२०८३ जेष्ठ २७ गते बुधवार

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डल सहित अमेरिका प्रस्थान गर्दै

काठमाडौ, २६ फागुण । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतवार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नारी नेत्रीले विश्वलाई कसरी रूपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हनुहुनेछ । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् ।उहाँले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी लगायत रहनुहुनेछ ।राष्ट्रपति भण्डारी फागुन ३० गते न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया