रोग लाग्न नदिन सचेतना फैलाउन आवश्यक छ: अध्यक्ष विष्ट

भालुवाङ २१ माघ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विश्व उपेक्षीत, उष्णप्रदेशीय रोगहरू स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती बनेकाले सचेतना र रोकथामका उपायहरूलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आइतबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले प्रभावकारी स्वास्थ्य नीति, जनचेतनामूलक कार्यक्रम तथा समुदायको सक्रिय सहभागिता मार्फत मात्रै यस्ता रोगहरूको नियन्त्रण सम्भव हुने बताउनु भएको हो ।

उहाले स्थानीय तहले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै पूर्वतयारी तथा रोकथामका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डेंगु, कालाजार, रेविज, हात्तीपाइले रोग र सर्पदंशका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा साइनिम अस्पताल नेपालगन्जका मंगल थारू र स्वास्थ्य निर्देशनालयका कन्सलटेन्ट कम्युनेटी फिजिसियन डा. अच्युत शर्मा न्यौपानेले सहजीकरण गर्नु भएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा प्रवक्ता नोद नारायण चौधरी लगायतकाले उष्णप्रदेशीय रोगहरूको नियन्त्रण, रोकथाम तथा उपचारका विषयमा आवश्यक रणनीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न स्वास्थ्य विज्ञ, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन फोकल पर्सन परशुराम पोख्रेलले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया