तुलसीपुर, २० पुष । हिन्दु धर्मको उत्थानमा हाम्रो भुमिका तथा धर्म रक्षा निधि समर्पण कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विश्व हिन्दु परिषद् नेपाल राष्ट्रिय महिला विभागका प्रमुख कृष्णा देवी पाण्डेले संस्कारलाई बचाउनसके मात्रै धर्म बच्ने भन्दै संस्कार बचाउन आवश्यक रहेको बताउनुभयो । नेपालमा हिन्दु धर्म मान्ने नागरिकलाई अनेक प्रलोभन देखाई हिन्दु धर्म त्याग्न लगाइरहेको र अन्य धर्ममा प्रवेश गर्ने लहर चलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । धर्म परिवर्तन गर्न लगाउनेलाई सरकारले नै कानुनी दायरामा ल्याउन सके धर्मको रक्षा गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहामनगरपालिका ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले हिन्दु धर्म भित्र पनि राम्रा र नराम्रा दुवै संस्कारहरु हुनसक्ने भन्दै राम्रोलाई अंगाल्ने र नराम्रा संस्कारहरुलाई त्याग्दै जानसके अझै राम्रो हुने बताउनु भयो । सति प्रथालाई त्यागे जसरी जातिय छुवाछुत, महिलाहरुको प्राकृतिक प्रक्रिया महिनावारी भएको अवस्थामा गरिने केही नराम्रा संस्कारलाई पनि त्याग्नु पर्ने कुरामा बहस तथा छलफल गरेर त्याग्न बनेमा त्यागेपछि राम्रो हुने उहाँको भनाइ थियो । विश्व हिन्दु परिषद् नेपाल समिति दाङका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर २ का वडा अध्यक्ष भीम बहादुर योगी, जेष्ठ नागरिक ललित वहादुर वली, पतन्जली योग साधना केन्द्र लक्ष्मीनारायण तुलसीपुरका प्रमुख राधा पोख्रेल, नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डीका प्राचार्य उदिराज सुवेदीले हिन्दु धर्म बचाउनुपर्ने बताएका थिए । हरेक अभिभावकले आफ्ना सन्तानलाई संस्कार सहितको शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय सरकारले समेत नैतिक शिक्षालाई पाठ्यक्रमबाट हटाएपछि झनै संस्कार सहितको नैतिक शिक्षा प्रदान गर्न समस्या भैरहेका उनीहरुले बताएका हुन् । त्यसैले जसरी पहिले पाठ्यक्रममा नैतिक शिक्षालाई अनिवार्य गरेको थियो त्यसरी नै पुनः नैतिक शिक्षालाई अनिवार्य गर्नसके मात्रै संस्कार सहितको शिक्षा बालबालिकालाई विद्यालय तहबाट सिकाउन सकिनेमा जोड दिएका छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।