२०८२ कार्तिक २१ गते शुक्रवार

रोल्पामा जिप दुर्घटना: चालकको मृत्यु, तीनजना घाइते

रोल्पा, १३ कात्तिक ।  रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारस्थित भीत्री सडकखण्डमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मंगलबार राति करिब ९ः५० बजेको समयमा सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा रोल्पा सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय चालक थम्मन रोका मगर गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा बुधबार राति करिब २ः४५ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री गाउँपालिका–४ सालडाँडाकी २७ वर्षीया भावना गिरी र उनकी करिब ५ वर्षीया छोरी शान्ति गिरी घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ । उक्त जिपमा चालकसहित चारजना सवार रहेका थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया