२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा भुसको आगोझैँ फैलिदै लागू औषध दुर्व्यसनी 

तुलसीपुर, २७  माघ ।  समाजको भविष्य भनेको युवा शक्ति नै हो । जसको उत्साह, ऊर्जा र सम्भावनाले संसारलाई नयाँ दिशा दिन सक्छ । तर आज उसैको भविष्य गम्भीर सङ्कटको बाटोमा अघि बढिरहेको तुलसीपुर –७ निवासी सावित्रा कुमारी विश्वकर्माको भनाइले पुष्टि गर्दछ  । सावित्रा कुमारी भन्नुहुन्छ, – “मोटरसाइकलहरू एक ठाउँमा राख्छन्, जहाँ खाली घर छ त्यहाँ जम्मा भएर लागूऔषध खान लागेका हुन्छन्, यस्तो अवस्था एकदिन होइन दुर्ई दिन होइन दिनदिनै देखिन्छ । यसले गर्दा युवाहरूको भविष्य के हुन्छ होला भन्ने चिन्ता समुदायलाई बढिरहेको छ” यति मात्रै होइन यस्तो क्रियाकलापले समुदायलाई हेर्ने दृष्टिकोण समेत फरक हुने भएकाले यसको न्यूनिकरणका लागी सरकारले अलि ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

समाजमा भुसको आगो झै फैलिदै गइरहेको लागूऔषध दुर्व्यसनीलाई, रोक्नु त्यति सहज भने पक्कै छैन । यसका लागि प्रहरी र स्थानीय सरकारले थप निगरानी बढाउन आवश्यक ठान्नुहुन्छ तुलसीपुर–७ निवासी स्थानीय रोशन वली । लुम्बिनी प्रदेशमै तुलसीपुर लागू औषध कारोबारको अखडाको रुपमा रहेको र सुरक्षाका हिसावले पनि संवेदनशील मानिने भएकाले यसको न्यूनिकरणमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।  दुर्व्यसनको कुलतमा फसेकाहरुको उपचारका लागि तुलसीपुरमा अहिले तीन वटा सुधार गृह संचालनमा रहेका छन् । तुलसीपुरमा संचालित नयाँ जीवन पुर्नस्थापना केन्द्र, नागरिक पुनर्स्थापना केन्द्र र नयाँ पाइला पुनर्स्थापना केन्द्रमा हाल ८५ जना सेवन कर्ताको उपचार भइरहेको छ । सेवन कर्ताको भनाइ अनुसार बढ्दो सहरीकरण, बेरोजगारी, साथीभाइको संगत, रहर, तनाव लगायतका कारण व्यक्तिहरू लागू औषधको कुलतसम्म पुग्ने गर्दछन् । जसका कारण  गम्भिर खालका शारीरिक, मानसिक, पारिवारिक र सामाजिक असरहरु देखिन थाल्छन् । जसले गर्दा ती व्यक्तीलाई पारिवारिक विखण्डन देखि अपराध कर्मसम्म पुग्न मद्दत गर्दछ ।
नयाँ जीवन पुनर्स्थापना केन्द्रका संचालक खेमराज खड्काले जव व्यक्ति लागुऔषधको प्रयोग गर्न सुरु गर्छ, उसले सबै समय त्यसैमा खर्च गर्ने भएकाले राम्रो कामको उपलब्धि दिन पछिपर्दै जाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,– “लागु औषध प्रयोगकर्ताको लक्षणहरु फरक हुदै जान्छन्, हरेक कुराहरुमा झुट बोल्न थाल्छन्, परिवार समाजप्रतिको प्रेम र सद्भाव समेत हराउन थाल्छ र नसा खानकै लागि व्यक्ति जस्तोसुकै परिस्थिथिको सामना पनि गर्न तयार हुन्छ र अपराध कर्मसम्म पुग्न पनि पछि पर्दैन” ।

भुक्तभोगीका अनुसार कुलतमा फसीसकेपछि त्यसबाट उम्किन निकै ग्राहो हुन्छ । तर समयमा मार्गनिर्देश गर्ने बाटो पाए फेरि आफुलाई पुरानै अवस्था ल्याउन सकिने बताउनुहुन्छ पूर्व लागूऔषध सेवनकर्ता रमन के.सी.(नाम परिवर्तित) । उहाँले आफ्नो विगतलाई स्मरण गर्दै भन्नुहुन्छ,– “म शिक्षक हुँ, लागू औषध दुव्र्र्यसनी कार्य नराम्रो कार्य हो भन्ने थाहा हुदाहुँदै पनि म यसमा फसे, यसको मुख्य कारण हो, साथीभाईसँगको गलत सँगत । सुरुमा त रमाईलो हो भन्ने लाग्यो थोरै प्रयोग गर्न थाले तर विस्तारै लतको रुपमा वानी परि सके छ म आफैलाई थाहा भएन । झन्डै १५ वर्ष भए छ लागुऔष प्रयोग गर्न थालेको तर अहिले सुधारगृहमा आएपछि आफुले नयाँ जिवन पाएको महशुस भएको छ, अहिले केन्द्रमा स्वयंसेवकको रुपमा काम गरिरहेको छु”।

समाजमा लागूऔषध सेवनकर्तालाइ पुनरस्थापित हुन पनि अलि गाह्रो नै छ, राम्रो रुपमा हेरिदैन तर आफुलाई पूर्ण रुपमा पहिलाकै अवस्था ल्याएर सामाजमा उदाहरणीय कार्य गरे प्रेरणाको स्रोत बन्न सकिन्छ, मेरो पनि चाहना त्यही छ उहाँले भन्नुभयो ।
के छन् त कानुनी उपचार ? 
गाँजा, अफिम, खैरो हिराइन, चरेस, ब्राउन सुगर, विभिन्न औषधिजज्य ट्याब्लेटहरु लगाएतका पदार्थलार्ई लागुऔषको रुपमा लिईन्छ । कानुनतः निषेधित यस्ता लागुपदार्थ ओसार पसार तथा सेवन गर्न पाईदैन । लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार, लागु पदार्थ सेवन, उत्पादन तथा ओसारपसार गर्ने व्यक्तिलाई त्यसको प्रकृति हेरेर १ महिना देखि १५ वर्ष सम्म कैद र २ हजार देखि २० लाख रुपैयाँसम्म जरिवाना तथा जन्मकैद सम्मको कानुनी व्यवस्था छ । तर भएको कानुनु व्यवहारमा लागू नहुँदा लागूऔषध ओसार पसार र सेवन कर्ताको संख्यामा अपेक्षा अनुसार कमि आउन नसकेको अभियानकर्मी बताउन्छन् ।

प्रहरीको तथ्याङकले के देखाउँछ ? 
प्रहरीले भने पछिल्लो समय लागूऔषध ओसारपसार र दूव्र्यसनीको संख्यामा कमी आएको दाबी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्यांक अनुसार  आर्थिक वर्ष २०८०/२०८१ को मंसिर  महिनासम्म २६ जना लागु औषध सेवनकर्ता पक्राउ परेकोमा चालु आर्थिक वर्ष २०८१/२०८२ को  मंसिर महिनाको अन्तिमसम्म १८ जना मात्रै लागूऔषध सेवन कर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापालले पछिल्लो समय दूव्र्यसनकर्ताको संख्यामा कमी आउनुमा नियमित गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, सचेतनाका कार्यक्रम सञ्चालन र लागु औषधको मुख्य कारोवारी पक्राउ गर्न सफल भएकाले केहि कमी आएको बताउनुभयो । लागुऔषधकर्ताले गाँजा, अफिम, खैरो हिराइन, चरेस, विभिन्न औषधिजज्य ट्याब्लेटहरुको प्रयोग गर्ने गरेको प्रहरी प्रतिवेदनले देखाएको छ । यस्तै प्रहरीले लागू पदार्थ दुव्र्यसनीका दृष्टिकोणले तुलसीपुरका विभिन्न क्षेत्रलाई जोखिमको सूचिमा राखेर निगरानी बढाएको छ । तुलसीपुरको वसपार्र्क, वेलुवा, पर्सेनी, विजौरी लगाएत क्षेत्रबाट धेरै सेवनकर्ता पक्राउ पर्ने गरेकाले उक्त ठाउँहरुलाई जोखिम क्षेत्रको सूचिमा राखेर निगरानी गरिरहेको प्रहरीको भनाई छ ।

आफ्ना नागरिक प्रतिको जिम्मेवारी स्थानीय सरकारको पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । स्वस्थ नागरिक र सभ्य समाज निर्माणको बाधक मानिने लागू पदार्थ दुव्र्यसनीलाइ न्यनिकरण गर्न स्थानीय सरकारले के गर्दै छ ? भन्ने प्रश्नमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काले भन्नुभयो, – “सचेतनामुलक  कार्यक्रम गरिरहेका छौं, शाखामा वजेट नै छुट्याएर विद्यालय क्षेत्रमा कार्यक्रमहरु भईरहेका छन् भने लागूऔषध कारोवारीलार्ई न्युनिकरण र सेवनकर्तालाई दुरुत्साहन गर्न साझेदारी संघ संस्थाहरुसँग पनि कार्यक्रमहरु गरिरहेका छौं” । यस्तै नगरप्रमुख खड्काले लागूऔषध कारोवार तथा प्रयोगमा न्युनिकरण गर्न नागरिक स्तरबाट सहयोगको पनि आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय लागु पदार्थको सेवन र दूव्र्यसनी समाजको गम्भीर चुनौती बनेको छ । लागु औषध सेवन गर्नकै लागि सेवनकर्ताहरु चोरी,डकैटी,लुटपाटमा समेत संलग्न हुँदै आएका छन् । यिनै कारणले पछिल्लो समय तुलसीपुरका विभिन्न ठाउँहरु तथा विच वजारमा समेत दिनडाहाडै मानिसहरु माथि लुटपातका घटनाहरु हुने गरेका छन् । अवैध लागू पदार्थको सेवन, ओसारपसार, न्यूनिकरण र दुष्परिणामहरूबाट मुक्त हुन सरकार, नागरिक समाज, शैक्षिक संस्थाहरु लगाएत  परिवारको समेत महत्वपूर्ण भूमिका हुन आवश्यक छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।