तुलसीपुर, ८ कात्तिक । रुकुम पश्चिममा जिप दुर्घटनामा परी मृत्यु भएका ८ जना र घाइते भएका १० जनाको परिचय खुलेको छ । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–१ निवासी १५ बर्षीया कल्पना नेपाल, सोही ठाउँ निवासी २८ बर्षीया सबिता बिक, १६ बर्षीय टेकजंग बुढा, १५ बर्षीया दिलमाया बुढा, आठबिसकोट नगरपालिका–२ निवासी १७ बर्षीया मनिका ओली, सोही ठाउँ निवासी १८ बर्षीया सर्मिला बिक, २२ बर्षीय गोपाल ओली र आठबिसकोट नगरपालिका–३ निवासी ३० बर्षीया कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा आठविसकोट नगरपालिका–१ निवासी १७ बर्षीया सिर्जना बुढा, सोही ठाउँकी १५ बर्षीया सपना नेपाल, १८ बर्षीया जुना बुढा, १७ बर्षीया संगिता बुढा, १९ बर्षीया शान्ति बुढा, १७ बर्षीया अञ्जना ऐरी, २० बर्षीया महिमा ओली, १७ बर्षीया मनिषा थापा, १५ बर्षीया सबिता बिक र जिप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका–२ का ३४ बर्षीय टोपजंग बुढा रहेको डीएसपी बिष्टले बताउनुभयो । घाइते मध्ये १८ बर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ जादै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमानामा झारमारेमा हिजो साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी ७ जनाको घटना स्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । जिपमा सिट क्षमता भन्दा धेरै अर्थात १८ जना यात्रु रहेकाले अनियन्त्रित भएर दुर्घटना भएको आंकलन गरिएको छ । जिप सडकबाट झण्डै ७ सय मिटर तल खसेको थियो । अन्य घाइतेहरुको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहको छ ।।


















