काठमाडौं, १ मंसीर । मुगु, बझाङ र रौतहटमा फरकफरक समयमा सवारी दुर्घटना हुँदा एकै परिवारका चार सहित दश जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा सोमवार बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट झन्डै ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा एउटै परिवारका चार जनाले ज्यान गुमाएपछि परिवार, आफन्त, छरछिमेक र गाउँ नै शोकमा डुबेको छ । उता मुगुमा भएको जीप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको सोमवार काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जीप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । उता रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमवार दिउँसो चार बजेतिर झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४२–प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।