
तुलसीपुर, १ भदौ । तुलसीपुर उपमहानगरपालिका १० का कालुराम चौधरी सानो हुँदा अष्टमीको दिन बिहानै गाउँको अगुवा महटवाकोे घरको बैठक कोठा (बह्री) मा पुग्थे । कतिवेला अष्टिम्कीको चित्र बनाउँलान र हेर्नु पर्ला भनेर उनी पर्खेेर बसिरहन्थे । जवसम्म चित्र बनाउँन आउँदैनथे तवसम्म पर्खिरहन्थे । ‘जब चित्र बनाउन आउँथे तब दिनभर भोकै बसेर चित्र बनाएको हेरेर बस्थे । चित्र बनाइसकेपछि बल्ल घर आउँथे,’– उनले भने। ‘साँझमा ५५ जना परिवार रहेको घरमा २ जना फूपू र ७ भाई बाबा, काकाहरुका छोरीहरु सबै गरेर उनको घरबाट मात्रै ११।१२ जना दिदीबहिनीहरु अष्टिम्की टिक्न जान्थे । उनी पनि हेर्नका लागि सँगै जान्थे । गाउँका सबै महिला दिदीबहिनीहरु एउटै घरमा अष्टिम्की टिक्न जाँदा धेरै रमाइलो हुन्थ्यो तर अहिले घरघरमा हस्तनिर्मित चित्रमा नभइ बजारमा पाइने पोष्टरमा अष्टिम्की टिक्छन् । कतैकतै भित्तामा पनि बनाउँछन् कतैकतै पोष्टरमा नै टिक्छन् । यसकारण त्यति रमाइलो र पहिलेको जस्तै हेरौँहेरौँ लाग्ने हुँदैन,’ उनले भने ।
उनी मात्रै होइन तुलसुीपुर ५ की विफनी चौधरीले पनि पहिले र अहिलेको अष्टमीमा धेरै फरक भैरहेको बताउँछिन् । ‘अष्टमीको दिन विहानै गाउँको अगुवा, महटवा, भलमन्साकोे घरको बैठक कोठा (बह्री) मा उत्तरतिरको भागमा भित्तामा फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रगीविरंगी बुट्टा , बरमुन्हा, द्रौपदी, पाँच पाण्डवहरु लगायतका विभिन्न तस्वीर हुन्छ । कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको तस्वीर बनाइएको हुन्छ । यस्ता तस्वीर अहिले धेरै जसो लोप भइसकेका छन्,’ उनले भनिन् । ‘पहिलेको जस्तो अवका मान्छेले बनाउँदैनन् । यो चित्र बनाउँन धेरै मेहनत गर्नुपर्छ । दिनभर वर्त बस्नुपर्छ । धेरै मान्छेले देख्छन्, हेर्छन् , अव त कहाँ बनाउँलान पहिलेको जस्तो तस्वीर अहिले त सजिलो तरिका बजार गयो पोष्टर किन्यो गयो, पुजा ग¥यो आनन्द कसले दुःख गर्छ भन्छन् आजभोलीका युवायुवतीले । त्यही भएर त पुराना पुराना अस्तनिर्मित अष्टिम्कीका चित्रसँगै थारुहरुको संस्कृतिहरु लोप भइरहेका छन् ।’
थारु संस्कृतिका जानकार थारु संस्कृति विद् अशोक थारुले भने थारु लोक संस्कृतिहरु आधुनिताका कारण लोप हुन थालेको बताए । मूर्त सँगसँगै अमूर्त परम्परा पनि लोप हुन थालेको उनको भनाई छ । नयाँ पुस्ताले आफ्ना संस्कृतिप्रति चासो नदिदा अष्टिम्कीको चित्र बनाउने परम्पराको मौलिकतामा प्रभाव पारिरहेरको छ । एउटै घरमा नभइ घरघरमा पोष्टरमा अष्टिम्की टिक्ने गर्नाले हाम्रो परम्परा लोप भइरहेको छ । पुस्तान्तण पनि हुन सकिरहेको छैन । यस कारण भोलीका पुस्ताले हाम्रो अष्टिम्कीको लोक दर्शन कस्तो थियो भन्ने पनि थाहा पाउँदैनन् । यस कारण यसको संरक्षण गर्न राज्यको विशेष भूमिका रहेको उनले बताए । सँगसँगै सबै सरोकारवाला निकाय, संघसंस्थाहरु र थारु गैरथारुहरु सबैले आआप्mनो स्थानबाट भुमिका खेल्न आवश्यक रहेको उनको भनाई छ ।।
अष्टिम्कीको चित्रहरुको चर्चा ः थारु बुद्धिजिवी छोटीलाल थारु
अष्टमीको दिन विहान उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ । अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक हुन्छ । सवैभन्दा माथि ४ वटा मान्छेको टाउको बनाइएको हुन्छ । जसलाई थारु भाषामा बरमुन्हा भन्छन् । बरमुन्हा रामायणको रावणको थारु नाम हो । भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ । फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रगीविरंगी बुट्टा भरिएको हुन्छ । एक लाइनमा द्रौपदी बनाइएको हुन्छ भने अर्को एक लाइनमा पाँच पाण्डवहरुको तस्वीर हुन्छ । पाण्डव थारु समुदायको सवैभन्दा ठूलो देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर हुनु पर्ने थारु बुद्धिजीवी छोटीलाल थारुले बताए । उनीहरुको तस्वीर कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको तस्वीर बनाइएको हुन्छ । एउटा डोलीको चित्र पनि हुन्छ । उक्त डोलीमा पहिले द्रौपदीलाई भित्र्याइएको भन्ने भनाई थारु बुद्धिजीविहरुको पाइन्छ । यस्तै हलोजुवा पनि बनाइएको हुन्छ ।
खेतीपाती गर्ने थारु समुदायलाई हलोजुवा आवश्यक पर्ने हुनाले हलो जुवाको तस्वीर बनाइएको को भन्ने परम्परागत मान्यता भएको पाइन्छ । नदी तर्नका लागि भनेर डुङ्गा, दिन र रात छुट्याउनका लागि सुर्य र चन्द्रमाको पुजाआजा गर्ने भएकाले सुर्य रचन्द्रमा, पाण्डवहरुको रक्षामा लागि दुई वटा कुकुरको तस्वीर हुने ऐतिहासिक मान्यता रहेको पाइन्छ । यो सँगसँगै भगवान कृष्ण, नदीको आकृति, रुख, मयूर, गाई लगायत विभिन्न किसिमका आकृति बनाइएको हुन्छ । पहिले थारु समुदायको घर नै छुट्टै पहिचान बोकेको थियो तर अहिले समय परिवर्तनका कारण घरको बनावटमा पनि परिवर्तन भइसकेकाले स्थान अनुसार कतै डिहरीमा त कतै भित्तामा जन्माष्टमीको तस्वीर बनाइन्छ ।