झण्डै ४ करोड लागतमा सल्यानमा मोटरेवल पुल वन्दै

तुलसीपुर,८ बैशाख 

सल्यानको सारदा नगरपालिका – १ र १२ नम्बर वडा जोड्नेगरी शान्तिनगर रेशम ज्युलामा मोटरेवल पुलको निर्माण कार्य सुरु गरिएको छ । २०७८ जेठ २० गतेभित्र निर्माण कार्य पुरा गर्नेगरी जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले माघ १० गते सारदा नगरपालिकासंग सम्झौता गरेको थियो । तीन करोड ८० लाख ४५ हजार लागतमा निर्माणाधिन पुलको लम्बाई ५० मिटर र चौडाई ८ मिटर रहेको जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरका प्रोप्राईटर पुर्ण भण्डारीले जानकारी दिनुभयो । एक हप्तादेखि फाण्डेसनको काम सुरु गरेको निर्माण सेवाले तोकिएको समयअगावै पुलको निर्माण कार्य पुरा गर्ने दाबी गरको छ ।
२०४२ सालमा निर्माण गरिएको झुलुङ्गे पुल जिर्ण भएका कारण निकै सास्ती झेल्दै आएका त्यस आसपासका स्थानीयवासीहरु अहिले पुल वन्नथालेपछि निकै हर्षित भएको सारदा नगरपालिका १२ का वडाध्यक्ष दिपक हमालले जानकारी दिनुभयो । ‘पुल नहुँदा यहाँको स्थानीयले निकै दुःख पाएका थिए,’ वडाध्यक्ष हमाले भन्नुभयो– ‘आर्थिक बर्ष ७४÷७५ को बजेटबाट टेण्डर आव्हान गरेर पुल निर्माणको काम सुरु गरिएपछि स्थानय खुशी छन् ।’
पुलको निर्माण कार्य पुरा भएमा सल्यान जिल्लाको सदरकुम र रुकुम जान निकै छोटो र सहज हुने उहाँले बताउनुभयो । लेखपोखरा, दमाचौर, साविकको स्यालीखाल गाविस, बागचौर छत्रेश्वरी, मोख्ला लगाएतका दर्जनौ गाउँका हजारौ नागरिकहरु पुल वनेमा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया