दाङका १८ हजार बालबालिका जन्मदर्ताबाट वञ्चित

तुलसीपुर, १० माघ । दाङको तुलसीपुर उपमहानगरपालिका १४ की ६ वर्षिय निशा चौधरी जन्मदर्ता बाट वञ्चित छिन् । बुवा पहिचान नभएकी बालिका राज्यको नितिगत समस्याका कारण उनी जन्मदर्ताबाट वञ्चित भएको ती बालिकाको आफन्तले बताउँछन् । बुवाआमा पहिचान नभएका तथा बुवाआमाको जन्मदर्ता, विवाहदर्ता र नागरिकता नहँुदा छोराछोरी पनि नैसर्गिक अधिकारबाट वञ्चित भैरहेका छन् । अभिभावकलाई नितिगत कुराहरु जानकारी नहुँदा छोरीछोरीलाई समेत समस्या भोग्नु पर्ने बाध्यता रहेको छ । निशा त एक उदाहरणीय पात्र मात्रै हुन् । उनीजस्ता दाङमा १८ हजार बढी बालबालिकाको जन्मदर्ता छैन ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा १८ हजार एक सय ३६ जना बालबालिकाको जन्मदर्ता नभएको पाइएको हो । दश स्थानिय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको छ । घोराहीमा छ हजार चार सय २७ जना बालबालिकाको जन्मदर्ता हुन बाँकी रहेको छ

। तुलसीपुर उपमहानगरपालिकामा तीन हजार नौ सय १५ जना, लमही नगरपालिकामा एक हजार छ सय २८, बंगलाचुली गाउँपालिकामा नौ सय ४० जना बालबालिकाको जन्मदर्ता नभएको पाइएको हो । त्यसैगरी दंगीशरण गाउँपालिकामा छ सय ४१, शान्तिनगर गाउँपालिकामा छ सय ५५, बबई गाउँपालिकामा आठ सय ३३, राप्ती गाउँपालिकामा एक हजार दुई सय सात, गढवा गाउँपालिकामा नौ सय ४८ र राजपुर गाउँपालिकामा नौ सय ३५ जना बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको हो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा प्रत्येक बालबालिकालाई नामाकरण र जन्मदर्ताको हक हुनेछ भनेर उल्लेख गरिएको छ भने नेपाल सरकारले जन्मदर्तालाई बालबालिकाको नैसर्गिक अधिकारभित्र राखेको छ । बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने प्रावधान छ तर कतिपय नागरिकहरु भने जन्मदर्ता बनाउन ढिलाई गर्ने तथा बनाउन चासो नदेखाउने गरेको पाइन्छ ।

यस्तै कतिपय आमाबुवाको कारण नितिगत समस्याले पनि बालबालिकाको जन्मदर्ता नभएको देखिन्छ । जन्मदर्ता नभएमा भने बालबालिकाहरू राज्यबाट पाउने विभिन्न किसिमका सेवा सुविधाबाट बञ्चित हुने गरेका छन् । उनीहरु शिक्षा, स्वास्थ्य, पोषणकालगायतका राज्यका आधारभूत सुविधाबाट बञ्चित भइरहेका छन् । त्यसैले यसतर्फ अभिभावकहरु सचेत भएर समयमा नै जन्मदर्ता गराउन आवश्यक रहेको सरोकारवालाहरुले बताउँछन् । यसैविच देशभर ७ लाख ८० हजारभन्दा बढी बालबालिकाको जन्म दर्ता नरहेको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याँकले देखाएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया