२०८२ असोज २५ गते शनिवार

हापुरे बजार क्षेत्रमा चोरीका घटना बढ्दै

उद्योग वाणिज्य संघद्वारा प्रहरीको ध्यानाकर्षण

हापुरे, २० असोज । पछिल्लो समय दाङको हापुरे बजार क्षेत्र र वरपरका स्थानहरूमा चोरी, पसल तोडफोड र डकैतीका घटनाहरू बढ्दै गइरहेका छन्। चाड–पर्वको समयमा व्यापारी तथा स्थानीय बासिन्दा सुरक्षाको दृष्टिले चिन्तित बनेका बेला हापुरे उद्योग वाणिज्य संघले घटना बारे चासो देखाएको छ।

आईतवार हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिका राम खत्री र सचिव खुम बहादुर बिक ले इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक देव बहादुर केसी सँग भेट गरी बजार क्षेत्रको शान्ति, सुरक्षा, चोरी नियन्त्रण र यातायात व्यवस्थापन सम्बन्धी विषयमा प्रहरीको ध्यानाकर्षण गराउनु भएको हो ।

भेटका क्रममा प्रहरी प्रमुख केसीले हालसम्म भएका घटनाहरूको अनुसन्धान प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले केही सिसिटिभी फुटेजहरू संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताउदै अनुसन्धानमा स्थानीयवासी, व्यापारी तथा नागरिक तहबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।

साथै उहाँले चाड–पर्वको समयमा शान्ति–सुरक्षा सुदृढ बनाउन प्रहरीको निगरानी र गस्ती थप सुदृढ पारिएको जानकारी दिदै ट्राफिक प्रहरीको माद्यामबाट सवारी साधन चेकजाँचमा कडाइ गरिनुका साथै हापुरे बजारमा यात्रुहरूको सहजताको निम्ति यात्रु सहायता कक्ष स्थापना गरेर प्रहरी निरन्तर जनताको रक्षाका निम्ति लागरहेको समेत बताउनुभयो ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया