२०८३ भाद्र ८ गते सोमवार

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

फोटो फाईल

काठमाण्डौ, ८ भदौ । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् । यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याउनु भएको हो । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । आज सोमबार प्रतिनिधिसभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय समितिमा पठाउँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

जहाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थ सम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न खानी तथा खनिज पदार्थ विधेयक ल्याएको हो । खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने उदेश्य राखिएको यो विधेयकमा ६३ वटा दफा प्रस्तावित छन् ।

हाल खानी तथा खनिज पदार्थ ऐन २०४२ प्रचलनमा छ । यसलाई खारेज गरेर समयाअनुकूल र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरूप अधिकार विकेन्द्रीकृत गर्ने गरी ल्याइएको विधेयकमा साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्त्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थ सम्बन्धी विशेष व्यवस्था छन् । नेपालको संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँट गरेको छ ।

उद्योग मन्त्रालयका अनुसार प्रचलित खानी तथा खनिज पदार्थ ऐन, २०४२ संघीय शासन प्रणाली कार्यान्वयनपूर्वको कानून भएकाले वर्तमान संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्द्धनका आवश्यकतालाई समेट्न अपर्याप्त छ । खनिज र खनिज क्षेत्रको वैज्ञानिक व्यवस्थापन, खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन विधेया ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया