दाङ, भदौ ३ । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ । सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो ।
अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ भने दोस्रो दिन पनि पूजापाठ गरेर आफ्ना दिदीबहिनीहरुलाई अग्रासन दिन जानुपर्ने भएकाले दुई दिन बिदा दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सभाले यस वर्षको अट्वारी भदौ ८ गते परेकाले सम्पूर्ण थारु समुदायलाई सोही दिन अट्वारी मनाउन अनुरोध गरेको छ ।
थारु बुद्धिजीवी र संस्कृतिविदहरुको सल्लाह अनुसार, परम्परागत रूपमा महिलाहरुले मनाउने अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात कुश अमाउस ९कुशे औसी० पछिको आइतबार अट्वारी मनाइने परम्परा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्षसमेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते नै भएको बताउनुभयो ।
उहाँले अष्टिमीपछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताउनुभयो । यस्तै, लेखक छविलाल कोपिलाले पनि अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाउने प्रचलन भएकाले यस वर्षको अट्वारी भदौ ८ गते अट्वारी परेको बताउनुभयो । -गोरखापत्र






