२०८३ कार्तिक ११ गते मङ्गलवार

पानीको अभाव हुन नदिन रिचार्ज पोखरी निर्माण

रुकुम, १८ पुष । सुक्खायाममा जङ्गली जनावर र चराचुरुङ्गीलाई पानीको अभाव हुन नदिन रुकुम पश्चिमका तीन वटा ठाउँमा रिचार्ज पोखरी निर्माण भएका छन् । सानीभेरी गाउँपालिका–४ को टुरा, त्रिवेणी गाउँपालिकाको–९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण भएको हो ।नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रममार्फत विपद् जोखिम न्यूनीकरणका लागि आपत्कालीन पूर्वतयारी क्षेत्रअन्तर्गत रिचार्ज पोखरी निर्माण गरेको हो । पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनीकरण गर्न र जङ्गली जनावर तथा चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न रिचार्ज पोखरी निर्माण गरिएको रेडक्रसले जनाएको छ ।जलस्रोतको पुनर्भरण गर्न तीन वटा रिचार्ज पोखरी बनाइएको हो । रिचार्ज पोखरी पानीका मुहानभन्दा माथिल्लो भागमा निर्माण गरिएको छ । पोखरीमा बाह्रै महिना पानी जम्मा गरेर तल्लो क्षेत्रमा रहेका पानीका मुहान सुक्खा हुन नदिन पनि यो उपाय अपनाइएको हो । पोखरीमा आकाशेपानी सङ्कलन गरिनुका साथै उपलब्ध भएका बेलाको पानी जम्मा हुनेछ ।पानीका स्रोतमा चिस्यान बनाइराख्न र जनावर तथा चराचुरुङ्गीहरूका लागि पानी व्यवस्था गर्न रिचार्ज पोखरी प्रभावकारी हुने स्थानीयवासीको विश्वास छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।