काठमाडौ, २६ कात्तिक । मकवानपुरमा ईभी माईक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस आज विहान पौने छ बजेतिर भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । उनीहरु मध्ये हालसम्म चालक सहित दुई जनाको मात्रै सनाखत भएको प्रहरीले बताएको छ ।
अन्य मृतकको पहिचान हुन बाँकी रहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोल बस्ने सुवेक यादव रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाले जानकारी दिनुभयो ।
पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखराका लागि छुटेको ग ४ च १३४४ नम्बरको जीप गएराति अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै १३ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा विहिवार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।