२०८३ कार्तिक ९ गते आइतवार

उच्च शिक्षा अध्ययनका लागि पुग्दैनन् अधिकांस दलित समुदायका नागरिक

तुलसीपुर, २५ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा उच्च शिक्षा अध्ययन गर्नेमा दलित समुदायको संख्या कम रहेको पाइएको छ । उपमहानगरपालिकाले २०८१ मा तयार पारेको दलित समुदायको पारिवारिक विवरणको तथ्याँकले यस्तो देखाएको हो । विद्यालय स्तरमा भर्ना हुने दर र कक्षा १० सम्म अध्ययन गर्नेहरुको संख्या उल्लेख्य रहे पनि उमेर र शिक्षाको स्तर बढ्दै जाँदा सो संख्यामा कमी आएको पाइएको छ । तथ्याँक अनुसार उपमहानगरमा ४ हजार ८२ दलित घरधुरीको संख्या छ । जसमा २ हजार ८ सय ९७ निरक्षर नागरिक रहेका छन् भने १४ हजार १ सय ८७ जना साक्षर नागरिक रहेका छन् । साक्षर मध्येमा ३ हजार २ सय १४ जना कक्षा १० सम्मको अध्ययन गरेका छन् । १ हजार ३ सय १ जना कक्षा १२ पास र कक्षा १२ देखि माथि २ सय ६९ जनाले मात्रै अध्ययन गरेका छन् । यस्तै उपमहानगरमा १ हजार ६ सय ५४ जना महिला र १ हजार २ सय ४३ जना पुरुष निरक्षर छन् । जसमा ६ हजार ८ सय २५ महिला र ७ हजार ३ सय ६२ जना साक्षर छन् । कक्षा १० पास गरेको महिला १ हजार ५ सय ७६ र पुरुष १ हजार ६ सय ३८ छन् । कक्षा १२ पास गरेका ७ सय ४ जना महिला र ५ सय ९७ जना पुरुष छन् भने कक्षा १२ भन्दा माथि पास गरेका १ सय ३२ जना महिला र १ सय ३७ जना पुरुष रहेका छन् ।

हरेक नागरिक, परिवार, समाज, देशलाई सामाजिक आर्थिक रुपले विकास गर्नका लागि सबै भन्दा महत्वपूर्ण कडीको रुपमा शिक्षालाई लिइरहँदा तुलसीपुर उपमहानगरपालिकामा यस्तो तथ्याँक देखिँनु चिन्ताजनक रहेको दलित अधिकार तथा संचार अभियान नेपालका अध्यक्ष तथा अधिकारकर्मी निर्मल नेपालीले बताउनु भयो । तर विगत एक दशकको अवस्थााई नियाल्ने हो भने सुधारको अवस्था मान्न सकिने उहाँको भनाइ छ । अहिले विज्ञान र प्रविधिले फड्को मारिरहँदाको दृष्टिकोणले हेर्दा सुधार गर्नुपर्ने देखिएको भन्दै शिक्षामा सुधार गर्नका निम्ति धेरै मेहनत गर्नुपर्ने उहाँको ठम्याइँ छ । बदलिदो परिवेशमा शिक्षामा सुधार गरी परिवेश अनुसारका दक्ष र शिक्षित नागरिक उत्पादनमा नागरिक, परिवार समाजदेखि राज्यपक्षले भूमिका खेल्न आवश्यक रहेको नेपालीले बताउनुभयो ।

उच्च शिक्षा तथा माथिल्लो तहको अध्ययन गर्ने संख्यामा कमी आउनुमा आर्थिक अवस्था कमजोर भएको दलित समुदायका नागरिकहरुले बताउँछन् । कक्षा १० सम्म सरकारले निशुल्क शिक्षा प्रदान गरिरहेकाले सजिलो भएको उनीहरुको भनाइ छ । तर कक्षा ११ देखि माथि पढ्नका लागि भर्ना शुल्क, मासिक शुल्क, पुस्तकको मुल्य महंगो हुँदा किन्न समस्या हुने गरेको छ । उच्च शिक्षा र माथिल्लो तहको पढाइ जेहेनदार र छात्रवृत्तिको पहँुचमा रहेका बालबालिकाहरुले मात्रै पढ्ने गरेको दलित अधिकार तथा संचार अभियान नेपालका अध्यक्ष निर्मल नेपालीले बताउनु भयो । तुलसीपुरको तथ्यांक केलाइरहँदा दलित समुदायमा शिक्षाको अवस्था दाङ लगायत देशभर नै उस्तै रहेको उहाँको भनाइ छ ।

दलित समुदायका लागि शिक्षाको हकमा विभिन्न कानुनहरु निर्माण भएका छन् ।नेपालको संविधान २०७२ को दलितको हक धारा ४० को उपधारा (२) मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ, भनिएको छ । यस्तै प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ, भनिएको छ । तर कानुनका कुराहरु व्यवहारमा कार्यान्वयन गर्दा प्रक्रिया केही झन्झटिलो भएकाले समस्या भैरहेको दलित समुदायका नागरिकहरु बताउँछन् ।।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।