२०८३ साउन २८ गते बिहिवार

अधिकारीको शव श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं, १९ फागुन ।

नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । १३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८२ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।

२०५१ मा नेकपा एमालेको नौ महिने कम्युनिष्ट सरकारको पालामा अर्थमन्त्री बन्नुभएका अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ र वृद्धभत्ता वितरण गर्ने जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो ।

नेपालमा पहिलो पटक वृद्धभत्ता वितरण गर्ने कार्यक्रम उहाँकै योजनामा भित्रिएको थियो । त्यही कार्यक्रमका कारण नागरिककाबीच तत्कालीन एमालेको लोकप्रियता चुलियो र ०५४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेले झण्डै दुई तिहाई स्थानमा विजय हासिल गर्न सफल समेत भयो ।

एमालेका पछिल्ला विजयहरुमा समेत अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका तिनै कार्यक्रमहरुको भूमिका रहँदै आएको छ । वृद्धभत्ता वितरण कार्यक्रमलाई अघि सार्दै उसले चुनाव आफ्नो हातमा पार्ने रणनीति बनाउँदै आएको थियो ।

पूर्वअर्थमन्त्री एवम नेकपाका नेता भरतमोहन अधिकारीको शव श्रद्धाञ्जलीका लागि आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९–१२ बजेसम्म राखिने भएको छ । उनको शवलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयका लागि आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाइएको छ ।

शनिबारै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरे, विष्णु पौडेल, मन्त्रीहरुलगायत अस्पताल पुगेर परिवारका सदस्यहरुलाई समवेदना दिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया