काठमाडौँ, १२ बैशाख । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसकै कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपात भइरहेको छ । तर, देशको दक्षिणी भेग भने प्रचण्ड गर्मीको चपेटामा परेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम खालको तातो लहर अर्थात् ‘हिट वेभ’ चल्ने देखिएकाले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाको विश्लेषण अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने अनुमान छ। यसबाट कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लाहरू बढी प्रभावित हुने देखिएको छ । गर्मीको यो जोखिमबाट बच्न दिउँसोको चर्को घाममा बाहिर ननिस्कन र घरभित्रै चिसो स्थानमा बस्न सुझाव दिइएको छ ।।


















