२०८३ जेष्ठ २३ गते शनिवार

राजनीतिक आस्थाका आधारमा खुइल्याउने काम नगर्न अध्यक्ष विष्टको आग्रह  

भालुवाङ २४ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक पत्रकारहरूले व्यवसायीकताको धर्म निभाउनु पर्ने बताउनु भएको छ । राप्ती प्रेस मञ्चले तिहार, छठ लगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मञ्चको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष विष्टले पत्रकारहरूमा खोज पत्रकारिता हुनुपर्नेमा सत्यतथ्य नबुझेर कसैले फेसबुकमा लेखेका स्टाटसलाई समाचार बनाउँदा पोष्ट गर्दा समाजमा मानसिक समस्या बढ्दै गएको बताउनु भयो ।

अध्यक्ष विष्टले राप्तीका पत्रकारलाई राप्तीकै गहनाको रूपमा बुझेको उल्लेख गर्दै पछिल्लो समय राजनीतिक आस्थाकै कारण फरक विचार भएका जनप्रतिनिधिहरूलाई खुइल्याउने काम भइरहेको बताउनुभयो । पत्रकारहरूलाई राजनीतिक आस्था एक ठाउँमा राखेर सत्य तथ्य छुट्टाएर समाचार प्रकाशन/ प्रसारण गरि समाजलाई सकारात्मक दिशा तिर अघि बढ्ने वातावरण बताउन समेत उहाँले सुझाव दिनुभयो ।

त्यस्तै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले जिम्मेवारी र मर्यादित पत्रकारिताका लागि आफूले आफैलाई सुधारेर लग्न आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष बस्नेतले महासंघले पत्रकारहरुको व्यवसायिक सुरक्षा, क्षमता अभिवृद्धि र संचार माध्यमको आर्थिक तथा व्यवसायिक प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।

उहाँले सञ्चार माध्यमहरू बलियो नभए लोकतन्त्र बलियो हुन नसक्ने बताउनु भयो । लोकतन्त्र बलियो नभए आर्थिक, सामाजिक, सांस्कृतिक समस्या उत्पन्न हुने हुँदा पहिला मुलुकमा सञ्चार माध्यम बलियो हुन आवश्यक रहेको उपाध्यक्ष बस्नेतले बताउनु भयो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेश रिजाल, सल्लाहकारहरू बासुदेव न्यौपाने, जमिर शाह, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य शान्ता खनाल, रेडियो नेपालका दाङ प्रतिनिधि टेकराज भण्डारी, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कँवर मगर, मञ्चका उपाध्यक्ष बलराम शाही (भिसुन), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह–कोषाध्यक्ष लालमणी भुसाल, सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मञ्चकि महिला उपाध्यक्ष हुमा सुनारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियोे । यसै बीच मञ्चले शुक्रबार बिहान मञ्चको स्थापना दिवसका अवसरमा राप्ती गाउँपालिका–८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण गरेको थियोे । मञ्चका अध्यक्ष अर्जुन अधिकारी सहितको टोलीले आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीलाई फलफूल हस्तान्तरण गरेको थियोे ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया