंकोच ग्रहण गरिरहेको जिन्दगी आज अचानक आफनै स्वास देखि त्रसित हुने अवस्थामा खडा हुन पुगेकोछ। आफ्नै कोखबाट जन्म दिई आफ्नै काखमा हुर्काएका सन्तानहरुलाई छुन हिचकिचाउन पर्ने परिस्थिति बनेको छ। सन्तानको मन्द स्पर्शमा शितलता महसुस गर्ने बुवा आमाहरुलाई डरले भतभती पोल्ने भएको छ ।


हिजो बेफिकर आफन्त र हितैषीहरु सङ्ग हातेमालो गर्दै अङ्कमाल गर्ने तनहरु सात आठ फिट टाढै बाट बातचीत गर्न विवश भएका छन। अघिपछि हतार हतार हात मुखै नधोएर खान हतार गर्ने भोको पेट पनि आफ्नै हातले छोएको खाना खादा संकोच मान्ने भएको छ। फेसनको सौखिन शरीर बाहिर निस्कदा लगाएका आफनै कपडा दोहोराएर लगाउन भयभीत हुने भएको छ ।


आफ्नै शरीरलाई आफैले धित मरुन्जेल स्पर्श गर्न स(सङ्कित हुने भएको छ। पहिला बसेर उठेको ठाउँमा केहिछिन पछि फेरि गएर बस्न दुई तीन पटक सोच्नु पर्ने भएको छ। यस्तो परिस्थितिमा बाचेको जिन्दगीलाई के भनु जिन्दगी भनु या डर ? यसको कुनै जवाफ नपाउदै मस्तिष्कमा द्विविधाले रजाइँ गर्न थालिसकेको छ।

डरले विश्व आक्रान्त भैरहेको बिषम घडीमा नाना थरीका चाहाहरु बढ्ने रहेछ्न। आखालाई बाहिरी दुनियाको रङ्गिन दृश्यपान गराउन खुट्टा अघि अघि लम्कन खोज्ने, नाकलाई यहिबेला चिलाउनु पर्ने, जिब्रो पनि यस्तै बेला स्वाद फेर्न लालायित भएर ओठभरी लतपतिनु पर्ने । बिश्व कोरोनाको संक्रमणले आक्रन्त भैरहेको बेला गेट, ढोका अनि झ्यालका चुकुल र ह्यान्डलहरु अनि धाराको टाउकोमा लगाएत हात पुछ्ने टावलमा कोरोना भाइरस मौका कुरेर औधी खुसी हुँदै मेरै प्रतीक्षामा बसिरहेको जस्तो प्रतीत हुन लागिसक्यो। बाहिर हेर्दा झ्वाट नदेखिने कोरोना भाइरस मैले फेर्ने स्वासै पिच्छे नाक मुखको बाटो भएर फोक्सो भित्र छिर्ने अवसर ढुक्दै मलाई कुरिरहेको आभास हुन थाली सक्यो ।

एकोहोरो कोरोनाको त्रासले चौतर्फी घेराबन्दिमा पारेको मन र मस्तिष्कलाई शान्त अनि संयम पार्ने उपाय खोतल्न प्रयास गर्द्छु। कोरोनाले फैलाएको सन्त्रासबाट ध्यान अर्को तिर मोड्न खोज्द्छु। कहिले कविता कोर्न कोसिस गर्द्छु तर कपिको पाना भरी भाइरस आएर गिज्याइ दिन्छ। कलमको निवबाट मसिको साटो भाइरसको गन्ध झरेर मेरो कल्पनालाई बिचलित बनाईदिन्छ। उपायहरू खोज्दै उसो भए पढौ न त भनेर पुस्तक खोल्न पुग्द्छु त्यहा पनि प्रत्येक वाक्यांशका शब्द शब्दमा अनि अक्षर अक्षरहरुमा उहि कोरोना भाइरस आएर नाचिदिन्छन।


सङ्कटको घडीमा अनभिज्ञ हुदा जति डरले मुटु च्यापपारी अठ्याउद्छ त्यो भन्दा कैयौ गुना बढि त त्यो सम्बन्धी ज्ञान बटुल्दा अठ्याउदोरहेछ । कोरोनाको अदृश्य डरले हात धुदा धुदा हस्तरेखाहरु मेटिए पनि छाला नै पातलो भए पनि नियमित सावुन पानीले हात मुख धुनु नै बुद्धिमानी सावित हुनेछ ।


बिना सित्तै भिडभाडमा नजाने, बाहिर निस्कदा पञ्जा, मास्क अनि चस्मा लगाउने र बेला बेलामा स्यानिटाइजरले हात सफा गर्नुका साथै उच्च सतर्कता अपनाउनु नै बाच्ने र बचाउने उत्तम बिकल्प हुनेछ। सामाजिक दुरी कायम गर्नुका साथै ब्यक्तिगत सरसफाइ गर्ने दृढ प्रण गर्ने र आफ्नो घरको चौघेरा बाहिर नजाने सङ्कल्पका साथ स्व(क्वारेन्टाइनमा बस्ने लक्ष्य बनाई जिवनको नया भाग्यरेखा कोर्ने प्रतिबद्धता गर्नु जरुरी छ ।

यदि हामी सबैले आ(आफ्नो तर्फबाट कोरोना भाइरससङ्ग सुरक्षित लडाइँ लड्यौ भने विश्वले एक दिन अवश्य विजय गाथा गाउने छ र नया इतिहास रच्ने छ । अनि आगामी दिनहरुका लागि सबै सम्बन्धित निकायहरुलाई दुरदृष्टी राखी गन्तव्यको सुदुर भविष्य नियाल्दै योजनाबद्ध लक्ष्यको निर्माण तथा अकस्मात् आइपर्ने समस्याहरु निवारणका ठोस नितिहरु बनाउन घचघचाउने छ । अनि हामी सबैको यसैमा भलो हुनेछ ।जय होस ! हाम्रो जय होस ! हामी सबैको जय होस !

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया